Saturday, October 30, 2010

वर्ल्ड एक्स्पोमा कीर्तिमानै किर्तिमान/नेपाली मण्डप ७५ लाखद्वारा अवलोकन

रासस साङ्घाई (चीन), कार्तिक १३ - नेपालसहित विश्वका एक सय ९० मुलुक तथा ५७ अन्तरराष्ट्रिय सङ्घसंस्थाको सहभागिता रहेको साङ्घाई वल्र्ड एक्स्पो २०१०

सकिन एक दिन बाँकी हुँदासम्म केही नयाँ विश्व कीर्तिमान कायम भएका छन् ।

‘सन् १८५१ मा लण्डनमा आयोजित पहिलो एक्स्पोपछिको डेढसय वर्षको इतिहासमा यो सबैभन्दा ठूलो सहभागिता हो,’ नेपाल मण्डपका निर्देशक विनायक शाह दाबी गर्छन् ।

साङ्घाई एक्स्पो अवलोकन गर्नेको सङ्ख्याले पनि नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबारसम्ममा सात करोड २६ लाखभन्दा बढीले त्यसको अवलोकन गरिसकेका छन् ।

सन् १९७० मा आयोजित ओसाका एक्स्पोमा छ करोड ४० लाखले अवलोकन गरेका थिए । साङ्घाई एक्स्पो सञ्चालन भइरहेको पाँच दशमलब २८ वर्गकिलोमीटर क्षेत्र पनि हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको एक्स्पो स्थल हो ।

त्यस्तै अक्टोबर १६ तारिखका दिन १० लाख ३२ हजारले साङघाई एक्स्पोको अवलोकन गरेका थिए । एकै दिनमा त्यति धेरैले एक्पो अवलोकन गरेको पनि नयाँ रेकर्ड भएको साङ्घाई एक्स्पोको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

साङ्घाई एक्स्पोमा निर्माण गरिएको नेपाल मण्डप पनि हालसम्मको सबैभन्दा ठूलो भएको निर्देशक शाहको दाबी छ ।

नेपाली मण्डप अवलोकन गर्ने दर्शकको सङ्ख्याले पनि ७५ लाख नाघिसकेको छ । सन् २००० मा जर्मनीको ह्यानोवरमा आयोजित एक्स्पोमा निर्मित नेपाल मण्डपको ३५ लाखले अवलोकन गरेका थिए ।

निर्देशक शाहले सन् १९७० बाट एक्स्पोमा सहभागिता जनाएको नेपालको ४० वर्षको इतिहासमा यो नयाँ रेकर्ड हो भने । छ महिना अगाडिबाट सुरु भएको एक्स्पो भोलि आइतबार समापन हुँदैछ ।


No comments:

Post a Comment