Monday, October 25, 2010

राष्ट्रपतिका छोराविरुद्ध विमानस्थलमा नाराबाजी-'पुराना पारस गए, नयाँ पारस आए’

नयाँ पत्रिका By उमेश चौहान

कारभित्रबाट प्रहरीलाई थर्काउने राष्ट्रपतिका छोरा डा. चन्द्रमोहन यादव हुन् भन्ने चर्चा चलेपछि अब के गर्ने भनेर प्रहरी झन् अलमल्ल पर्‍यो, तर सर्वसाधारण भने नारा लगाउन थाले, 'नया पारस मुर्दावाद ।'

सर्वसाधारणले गाडी अगाडि बढाउन दिएनन्, बरु धकेलेर २५ मिटर पछाडि पुर्‍याइदिए । गाडी धकेल्दा कथित भिआइपीहरू आरामसँग बस्थे, प्रहरी नजिक गयो कि अंग्रेजीमा थर्काइहाल्थे ।

काठमाडौं, ७ कात्तिक

राष्ट्रपति डा. रामवरण यादवका छोराले दादागिरी देखाएपछि सर्वसाधारणले आइतबार अन्तर्राष्ट्रिय विमानस्थलमा नाराबाजी गरेका छन् । पुराना पारस गए, नयाँ पारस आए भन्दै सर्वसाधारणले राष्ट्रपतिका छोरा चन्द्रमोहन यादवको गाडी धकेलिदिएपछि विमानस्थलमा केहीबेर तनाब पनि भयो ।

आइतबार बिहान १ बजे थाई एयरबाट एकजना मन्त्री र दुईजना सरकारी उच्च अधिकारी विदेश जाने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मी व्यस्त थिए । यहीबीच भिआइपी क्षेत्र अगाडि पिक एन्ड ड्रप जोन (चढ्ने र ओर्लने क्षेत्र) मा निजी नम्बर प्लेटको स्यान्ट्रो कार पार्किङ गरिएको भेटिएपछि प्रहरी सोधखोजमा लाग्यो ।

गृहमन्त्री भीम रावल, रक्षा सचिव नवीन घिमिरे र नेपाली सेनाका उपरथी अनीलजंग पाण्डे थाई एयरको विमान चढ्न विमानस्थल आउने वेलासम्म पनि भिआइपी कक्ष अगाडिको क्षेत्र 'क्लियर' नभएपछि प्रहरी तनाबमा आएको थियो । बेवारिसेजस्तै छाडिएको गाडीमा विस्फोटक पनि हुन सक्ने चर्चा चलेपछि सर्वसाधारणको भीड पनि जम्मा भयो । तर, मन्त्री र उच्च अधिकारीका लागि बाटो प्रशस्त गर्न ट्राफिक प्रहरीले गाडी ठेलेर केही पर लगेको थियो ।

करिब ४५ मिनेटपछि १२ बजेतिर चालकसहित तीनजना बा७च ४२५६ नम्बरको सो कारमा फर्किए । उनीहरू कारमा चढ्नासाथ ट्राफिक असई धर्मराज घिमिरेले भिआइपी जोनमा कार किन पार्क गरेको भनेर लाइसेन्स मागे । तर, असई घिमिरेलाई कारको पछाडि बसेका यात्रुले अंग्रेजीमा थर्काउन थाले ।

'हु आर यु टु आस्क अस फर लाइसेन्स, वी आर भिआइपिज्, जस्ट गेट लस्ट फ्रम हेयर' (हाम्रो लाइसेन्स माग्ने तिमी को हौ ? हामी भिआइपी हौँ, तिमी यहाँबाट भाग) । कारभित्रबाट अंग्रेजीमा थर्काउन थालेपछि घिमिरे र अरू प्रहरी अलमल्ल परे । तर, स्यान्ट्रो कार चढेर विमानस्थल गएका भिआइपीसँग न सरकारी गाडी थियो, न कुनै सुरक्षाकर्मी ।

त्यहीबीचमा कारभित्रबाट प्रहरीलाई थर्काउने राष्ट्रपतिका छोरा डा. चन्द्रमोहन यादव हुन् भन्ने चर्चा चलेपछि अब के गर्ने भनेर प्रहरी झन् अलमल्ल पर्‍यो । तर, सर्वसाधारण भने नारा लगाउन थाले, 'नयाँ पारस मुर्दावाद ।' सर्वसाधारणले गाडी अगाडि बढाउन दिएनन्, बरु धकेलेर २५ मिटर पछाडि पुर्‍याइदिए । गाडी धकेल्दा कथित भिआइपीहरू आरामसँग बस्थे, प्रहरी नजिक गयो कि अंग्रेजीमा थर्काइहाल्थे ।

अंग्रेजी सुनेर अलमल्ल परेका प्रहरीले डिएसपी रामचन्द्र राईलाई बोलाए । तर, कारभित्र बसेका 'भिआइपी'हरू बाहिर आउन पनि मानेनन्, लाइसेन्स दिन पनि मानेनन् । एकातिर सर्वसाधारण पुराना पारस गए, नयाँ पारस आए भन्दै आक्रोशित थिए, अर्कोतिर चालक लाइसेन्स नदिई गाडी अगाडि बढाउने कोसिसमा थिए । तर, चालकले गाडी अगाडि बढाउन पटक-पटक कोसिस गरे पनि सर्वसाधारणले बाटो रोकिरहे ।

यहीबीच डिएसपी राईले फेरि गाडीको झ्यालमा गएर अनुरोध गरे, 'राष्ट्रपतिको आफन्त हो भने तपाइंहरूको पनि सुरक्षा गर्नु हाम्रो कर्तव्य हो । तर, सर्वसाधारण आक्रोशित छन्, तपाईंले लाइसेन्स नदिएसम्म भीडले अघि बढ्न दिन्न । अपि्रय अवस्था आउनुअघि नै तपाइंहरूले लाइसेन्स दिएर सहयोग गर्नुपर्‍यो ।'

डिएसपीको अनुरोधपछि चालकले लाइसेन्स दिए, सर्वसाधारणले पनि गाडी अघि बढाउन बाटो छाडिदिए । गाडि अघि बढ्यो, तर भित्रबाट अंग्रेजीमा आवाज आइरहेको थियो, 'ह्वाट अ अनसिभिलाइज्ड सोसाइटी, नो रेस्पेक्ट फर इभन द भिआइपिज्' (कस्तो असभ्य समाज, भिआइपीको पनि इज्जत छैन यहाँ) ।

सर्वसाधारणको दबाबमा प्रहरीले सपही, धनुषा निवासी सुशीलकुमार यादवको नाममा रहेको ०६२३८३६५ नम्बरको लाइसेन्स जफत गरेको थियो । तर, माथिको दबाबमा केहीबेरपछि नै फिर्ता दिएको स्रोतले जनाएको छ । तर, लाइसेन्स जफत गर्ने प्रहरी टोलीको नेतृत्व गर्ने डिएसपी राईले भने आफूलाई यसबारे जानकारी नभएको बताए । 'लाइसेन्स ट्राफिकले लगेको हो, पछि फिर्ता गर्‍यो कि गरेन, थाहा भएन,' उनले भने ।

सरकारी गाडी र सुरक्षाकर्मीविना निजी कारमा डुलिरहेका 'भिआइपी' राष्ट्रपतिकी बुहारी रश्मी यादवलाई बिदा गर्न विमानस्थल गएका थिए । स्रोतका अनुसार रश्मी सिल्क एयरको १ः०५ को उडानबाट सिंगापुर हुदै अस्ट्रेलियातर्फ उडेकी छिन् ।


No comments:

Post a Comment