Tuesday, March 1, 2011

बुद्ध, लुम्बिनी र नक्कली लुम्बिनीले उब्जाएका केही जटील प्रश्नहरु


बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । यो अभियानको यो नै अत्यन्तै महत्वपूर्ण पक्ष हो र बुद्ध सबैको साझा भएको कारण यो बिबाद निरर्थक भनेर भन्नेहरु यहींनेर चुकेको देखिन्छ । प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ काम नपाउनेको नभएर बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबित्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो ।
By रामकुमार श्रेष्ठ, कपिलबस्तु दिवस अभियान बिस्व संयोजक
समाज जहाँ छ त्यसैमा चित्त बुझाई रहने, समाजले जे मान्ने र स्वीकार्ने गरेको छ त्यही नै संधै मान्न र स्वीकार्न खोज्ने, समाजले जुन कुराहरुलाई जसरी बुझिरहेको छ त्यस्लाई त्यसरी नै मात्र बुझ्न खोज्ने जस्ता प्रबृत्तिले न त मानिस महान बन्न सक्छ न त समाज अगाडि बढन नै । यसरी समाजमा विद्यमान अप्रगतिशील मान्यताहरुलाई तात्कालिन अवस्थामा सामना गर्नु पर्ने अनेकन जटीलता, कठीनता र ब्यबधानका बाबजुद पनि अस्वीकृत गर्दै अगाडि बढ्ने क्रममा प्राप्त प्रतिफलहरुलाई के कस्तो तबरले के कति हदसम्म स्वीकार्य बनाउँदै अगाडि बढन र बढाउन सक्षम भइन्छ तदनुरुप नै महानताको स्वरुप पनि निर्धारित हुन सक्छ । । युवराज सिद्धार्थ मूलत: धार्मिक तथा दार्शनिक चिन्तनका दृष्टिले बौद्धिक जगतमा आमूल परिवर्तनकारी सिद्धान्तका प्रतिपादक, शान्तिका अग्रदूत एवं सर्वमान्य महामानव गौतम बुद्धका रुपमा रुपान्तरण हुनुको कसी र आधार यही नै हो । र जीवनको अर्थ बुझ्ने क्रममा उहाँद्धारा गरिएका त्याग र ततपस्चात प्राप्त संपूर्ण सफलताका कारण सिंहासनभन्दा जनताको दिलको आशन महत्वपूर्ण भन्ने भनाइलाई चरितार्थ बनाउने सबभन्दा राम्रो उदाहरण संपूर्ण मानब इतिहासमा बुद्ध नै हुनुहुन्छ भन्ने कुरामा बिबाद गरिराख्नु पर्ने देखिन्न । त्यसैले बुद्धको बिस्वब्यापी महत्व हुनु स्वाभाबिक देखिन्छ र छ पनि । बुद्ध ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उत्प्रेरक, प्रेरणादायी र आस्थाका पुन्ज हुनुहुन्छ र त करीब २६०० बर्ष अघि जन्मेर पनि यो बैज्ञानिक युगमा पनि झन झन महत्व बढदै जाने सदाबहार सर्ब स्वीकार्य महामानबका रुपमा स्थापित उहाँप्रति संपूर्ण जाती, धर्म, सम्प्रदाय नमस्तक भएका छन । यो नै हो मैले बुझेको र परिभाषित गरिने श्रद्धेय बुद्ध ।

ब्यक्तिको महानतासंगसंगै निजसंग सम्बन्धित हरेक कुराको महत्व पनि बढन थाल्छ । बुद्धद्धारा प्रतिपादित सुख र शान्ति प्राप्तीका लागि अबलम्बन गरिनु पर्ने सिद्धान्त र बिधिहरु बुद्धिज्मको रुपमा बिस्व प्रसिद्ध भएका कारण बुद्ध जन्मनु भएको स्थानको बिस्वब्यापी महत्व छ आध्यात्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको दृष्‍टिकोणले । त्यसैले युनेस्कोले यस्लाई बिस्व संपदा सूचिमा समाबेश गरेको हो १९९७ मा ।

संयुक्त राष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमणमा जानु अघिसम्म त्यहाँ नगण्य काम मात्र भएकोले गौतम बुद्धको जन्मभूमिलाई उच्च प्राथमिकता दिइ त्यहाँ ठोस काम गर्नका लागि १९७० मा संयुक्त राष्ट्र संघले एउटा अन्तरराष्ट्रिय समिति गठन गर्‍यो र संयुक्त राष्ट्र बिकास कार्यक्रम (UNDP) ले जापानी आर्किटेक्ट प्रो. केन्जो टाङेलाई लुम्बिनीको बिकासको विस्तृत कार्य योजना (Master Plan) ६.५ मिलियन डलरको लागतमा बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो । लुम्बिनी बिकास गुरु योजनाको कार्यन्वयनले ७ बर्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष राखिएको थियो तापनि तीन दशकभन्दा बढी समय ब्यतित भैसक्ता पनि यसरी बिस्वब्यापी महत्व भएका महामानबको जन्मस्थललाई बिस्वब्यापी महत्व दिएर तयार पारिएको गुरु योजना समबन्धित देशबाटै भने कुनै चासो नै नदिएर कार्यन्वयनले पूर्णता पाउन नसक्नुभन्दा लज्जास्पद र नामर्दिपन अरु केही हुन सक्ला र ?

एकातिर बुद्ध जन्मनु भएको देशकै यथार्थता यस्तो छ भने अर्कोतिर म्यानमार र भारत बुद्ध आ-आफ्नो देशमा जन्मिएको भन्ने कार्य अगाडि बढाउन मात्र नभएर भारतले त सन २०१२ भित्र देवदह र लुम्बिनीसहित नक्कली कपिलवस्तु निर्माण कार्यलाई अन्तिम रूप दिन जोडतोडका साथ काम अगाडि बढाइरहेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुसँग सीमा जोडिएको उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम भएको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ । लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । बिस्वका अधिकांश बौद्धमार्गी समेत बुद्ध नेपालमा जन्मिनु भएको भन्ने कुरामा अनभिज्ञ छन । म्यानमार पक्षबाट गरिने झिनो प्रकृतिको दावीले नेपालको लागि खासै असर पार्ने देखिन्न, तर भारतद्धारा निर्माणाधिन नक्कली कपिलबस्तु नेपालको सक्कली कपिलबस्तुबाट अत्यन्तै नजिक हुनु, पर्यटकहरुका लागि अत्याबस्यक कुराहरु नेपालमा भन्दा भारततिरै धेरै राम्रो हुनु, भारतको संचार जगत र ट्राभल एजेन्सीहरु नेपालको तुलनामा धेरै सशक्त हुनु र लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्वका धेरै मानिसहरुलाई बुद्धको जन्मभूमिका बारेमा दिग्भ्रमित पारिनु जस्ता कारणहरुले गर्दा बुद्धिस्ट एबं बुद्धको बारेमा चाख राख्ने पर्यटकहरु बुद्धको जन्मभूमि जाने भनेर भारत घुमेर फर्कनेहरुको संख्या अत्यधिक हुने गरेको पाईन्छ । सुन्दा यो आस्चर्यजनक भए तापनि यथार्थ हो र यो नेपालको राष्ट्रियता र आर्थिक बिकासका दृष्‍टिकोणले अत्यन्तै संबेदनशील बिषय पनि । र अर्को महत्वपूर्ण कुरो बुद्ध र बुद्ध धर्ममा आस्था राखेर बुद्धको जन्मभूमिमा जाने भनेर कति आस्थापूर्बक आउने निर्दोष पर्यटकहरु बुद्धको नक्कली जन्मस्थलमा घुमेर फर्कदासम्म उनीहरुलाई त्यसबारे अत्तोपत्तो नै हुँदैन । कस्तो बिडम्बना ! नेपाल पक्षबाट आफ्नो मौनतालाई यसरी नै निरन्तरता दिइन्थ्यो भने अधिकांश देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारेको गलत जानकारी र भारतीय पक्षबाट बिभिन्न तवरले दिग्भ्रमलाई निरन्तरता दिइने जस्ता कारण यसरी अनजानमा बुद्धको नक्कली जन्मस्थलमा घुमेर जानेहरुको संख्या आगामी दिनमा बढदै जानु आस्चर्यको बिषय हुन सक्तैनथ्यो ।

नक्कली कपिलबस्तु जस्तो त्यत्रो ठूलो परियोजना नै करीब करीब संपन्न हुने अवस्थामा पुगिसक्ता र कैयौं देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको कुरा उल्लेख भएको पाइंदा समेत यस्तो संबेदनशील बिषयमा पनि नेपालको तर्फबाट देखाइएको सर्ब पक्षीय मौनताका कारण कपिलबस्तु दिवस अभियानको जन्म हुन गयो गत बर्ष यस किसिमका भ्रमहरूलाई निस्तेज पारी दिग्भ्रमित बिस्व जनतालाई बुद्धको वास्तबिक जन्मभूमिमा नै जाने बातावरण तयार गर्ने, पर्यटन प्रबर्द्धन मार्फत देशको आर्थिक बिकास कार्यमा सहयोग पुर्याउने र राष्ट्रियताको जगेर्ना गर्ने जस्ता उद्धेस्यहरु लिएर ।गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई बिस्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी प्रत्येक बर्ष डिसेम्बर १ तारिखलाई कपिलबस्तु दिबस मनाउने निर्णय गरिएको हो बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलकदमीमा । र करीब एक बर्षको छोटै समयमा पनि कपिलबस्तु दिवस अभियानले यो बिस्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्न महत्वपूर्ण भूमिका निर्बाह गरेको छ सीमित साधन र श्रोतका बाबजूद पनि ।

कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रबृत्ति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । यो अभियानको यो नै अत्यन्तै महत्वपूर्ण पक्ष हो र बुद्ध सबैको साझा भएको कारण यो बिबाद निरर्थक भनेर भन्नेहरु यहींनेर चुकेको देखिन्छ । प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ काम नपाउनेको नभएर बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबित्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो । त्यसैले अभियान आफ्नो उद्धेस्यप्रति स्पस्ट छ । सत्यको रक्षा गर्दै विस्व जनमतलाई दिग्भ्रमित अवस्थाबाट मुक्त पार्न यथासक्य प्रयास गर्नु हाम्रो कर्तब्य हो भने शान्ति र सत्यका प्रतिमूर्ति बुद्धप्रति गरिने सच्चा आदर र कदर पनि ।

हामी नेपालमा बसेर बुद्ध नेपालमा जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनाबस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विस्वको जनता बीच छैन र उपर्युक्त कारणहरुले गर्दा बिस्वका अधिकांश जनता दिग्भ्रमित छन भन्ने कुरा बुझ्न जरुरी छ र बिद्यमान सर्ब पक्षीय मौनतालाई यथास्थितिमा रहन दिने हो र लुम्बिनीलाई यसरी नै बेवास्ता गर्ने हो भने आगामी एक दशकभित्रमा बुद्धको जन्मस्थलमा जान चाहने अधिकांश बिस्व पर्यटक नेपालमा नभएर भारतमा जाने बातावरण बन्ने कुरामा सन्देह छैन । ती दिग्भ्रमित जनताका अज्ञानताका कारण PBS तथा गुगल जस्ता समस्याहरु देखा परिरहन्छन । स्मरण रहोस गुगलमा बुद्धको जन्मस्थल भारत देखाउने गर्थ्यो भने यस्को बिरोध गरिएको कारण हाल यस्लाई सच्याउने काम भने भैसकेको छ । सरकारको संलग्नता बिना यो समस्या समाधान बर्षौं लाग्न सक्छ कैयौं बुद्धिजीबिको भगिरथ प्रयासको बाबजुद पनि । अत: समस्याको गांभीर्यताको कारण नेपाल सरकारको प्रत्यक्ष सकृय सहभागिता बिना समस्या समाधान सहज छैन र पनि सरकारलाई पनि आबस्यक दबाब दिंदै सबैले नागरिकीय जिम्मेवारी बोध महसूस गर्दै आ-आफ्नो क्षमताले सक्दो योगदान दिने हो भने निकट भबिस्यमा यो समस्या समस्याको रुपमा रहने छैन । मूलत: नक्कली कपिलबस्तुको बिषयमा दुई सरकारको बीचमा कुराकानी गरिने र बिभिन्न देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे उल्लेख गरिएको गलत जानकारीबारे कुटनितिक नियोगहरु मार्फत काम गर्ने हो भने समस्याले शीघ्र निकास पाउन सक्छ भन्ने अभिप्रायले त्यस्को लागि अभियानका सल्लाहकारहरु डा आरजु देउवा राणा, पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, सांसद दीप कुमार उपाध्याय र प्रो डा कबिताराम श्रेष्ठ र बिस्व कार्य समितिका चार जनाको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने काम पनि भैसकेको छ यद्यपि ज्ञापनपत्रको भावनानुरुप काम भने अगाडि बढन सकेको देखिन्न ।

न्यासनल आर्चिभस अफ इण्डियाका महानिर्देशकले बुद्धको जन्मस्थलबारे सिर्जित भ्रमका कारण ततसम्बन्धमा सोधिएको लिखित प्रश्नमा “the desired information is not available in the record holdings of National Archives of India” जबाफ दिएबाट उनीहरुसंग प्रमाण नभएको कुरा स्पस्ट हुन्छ । मन्त्री डा मिनेन्द्र रिजालले नक्कली कपिलबस्तुको बिषयमा एक टिभी कार्यक्रममा भारत सरकारद्धारा आधिकारिक दाबी नगरेको कुरा उल्लेख गरेका छन । त्यति ठूलो परियोजनाबारे भारत सरकारलाई थाहै नहुने भन्ने प्रश्न हास्यास्पदभन्दा अरु केही हुन सक्तैन बरु यहाँ के हुन सक्छ भने यस किसिमबाट अगाडि बढने भन्ने कुरा भारतको भित्री रणनीति हुन सक्छ जस्ले गर्दा भारत सरकारलाई संभाबित बिरोधबाट पन्छन सजिलो होस । र भारत सरकारले आधिकारिक दाबी गरेको छैन भनेर यो अवस्थामा आइपुग्दा समेत नेपाल सरकारले यस बिषयमा कुरा अगाडि नबढाउनुलाई पनि जिम्मेवारी बोध नगरी आफूलाई असहज स्थितिको सामना गर्नबाट जोगाउन अबलम्बन गरिने नीतिको रुपमा लिइनु पर्ने देखिन्छ ।

पछिल्लो समयमा देखा परेका बुद्ध सर्क्युट बनाउने परियोजनामा चीन सरकार सकारात्मक हुनु, हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्नेअत्याधुनिक प्रबिधि प्रयोग गरी बेलायती डरहाम विश्वविद्यालयका बिशेषज्ञहरुले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि हुनु, संयुक्त राष्ट्र संघका महासचिब बान्की मूनद्धारा लुम्बिनीको संरक्षण र संबर्धननेपालको लागि मात्र नभएर संपूर्ण देश र बिस्व नागरिकको लागि नै महत्वपूर्ण भएको बताउँदै लुम्बिनीको बिकासको लागि मिलेर काम गर्न इच्छुक भएको बताउनु जस्ता परिघटनाहरु नेपालका लागि सुखद हुन तापनि सात बर्षमा संपन्न गरिनु पर्ने लुम्बिनी बिकासको गुरु योजना झन्डै तीन दशक ब्यतित भैसक्ता पनि संपन्न गर्नतिर चासो दिएको नदेखिनुले उपर्युक्त सुखद कुराहरु संपन्न नहुँदासम्म ढुक्क हुने स्थिति देखिंदैन ।

बर्तमान खुला बिस्व परिबेशमा बुद्धको बिस्वब्यापी महत्वका कारण उनको जन्मस्थलमा आउन सक्ने संभाबित ठूलो परिमाणको पर्यटकबाट लालायित भएर ‘बोल्नेको पीठो पनि बिक्छ’ भनाइलाई चरितार्थ बनाउँदै बिभिन्न कारणबश बिस्वका दिग्भ्रमित बौद्ध मार्गी र पर्यटकलाई बुद्धको नक्कली जन्मस्थलमा लैजाने बातावरण बनाउँदै ‘मानो लगाएर मुरी भित्र्याउने’ जस्तो सोंच र तदनुरुपको कार्यले ती दिग्भ्रमित पर्यटकहरुमाथि त ठूलो अन्याय गरिन्छ नै साथै सत्यका पर्यायबाची बुद्धमाथि असत्यको खेती गरेर भयंकर अन्याय, अनास्था र अपराध गरिएको पनि ठहरिने छ । समस्याले जति बिकराल रुप लिन्छ त्यस्ले त्यत्ति नै जटिलता र थप समस्या सिर्जना गर्ने भएकोले यी संपूर्ण समस्याको समाधान भनेकै समयमा नै विस्वभरका बौद्धमार्गी र पर्यटकहरुलाई बुद्धको सही जन्मस्थलबारे सुसूचित गरी उनीहरुमाथि अन्याय हुन नदिने बातावरण सिर्जना गर्नु हो र यो उद्धेस्य प्राप्तीका लागि सिर्जित अभियानले बुद्ध र उहाँबाट प्रतिपादित सिद्धान्तहरुलाई समेत प्रचार प्रसार गर्ने हुनाले यस्ले बिस्वका जनता बीच अरु थप भातृत्वको बिकास हुन जाने कुरामा सन्देह छैन । शक्ति सम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विस्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्साउनु पनि नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले ।

No comments:

Post a Comment