Thursday, March 17, 2011

‘कुनै पनि अवस्थामा सेना समायोजन नगर्न’ भारतको दबाब

काठमाडौँ, चैत १ (नागरिक)- भारतले कुनै पनि अवस्थामा माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन नगर्न दबाब दिएको खुलासा विकिलिक्सको एउटा गोप्य दस्तावेजले गरेको छ।
तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले सन् २००७ को जुन १८ तारिखमा वासिङटनमा पठाएको ‘गोप्य’ दर्जा दिइएको सो केबलमा तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीबाट प्राप्त जानकारी भन्दै सो विवरण दिइएको हो।
केबलका अनुसार दिल्ली भ्रमणमा गएका नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल र भारतीय विदेशमन्त्री प्रणव मुखर्जीबीच भएको भेटमा राजदूत मुखर्जी पनि उपस्थित थिए। सो भेटमा विदेशमन्त्री मुखर्जीले “कुनै पनि अवस्थामा” माओवादीलाई नेपाली सेनामा समायोजन नगर्न भनेका थिए।
२०६२/६३ को आन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा माओवादी समेत सहभागी भइसकेको र संविधान सभाको निर्वाचन हुन बाँकी अवस्थाको सो केबलमा भारतले त्यस्तो दबाब दिएको खुलेको हो।
तत्कालीन समयमा माओवादी ज्यादतिहरुलाई दण्ड दिन चुक्ने गृहमन्त्री कृष्णप्रसाद सिटौला नै ‘समस्याको ठूलो अंश रहेको’ विदेशमन्त्री मुखर्जीले राजदूतलाई बताएको केबलमा उल्लेख छ।

विदेशमन्त्री मुखर्जीले भारतीय राजदूतलाई जनतान्त्रिक तराई मुक्ति मोर्चाले संविधान सभाको निर्वाचनलाई बिथोल्न खोजे भारत सरकारले ‘आफ्नो शक्तिमा रहेको सबैथोक गरेर’ त्यसको सामना गर्ने बताएको केबलमा उल्लेख छ।
‘अमेरिकाले माओवादीसित संवाद नगरोस्’
अमेरिकाले माओवादीसित दोहोरो संवाद नगरोस् भन्ने भारतले चाहेको पनि केबलबाट स्पष्ट हुन्छ। केबलमा भारतीय राजदूतले माओवादीसँग संवाद नगर्ने अमेरिकाको निर्णय कायमै रहनुपर्नेमा जोड दिएको बताइएको छ। ‘त्यसो नगरे खराब कामलाई पुरस्कार दिए जस्तो हुनेछ’, भारतीय राजदूतलाई उदृत गर्दै अमेरिकी राजदूतले केबलमा लेखेका छन्।
भारत-माओवादी बिग्रँदो सम्बन्ध
सो केबलमा भारत र माओवादीको सम्बन्ध बिग्रँदै गएको स्पष्ट हुन्छ। मोरियार्टीले माओवादीलाई नयाँ दिल्लीमा सल्लाहका लागि बोलाइएको हो भनेर सोधेको प्रश्नमा राजदूत मुखर्जीले भनेका छन्- ‘माओवादी अध्यक्ष पुष्पकमल दाहालले पठाएको अनौपचारिक आग्रहलाई नयाँ दिल्लीका अधिकारीहरुले अस्वीकार गरिदिएका छन्।’ भारतीय दूतावासले दाहालका सन्देशवाहकलाई माओवादीले शान्ति प्रक्रियाप्रतिको आफ्ना वाचाहरुलाई तोड्ने क्रम जारी राखेकोले नयाँ दिल्ली भ्रमण गर्न उपयुक्त समय नभएको भन्दै फर्काइदिएको केबलमा छ।
माओवादीले नयाँ दिल्लीसँगको पुरानो च्यानल गुमाएको बताउने गरेको विषयमा भारतीय राजदूत मुखर्जीले माओवादी अन्तरिम सरकारमा सहभागी भइसकेको हुनाले गुप्तचर समुदाय उनीहरुको च्यानल नभई दूतावास च्यानल भएको बताएको केबलमा उल्लेख छ।
‘सत्ता कब्जामा अघि बढेको माओवादी’-
केबलको कमेन्ट सेक्सनमा अमेरिकी राजदूत मोरियार्टीले भारतीय राजदूतले निजी कुराकानीका क्रममा माओवादीले पूर्ण रुपमा राज्यसत्ता कब्जा गर्न खोजिरहेको अमेरिका कै जस्तो विश्लेषण गरेको उल्लेख गरेका छन्।
भारतीय राजनीतिक काउन्सेलरलाई उदृत गर्दै उनले भारतीय प्रधानमन्त्री मनमोहन सिंहले माधव नेपाललाई माओवादीसित सचेत रहन र प्रधानमन्त्री कोइरालासित मिलेर अघि बढ्न कडा शब्दमा चेतावनी दिएको पनि उल्लेख गरेका छन्।
@Nagariknews

No comments:

Post a Comment