यही विषयवस्तुमाथि मैले 'डेमोक्रेसी इज् ब्ल्याक' शीर्षक भिडियो बनाएको थिएँ । यो भिडियो अमेरिकाको अमेरिकन भिडियो च्यालेञ्जमा छनौट हुँदा मेरो खुशिको सीमा रहेन । मेरो लागि त गौरवको विषय नै भयो । मेरा घरपरिवार, साथीभाइमाझ खुशीको बहारै छाएको थियो । नछाओस् पनि कसरी ? आखिर त्यो भिडियो ८९ राष्ट्रका २२०० प्रतिस्पर्धीमध्ये छनौट भएको थियो । यसको केही समयपछि नै विजेताहरुलाई अवार्ड प्रदान गर्ने कार्यक्रम अमेरिकाको वासिङ्गटनमा हुने भएको थियो । त्यसैले पनि म उत्साहित थिएँ ।
[youtube=http://www.youtube.com/watch?v=52mmgGmuMmo&feature=player_embedded]
साँच्चै नै कहिलेकाहीं अकस्मात सरप्राइजको रुपमा आउने यस्ता अवसरबाट मिल्ने खुशीको बयानै गर्न गाह्रो हुँदोरहेछ । हुन त अमेरिका जाने सपना धेरैको हुन्छ । अमेरिका एक त अवसरहरुको देश र अर्को हामीजस्ता युवाका लागि त पहिलो रोजाइ नै हो । मेरो लागि त्यो भन्दा पनि महत्वपूर्ण कुरा त त्यो अवार्ड अमेरिकाको विदेशमन्त्री हिलारी क्लिन्टनले प्रदान गर्दै हुनुहुन्छ भन्ने थियो ।
नतिजा घोषणा भएको केही महिना पछि नै म अमेरिका उडेँ । वासिंङ्गटन गएपछि त्याहाँको केही फिल्म एसोसिएसनमा जाने मौका पाएको थिएँ । थोरै भए पनि त्यहाँका केही फिल्म इण्डष्ट्रिबारे पनि प्रत्यक्ष रुपमा जान्ने/बुझ्ने मौका पाएं । त्यहाँ उनीहरुको टेक्नोलोजी, फिल्म क्षेत्रमा भएको उल्लेखनीय प्रगति वास्तवमै तारिफयोग्य थियो । हलिउडसंग कलिउडको तुलना गरेर हेर्दा वास्तवमा त्यो तुलनायोग्य नै हुँदैन । तैपनि हामीले आफ्नो फिल्म क्षेत्रमा प्रगति भने गरिरहेका छौं । त्यहाँ मैले विभिन्न देशबाट आएका प्रतिस्पर्धीसँग पनि आफ्ना विचार साट्ने मौका पाएँ ।
जब अवार्ड वितरण गर्ने दिन आयो, एक त म अलिअलि नर्भस थिएं भने अर्कोतिर गौरवान्वित र हषिर्त पनि । त्यस अवसरमा हिलारी क्लिन्टनले विनर फ्रम नेपाल 'डेमोक्रेसि डज नट् ह्याभ फिक्स सेप एण्ड साइज' भन्दै प्रदान गर्नुभएको त्यो पल, उहाँसँग हात मिलाउँदाको क्षण मेरो जीवनमा अविस्मरणिय हुनेछ । त्यतिखेर मलाई आफू सगरमाथाको चुचुरोमा पुगेजस्तो लागेको थियो । त्यतिखेरको खुशी बयान गर्न त शायद शब्द पनि कम हुन्छ होला । त्यस्तो उच्च पदस्थ व्यक्तित्वबाट अवार्ड पाउनु मेरो लागि सौभाग्यको कुरा थियो । त्यसपछि केही दिनपछि नै मीठो यादका साथ म नेपाल फर्किएं । त्यो मेरो छोटो अमेरिका यात्राले ममा हौसला र उत्साह थपिदियो ।
हुन त मैले पछि मात्रै फिल्म अध्ययन गर्न थालेको हुँ । प्लस टु सिध्याएको एक बर्षपछि इन्जिनियरङ्गि पढेँ । प्लस टुमा विज्ञान बिषय पढेको हुनाले पनि मलाई भिडियो बनाउन सजिलो भयो । मैले त्यस भिडियोमा विज्ञानमा प्रयोग हुने टेस्ट ट्युबजस्ता सामग्री प्रयोग गरेको छु । प्रजातन्त्रजस्तो विषयमा भिडियो बनाउन पनि सजिलो भयो । एक त मेरो रुचिको विषय पनि हो अनि यो । अर्कोतिर मेरो पारिवारिक वातावरण पनि राजनितिबाट टाढा थिएन । हुन त पहलेदेखि नै फिल्म क्षेत्रमै अध्ययन गर्ने इच्छा थियो । तर त्यही त हो नि, घर परिवारको चाहना आफ्नो छोरा छोरीलाई डाक्टर, इन्जिनियर बनाउने नै हुन्छ । भनाइ नै छ, छोरी भए डाक्टर, छोरा भए इन्जिनियर । मैले यो फिल्म क्षेत्रमा अध्ययन गर्छु भन्दा नाक खुम्च्याउनेहरु नभएका भने होइनन् । भन्थे, यो विषय पढेर तैंले के गर्छस् ? त्यस माथि पनि नेपाली फिल्म क्षेत्र, स्कोपै कम छ । तर वास्तवमा आफ्नो रुचि र इच्छा जे छ, त्यसमा लाग्यो भने केही गर्न सकिँदोरहेछ । सफल भइँदो रहेछ र अवसर पनि आउंदा रहेछन् । कुनै पनि क्षेत्र ठूलो र सानो हुँदोरहेनछ । जुन क्षेत्रमा पनि अब्बल भएर गर्न सकियो भने अवसर मिल्ने रहेछ । हामी सफलता र अवसरको पछि भाग्नु हुँदैन, आफु सक्षम हुनु पर्छ । सफलताले आफै पछ्याउनेछ ।
(ब्रबिम कार्कीसँगको कुराकानीमा आधारित)
ekantipur
No comments:
Post a Comment