Thursday, March 10, 2011

किशुनजीलाई अलविदा र अमितालाई समवेदना



Rate This
चाहे प्रजातन्त्रको स्थापना गर्न राणाशाही विरुद्धको संघर्षमा होस् या राजाको निरकुंश शासन विरुद्धको संघर्षमा होस् गान्धीवादी नेता कृष्णप्रसाद भट्टराईले सँधै सिद्धान्त र मूल्य मान्यताको राजनीति गर्नुभयो । इतिहासले उनलाई २०४६ सालको जनआन्दोलन पश्चात्को अन्तरिम कालको व्यवस्थापन र २०४७ सालको प्रजातान्त्रिक संविधानको निर्माणमा उनको राजनीतिक नेतृत्वलाई सँधै सम्झिरहनेछ ।

जुन राणाशाही परिवारवाद विरुद्ध उनले संघर्ष गरे त्यस्तै परिवारवाद आफैंले स्थापना गरेको पार्टीमा हावी हुँदै गएपछि भने उनले त्यस विरुद्ध आपुूलाई उभ्याउनु भएन । नेपाली काँग्रेस भित्र घात्प्रतिघात् र षड्यन्त्रको राजनीतिले आपुनो राजनीतिक भविष्य समाप्त पार्ने सम्मको काम हुँदा पनि उनले त्यसलाई कुनै प्रतिवाद नगरी शालीन ढंगले ग्रहण गरे । परिवारवाद षड्यन्त्र र भ्रष्ट नेताहरुको बोलबाला पार्टीमा बढ्दै गएपछि भने उनले पनि गणेशमान कै बाटो लाग्दै पार्टी परित्याग गरे । सिद्धान्तनिष्ठ र नैतिकवान नेताहरु एकपछि अर्को गर्दै पाखा लाग्दै जाने क्रमसँगै आखिरमा जनताले नेपाली काँग्रेसलाई दोस्रो दलको रुपमा प्रतिष्ठापित गर्दै सजाय दिइछाडे । भट्टराईको कमजोरी भनौं कि अनिच्छा उनले आपुू जस्तै सिद्धान्त बोकेका नेता र कार्यकर्तालाई संगठित गरी पार्टी भित्रै संघर्ष गर्नु भएन । उनी जिउँदो हुँदासम्म सम्मान दिन त कता हो भेट सम्म गर्न नजाने नेपाली काँग्रेसका नेताहरु उनी अस्वस्थ भएर अस्पताल भर्ना हुँदा भने गोहीको आँशु चुहाउँदै अस्पताल परिसर वरपर देखिए ।
सरकारले उपलब्ध गराएको आश्रममा नितान्त एक्लोपनाका बीच बाँच्नु उनको नियति जस्तै हुन गयो । उनी स्वस्थ हुँदा होस् वा अस्वस्थ हुँदा उनको सेवा शुश्रूषाका लागि अनवरतरुपमा खटनु हुने उनका सहयोगी अमिता कपाली बाहेक अरु कोही थिएन । उनको जीवनका अन्तिम समय हुँदा सम्म पनि उनका नजिकका आफन्तहरुको कहीं कतै अत्तो पत्तो थिएन । उनको हरेक सुख दुःखमा उनको सेवा टहलमा अमिताले एकजना सहयोगीको रुपमा आपुनो जीवनको महत्वपूर्ण समय अर्पण गरेकी छिन् । वयोवृद्ध भट्टराईको सेवामा आपुनो सम्पूर्ण जीवन अर्पण गर्नु हुने अमिता उनका लागि मदर टेरेसा जस्तै भएकिछिन् । भट्टराई जिउँदा हुँदा सम्म मात्रै हैन उनले प्राण त्याग गरिसकेपछि पनि उनको पार्थिव शरीरलाई समेत एकछिन पनि नछोडी कुनै कष्ट नहोस् भनेर अत्यन्त श्रद्धाका साथ अमिताले आपुूलाई समर्पण गरेकी देख्दा तिनीप्रति मेरो हृदयमा असीम सम्मान उत्पन्न हुन्छ । आर्यघाटमा भट्टराइको लाश जलिरहँदा एफएम रेडियोहरुमा उनका सिद्धान्त कर्तव्यनिष्ठा र नैतिकताको गुणगान तारीफ भइरहँदा अमिताको त्याग र तपस्याको बारेमा एक शब्द पनि नेता र पत्रकारका मुखबाट सुनिएन । आपुूले त्यत्रो सेवाशुश्रूषा गरेका आपुना पि्रय नेताको मृत्यु हुँदा उनलाई परेको दुःखप्रति सहानुभूति र समवेदना प्रकट गर्ने सम्म कोही भएनन् । अमिता प्रचारमा आउन चाहिनन् । भट्टराईको सेवामा तिनले पुर्याएको योगदान कुनै अर्थमा पनि अन्य कुरा भन्दा कम छैन । वास्तविक अर्थमा भट्टराईको चितामा दागबत्ती दिने अधिकारको साँचिक्कै हकतार अमिताबाहेक अरु हुनै सक्दैनथ्यो । किशुनजीप्रति श्रद्धासुमन प्रकट गरिरहँदा अमिताको सेवाभाव प्रति पनि नतमस्तक नभइ रहन सकिन्न ।
राज श्रेष्ठ
कीर्तिपुर काठमाडौं

No comments:

Post a Comment