Thursday, March 24, 2011

“आपोकालिप्सिस” : एउटा “आपोकालिप्सिस” ढाल्नुछ


Rate This
-  मधु माधुर्य ( हाल : रसिया)
एक्लो सगरमाथा -
ठिंग उभिनुको कुनै अर्थ छैन अब
पग्लेर थुप्रै हिमालहरु
वागमती ‘टुकुचा’ बगिरहेछ …

विसर्जनको प्रवाहसंगै
इतिहासको जंडू नियति
दक्षिण बगिरहेछ
‘चुनामी’ नेताहरुको
जिजिविषा
भत्काउँदै
मठ-मन्दिर र गुम्बाहरु
थाप्दै दक्षिणको “आशिर्वाद”
उक्लिरहेछ
विकराल आपोकालिप्सिस :
उही सिक्किमको भीरबाट
देश खस्ने खतराको
अप्रिय  संकेत -
२-४ कुपुत्रहरुको उन्मादपूर्ण अट्टहास
वा आफ्नै आमा विरुद्धको ‘मुर्दाबाद’
भस्मासुरको कालो हात बनेर
भविष्यको पुर्पुरोतिर
बेरोकटोक / खुलमखुल्ला
डुलिरहेछ  …


शव्दको अभावमा
मुर्ख
दृश्यहरुको क्यानभासमा
प्याच्च प्याच्च  थुकिरहेछु :
“थुइक्क” !
…………
“थुइक्क” !!
………..
“थुइक्क” !!!

स्थायी आवेगको
मूर्त चित्रमा
एक्लै एक्लै
म -
फलामको अभ्यास गरिरहेछु
चीसो ओस
चारैतिरबाट
चाटिरहेछ मलाई !

रोपेर
महँगो स्वाभिमान
यो उर्वर माटोमा
फेरि
अर्को सगरमाथा
उभिदिन्छु
बुझ पचाउँदै -
“एक्लो सगरमाथा -
ठिंग उभिनुको कुनै अर्थ छैन अब
पग्लेर थुप्रै हिमालहरु
वागमती ‘टुकुचा’ बगिरहेछ …”

No comments:

Post a Comment