Tuesday, October 26, 2010

सीधै सिंहदरबार गएर राजदूतले सचिव थर्काए

नयाँ पत्रिका By सागर पण्डित

आफूमाथि जुत्ता हान्नेलाई कारबाही नगरेको भन्दै भारतीय राजदूत राकेश सुदले गृहसचिव डा. गोविन्द कुसुमसँग आक्रोश व्यक्त गरेको केही मिनेटमै गृह मन्त्रालयको विज्ञप्ति आयो, 'यसअघि पनि नेपाल सरकारले दुःख व्यक्त गरेको विदितै छ, घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न र घटनामा संलग्न व्यक्तिबारे सूक्ष्म अध्ययन गर्न सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।'

काठमाडौं, ८ कात्तिक भारतीय राजदूत राकेश सुदले सीधै गृहसचिव डा. गोविन्द कुसुमलाई भेटी सोलुखुम्बुमा आफूमाथि जुत्ता हान्नेलाई कारबाही नभएकोभन्दै आक्रोश व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई सोमबार सीधै सिंहदरबार पुगेका सुदले जुत्ता हान्नेलाई कारबाही नगरेर नेपाल सरकारले कमजोरी गरेको पनि बताएका छन् ।

२० असोजमा सोलुखुम्बुमा माओवादी कार्यकर्ताले राजदूत सुदमाथि जुत्ता हानेपछि २३ असोजमा गृह मन्त्रालयले विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको थियो । तर, १५ दिनपछि सुद सिंहदरबार पुगेर गृहसचिवसँग गोप्य भेट गरेपछि सोमबार गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरेको छ, जसमा भनिएको छ, 'घटनाको यथार्थ छानबिन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न र घटनामा संलग्न व्यक्तिबारे सूक्ष्म अध्ययन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।'

जुत्ता प्रकरणबारे भारत सरकारले यसअघि कूटनीतिक रूपमै आपत्ति प्रकट गरिसकेको छ । नयाँदिल्लीस्थित नेपाली राजदूत रुक्मशमशेर राणालाई विदेश मन्त्रालय (साउथ ब्लक) मा बोलाएर भारत सरकारले स्पष्टीकरण लिएको थियो । भारतीय विदेश सचिव निरुपमा राव र नेपाल डेस्क हेर्ने सहसचिव सतीश मेहताले अन्तर्राष्ट्रिय 'भियना कन्भेन्सन अन डिप्लोम्याटिक पि्रभिलेजेज एन्ड इम्युनिटिज' विपरीत राजदूतमाथि आक्रमण भएको भन्दै नेपाली राजदूत राणासँग खेद व्यक्त गरेका थिए ।

उनीहरूले राजदूतमाथिको प्रहार कूटनीतिक मर्यादाविपरीत भएको भन्दै त्यस्ता गतिविधिले भारत र नेपालबीचको सम्बन्धमा गम्भीर समस्या उत्पन्न हुन सक्ने भन्दै सचेत पारेका थिए ।


तर, भारतले कूटनीतिक रूपमै कारबाहीको माग गरेपछि भारतीय राजदूत र नेपालका गृहसचिवले कूटनीतिक प्रचलनविपरीत गोप्य भेटघाट गरेका छन् । उनीहरूबीच सिंहदरबारमा सोमबार अपरान्ह साढे दुईदेखि चार बजेसम्म छलफल भएको थियो । गृहप्रवक्ता जयमुकुन्द खनालले सचिव कुसुम र सुदबीच मन्त्रालयमा गोप्य भेटघाट भएको पुष्टि गरे । तर, विषय खुलाउन चाहेनन् । 'उहाँहरू दुईजनाबीच मात्रै भेट भएको हो, तर के कुरा भयो थाहा भएन,' प्रवक्ता खनालले नयाँ पत्रिकासँग भने ।

तर, भेटलगत्तै प्रवक्ता खनालले गृह मन्त्रालयका तर्फबाट विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा भारतीय राजदूतमाथि भएको अमर्यादित र अभद्र व्यवहारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको र २३ असोजमा पनि विज्ञप्ति जारी गरेको समेत स्मरण गराएका छन् । राजदूत सुदकै दबाबमा एउटै घटनामा गृह मन्त्रालयले दोस्रो विज्ञप्ति जारी गरेको स्रोतको भनाइ छ ।

सुदकै दबाबमा गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ? भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता खनालले त्यस्तो कुनै दबाब नआएको दाबी गरे । सुदको भेटलगत्तै प्रकाशित गरिएको विज्ञप्तिलाई उनले संयोग मात्रै भने । 'यो संयोग मात्रै हो राजदूतमाथि भएको सो घटनाबारे हामी आफैँ गम्भीर छौँ,' खनालले भने ।

स्रोतका अनुसार सुद सिंहदरबारबाट बाहिरिएलगत्तै गृहसचिवले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्टलाई कार्यालयमै बोलाएर भेटेका थिए । त्यस्तै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीलाई एक साताभित्रै प्रतिवेदन पेस गर्न भनिएको छ । 'सिडिओबाट एक साताभित्रै रिपोर्ट मागिएको छ, त्यसपछि मात्र आवश्यक कारबाही अघि बढ्छ,' प्रवक्ता खनालले भने ।

उता गृहसचिव र भारतीय राजदूतबीचको भेटघाटबारे परराष्ट्र मन्त्रालयलाई जानकारी छैन। 'उहाँहरूबीच त्यस्तो भेटघाट भएको जानकारी छैन,' परराष्ट्रका एक अधिकारीले भने। नियमअनुसार राजदूतले सरकारी उच्च अधिकारीलाई भेट्नुअघि परराष्ट्रबाट लिखित रूपमै सहमति लिनुपर्छ।

सुद चीनको सीमावर्ती खुम्जुङमा भारतीय सहयोगमा निर्मित खानेपानी योजनाको उद्घाटन गर्न सोलुखुम्बु जाँदा माओवादी कार्यकर्ताबाट जुत्ता प्रहार भएको थियो । चीनको सीमाक्षेत्रसम्म पुगेर विकासका नाममा प्रभुत्व बढाउन खोजेको आरोप लगाउँदै माओवादी नेता गोपाल किराँतीको नेतृत्वमा सुदविरुद्ध प्रदर्शनसमेत भएको थियो।

यताका भने चुप

नेपालमा भारतीय राजदूतको अपमान भएको विषयमा भारतले कूटनीतिक माध्यममार्फत र सोझै पनि नेपाल सरकारलाई दबाब दिएर १५ दिनमा दुईपटक विज्ञप्ति निकाल्न लगाएको छ । तर, भारतीय दूतावासका अधिकारीले कूटनीतिक मार्यादा नाघेर सभासदलाई ज्यान मार्ने धम्की दिँदा र स्वतन्त्र मिडियामाथि हस्तक्षेपकारी दबाब दिएको विषयमा भने नेपाल सरकारले मौन सहमति दिइरहेको छ । यो विषयमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले दुईपटक दिएको निर्देशनलाई सरकारले बेवास्ता गरेको छ।

नेपालस्थित भारतीय राजदूतावासका काउन्सिलर सुव्रत दासले प्रधानमन्त्री चुनावको विषयमा माओवादीका तत्कालीन सभासद रामकुमार शर्मालाई ज्यान मार्ने धम्की दिएपछि संसदीय समितिले उनीमाथि तत्काल कारबाही गर्न २५ साउनमा सरकारलाई निर्देशन दिएको थियो । समितिले दासलाई 'प्रसोना नन ग्राटा' अर्थात् अवाञ्छित व्यक्ति घोषणा गरी देशनिकाला गर्ने प्रक्रिया अघि बढाउन भनेको थियो । तर, दासलाई देशनिकाला होइन, स्पष्टीकरणसमेत सोधिएको छैन।

त्यस्तै रियल जुसका किरा, लेउ र लेदो भेटिएको विषयमा समाचार छाप्ने सञ्चारमाध्यमलाई धम्क्याउने भारतीय दूतावाससँग पनि स्पष्टीकरण सोधी माफी माग्न लगाउन पनि समितिले सरकारलाई निर्देशन दिएको थियो । परराष्ट्रमन्त्री सुजाता कोइरालाले यो विषयमा भारतीय राजदूत सुदसँग कुरा गर्ने बताएकी थिइन्। तर, यो विषयमा पनि सरकार मौन छ।


No comments:

Post a Comment