Monday, October 25, 2010

एमाले नेता ओलीलाई फ्रान्समा कालो झण्डाले स्वागत

नेपालप्लस By -राजन भट्टराई / फ्रान्स

मुलुकभित्रै आलोचित र तिब्र जनआक्रोस खेप्दै आएका नेकपा एमालेका नेता केपी ओलीले फ्रान्समा समेत बिरोधको सामना गर्नुपर्यो । त्यो पनि एक पल्ट होइन दुइ दुइ पटक । एक त देशको राजनीति लथालिङ्ग बनाउनमा उनको भूमिका जिम्मेवार रहेको आरोप देश भित्र र बाहिर लाग्दै आएको छ । अर्कोतिर देश अप्ठेरोमा परेको समयमा सरकारको नेत्रित्व गरिरहेको पार्टीका जिम्मेवार नेता मानिएका ओली भने श्रीमतीलाई साथमा लिएर अमेरिका र यूरोप भ्रमणमा हिँडेका छन् ।

देशमा संबिधान नबनेसम्म कुनैपनि सभासद, मन्त्री र प्रमुख दलका नेतालाई बिदेश भ्रमणमा आ उँदा बिरोध गर्ने निर्णय यस अघिनै गरिसकेका नेपालीहरुले एमाले नेता के पी ओलीलाई कालो झण्डाको रुपमा पाखुरा र निधारमा कालो पट्टी बाँधेर पेरिसस्थित नागरिक समाजका प्रतिनिधीहरुले हिजो बिरोध गरे ।

त्यसो त, केहिले ओलीको भ्रमणलाई शंकास्पद रुपमा पनि लिएका छन् । देश गम्भीर सङ्कटमा फसिरहेको बखत निस्फिक्री रुपमा गोप्यरुपले भ्रमण गर्दै हिँड्नुले जनमानसमा आशंका थपिएको हुन सक्छ । धेरै समय बेल्जिममा गुपचुप रहेर बसेका ओलीले हतियारको लागि लविंग गरेको हुनसक्ने अनुमानपनि गरिन्छ । माधब नेपाललाई प्रधानमन्त्री बनाउन मुख्य हात आफैको रहेको भनेर आफैले स्वीकार्दै आएका ओली देशको राजनीति अस्त- ब्यस्त भएको बेला एउटा जिम्मेवार पार्टीको प्रभावशाली नेता लामो विदेश भ्रमण गर्दै हिड्नुलाई यहाँका नेपालीहरुले नाजायज रुपमा लिएका छन् ।

[youtube=http://www.youtube.com/watch?v=CGI-AQx7y_Q&feature=player_embedded]

यहि अक्टोबर ४ मा फ्रान्स स्थित राजदुत निवासमा आएका ओलीलाई फ्रान्समा रहेका नेपालीहरुले बिरोध पत्र बुझाउने प्रयत्न गरेका थिए । तर त्यतिबेला सम्भव नभएपछि पुन अक्टोबर २३ मा फ्रान्स स्थित नेपाली नागरिक समाजले कालो झन्डा सहित बिरोध पत्र बुझाए । सो क्रममा नागरिक समाजका प्रतिनिधिहरुलाई असभ्य नेपालीहरु भन्दै ओली झोक्किएका थिए । आफू जिउ ज्यान हत्केलामा राखेर संबिधान बनाउन लागिपरेको र यो कुरा यहाँ बस्नेलाई थाहा हुँदैन भन्दै ओली बम्किएपछि नागरिक समाजका प्रतिनिधि र ओली बीच रस्साकस्सी भएको थियो । |नेता ओलीले फ्रान्समा रहेका नेपालीहरुलाई आफु दुइ चार दिनको लागि मात्र आएको भनेर झुटो बोलेपनि करिब तिन हप्तादेखि उनी युरोपमा देखापरेका छन् ।

उनको भ्रमणको बिरोधपत्र पढेर सुनाउँदा रिसले आगो बनेका ओली र बिरोधपत्र सुनिरहेका फ्रान्सकालागि नेपालका राजदूत मोहनक्रिष्ण श्रेष्ठ । तस्विर-राजन भट्टराई
ओलीको भ्रमणको बिरोध पत्र बुझाउन पुगेका नागरिक समाजका प्रतिनिधीहरु
फ्रान्समा रहेका नेपालीहरुले यस अघिनै नेपालबाट आउने जुनसुकै पार्टीका नेता, सभासद तथा प्रधानमन्त्री र मन्त्रिहरुलाई संबिधान नबनेसम्म बहिस्कार गर्ने निर्णय गरेका थिए । सोहि निर्णय बमोजिम एमाले नेता के पी ओली लाईपनि देशमा संबिधान बनाउन खट्नुपर्ने बेला बिदेश यात्रामा रमाएको भन्दै बहिस्कार गरेका हुन् । यहाँको नागरिक समाजले नेपालमा संबिधान नबनेसम्म बिदेश भ्रमणमा आउने कुनैपनि सभासद, मन्त्री, प्रधानमन्त्री र प्रमुख दलका नेताहरुको भ्रमणलाई त्यसैगरि बिरोध गर्ने प्रतिबद्यता ब्यक्त गरेका छन् । यसलाई अन्य देशमापनि अभियानका रुपमा अगाडि बढाउन नेपालीहरुलाई आग्रह गरिने उनीहरुले बताएका छन् ।

नेता ओली र फ्रान्सका नागरिक समाजका प्रतिनिधि बीच फ्रान्सस्थित राजदुत निवासमा बादबिबाद भइरहँदा राजदुत मोहोन कृष्ण श्रेष्ठ र राजदुत पत्नी सजना श्रेष्ठ भने चुपचाप हेरिरहेका थिए । कहिले आक्रोशित त कहिले निन्याउरो मुद्रामा रहेका नेता ओली नागरिक प्रतिनिधिका कुरा सुन्न भन्दापनि चर्को स्वर गर्दै बिरोध पत्र बुझाउन आएकामाथि खनिएका थिए ।

विवादका क्रममा स्वदेशमा राम्रा काम ओलीले स्वदेशमा राम्रो काम गर्ने नेता र पार्टीपनि रहेकोले तिनको प्रशंसा गर्नुपर्ने र नराम्रो गर्नेको विरोध गर्नुपर्ने बताएका थिए । तर देशमा हाल एउटै पनि गतिलो पार्टी नदेखिएको भन्दै कवीन्द्र कायस्थले त्यसको प्रतिवाद गरेका थिए ।

ओलीको भ्रमणको बिरोध गर्न टाउकोमा कालो पट्टी बाँधेका नागरिक समाजका एक सदस्य र ब्यापारी बिनोद ओझा । तस्विर-कविन्द्र कायस्थ
ओलीको भ्रमण बारे बिरोध जनाउन अघि सर्दै गरेका युवाहरु । त्यतिबेला ओली अर्को छेउका नेपालीसित पड्किँदै थिए । तस्विर-कविन्द्र कायस्थ
जनताका अगाडि दुई वर्षमा संबिधान बनाउँछौं भनेर संसद मा गएका सभासद र नेताहरुले आफुले गरेको बाचा अनुसार संबिधान बनाउन नसक्दापनि तलब र भत्ता भने कुम्ल्याउन नछोडेको भन्दै बिनोद ओझाले गुनासो गरेकाथिए । ‘देशमा संबिधान छैन । संकटको स्थिति छ । जनताले संबिधान बनाउन नेताहरुलाई जोड दिएकाछन् । तैपनि यस्तो बेला देशमा बसेर संबिधान बनाउनका नलागि हाम्रो जस्तो विश्वकै गरिब मुलुकका जनताको रगत र पसिनाले तिरेको कर उठाएर बिदेश भ्रमणमा हिँड्न हुँदैन’ भन्ने जवाफ ओझाले दिँदा ओली ‘खोइ सभासदले लिए होलान मैले त लिएको छैन’ भन्दै टक्टकिएका थिए ।

भारतको निर्वासनमा वर्षौं बसेर संगठन बिस्तार र नेपालीहरुलाई संगठित गर्ने गर्ने गरेका पुष्पलालले गठन गरेको पार्टीका नेता ओलीले भने बिदेशमा रहेका नेपालीहरुलाई नेपालको राजनीति बारे केहि जानकारी हुँदैन भन्दै जंगिएका थिए । ‘हामी नेपालमा बसेर संबिधान बनाउन र शान्तिका लागि कतिलडेका छौं, ज्यान फालेका छौं। त्यो तपाईहरुलाई के थाह ? यहाँ बसेर के थाह हुन्छ तपाईहरुलाई नेपालको राजनीति ?’ यसो भन्दै उनी नेपालीहरुसित तातेका थिए । ओलीको त्यस्तो जवाफ सुन्नासाथ रेभा उपाध्यायले प्रजातन्त्र र शान्तिका लागि ज्यान त अरु सर्वसाधारण नेपालीहरुले दिए होलान्, तपाईले के दिनु ?’ भन्दै प्रतिवाद गरेकि थिईन् ।

विवाद बढ्न थालेपछि दुताबासले प्रदान गरेको चिया र नास्ता समेत केपी ओलीसंग बसेर नखाने भन्दै बिरोधपत्र बुझाउन गएका नेपालीहरु फर्किएका थिए । उक्त बहिस्कार कार्यक्रममा नेपाली ग्रिहका अध्यक्ष हेमन्त उपाध्याय, एन आर एन फ्रान्सका महासचिव हरी सापकोटा, नेपाली एकता समाजका महासचिब प्रोमोद पाण्डे, फ्रान्सका व्यापारे बिनोद ओझा, कविन्द्र कायस्थ, रेभा उपाध्याय, अनुराधा पौडेललगायतको उपस्थिती थियो ।

No comments:

Post a Comment