Sunday, March 27, 2011

‘बहादुर नेपाली’लाई अस्ट्रेलियाली पदक

ऋषि आचार्य, सिड्नी, चैत १३- हतियारधारी लुटेरा समातेर प्रहरीलाई बुझाउने एक नेपाली विद्यार्थी अस्टे्रलिया सरकारको ‘बहादुरी’ पदकबाट सम्मानित हुँदैछन्। काठमाडौं चाबहिलका सरोज खतिवडालाई अस्टे्रलिया सरकारले ‘द अस्ट्रेलियन ब्रेभरी डेकोरेसन्स’ दिने घोषणा गरेको हो। गभर्नरल जनरल (बेलायतकी महारानीका प्रतिनिधि) को कार्यालय, क्यानवेराले बहादुरी प्रदर्शन गरेबापत उक्त पदक प्रदान गर्न लागेको बेहोरासहित आफूलाई पत्र दिएको खतिवडाले नागरिकलाई बताए।
अध्ययन सिलसिलामा अस्टे्रलिया रहेका खतिवडाले सन् २००८ मा अन्नाडाले आइजिए (अस्ट्रेलियन स्वामित्वमा सञ्चालित) नामक सुपरमार्केटमा लुटपाट गर्न खोज्ने हतियारधारी लुटेराबाट हतियार खोसेर उसलाई प्रहरीलाई बुझाइदिएका थिए।
प्रहरीले ज्यान जोखिममा राखेर सुपरमार्केटका ग्राहक तथा कर्मचारी सुरक्षा गरेको भन्दै पदकका लागि सिफारिस गरेको थियो। मुखमा स्कार्फ बाँधेको र सन ग्लास लगाएको लुटेरालाई उनले नियन्त्रणमा लिन उनले ज्यानको जोखिम मोलेका थिए।
विदेशी नागरिकलाई पदक प्रदान गर्न सम्बन्धित देशको सरकारबाट अनुमति लिनुपर्ने प्रावधानअनुसार अस्ट्रेलिया सरकारले नेपाल सरकारबाट अनुमति लिइसकेको र गभर्नर कार्यालयले छिट्टै विशेष कार्यक्रमबीच पदक प्रदान गर्ने जानकारी गराएको खतिवडाले जनाए। 

नेपालको मन्त्रिपरिषद्ले बिहीबार उक्त पदक आफ्ना नागरिकलाई दिन गत बिहीबार स्विकृति दिएको छ।
‘आइलाग्नेमाथि जाइलागेको हुँ,’ उनले भने, ‘अस्टे्रलिया सरकारले साहसको कदर गर्न लागेकोमा खुसी छु।’
तीन वर्षपछि आफूले पाउन लागेको पदकबाट राम्रो काम गर्नेको ढिलै भए कदर हुने विश्वास बढेको उनले बताए।
‘द अस्ट्रेलियन ब्रेभरी डेकोरेसन्स’ पदक पाउने उनी ५३औँ विदेशी हुन्। सन् १९७५ मा स्थापित यो पदक बहादुर व्यक्ति र संगठनलाई प्रदान गरिन्छ।
@nagarik

No comments:

Post a Comment