Friday, August 13, 2010

बिदेशमा नतमस्तक बनाउने केही प्रश्नहरु

*रामकुमार श्रेष्ठ
” तपाईंको देशको मन्त्रिपरिषदले ठूलो अभियोग लगाइएको ब्यक्ति बिरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी गराउने किसिमले लिएर गएको छ रे नि, थाहा पाउनु भयो ?” – आज बिहान नेपालको बिषयमा धेरै अभिरुचि राख्ने एक जना बेलायती मित्रले जिज्ञाशा राखे मसंग । प्रश्न सुन्ने बित्तिकै प्रश्नको प्रकृतिले गर्दा शरिरमा पैदा हुन गएको एक तमासको परिबर्तनको असर अनुहारमा स्पस्ट देखेर होला शायद मलाई अफ्टेरोमा नपार्ने अभिप्रायले “अहिले अलिक हतार छ पछि फुर्सदमा कुनै बेला कुरा गरौंला” भनेर हात हल्लाएर बिदा भए ती मित्र । औपचारिकता निभाउँदै र सहमति जनाउँदै हात हल्लाएर बिदा त गरें, तर सामना गर्न परेको वेलायती मित्रको जिज्ञासाले दिमाग शून्यप्राय: भएको थियो । सानोभन्दा सानो गल्ती प्रमाणित हुँदा जो कोहीले पनि ठूलोभन्दा ठूलो सजाय र दुस्परिणाम भोग्न वाध्य हुन पर्ने संस्कारयुक्त देशमा बसेर त्यत्रो अभियोग लगाइेएको ब्यक्तिलाई कहिले प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय प्रधानमन्त्री बनेका ब्यक्ति त कहिले प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय केन्द्रीय भूमिकामा रहेको पार्टीको केन्द्रीय समितिले देशमा सोच्न, गर्न पर्ने महत्वपूर्ण काम कुरा नै केही नभएको झैं गरी त्यस्तो ब्यक्तिलाई अभियोगबाट कसरी मुक्त गर्ने बिषयमा नै प्राथमिकता दिंदा दिंदा अन्तत्वगत्वा मन्त्रिपरिषदबाट नै मुद्दा फिर्ता लिने निर्णय गरेर अझ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सहभागीको रुपमा समेत लिएर गएको जस्तो हास्यास्पद र त्योभन्दा बढी अत्यन्तै लज्जास्पद बिषयमा बिदेशीको मुखबाट प्रश्न सामना गर्न पर्दा एउटा स्वाभिमानी नेपालीको हालत कस्तो हुन्छ होला । खुकुरीको मार निस्चित रुपमा अचानोलाई नै थाहा हुन्छ ।

ज्यान मार्ने उद्योग, फिरौतीको अभियोग लगाइएको भए तापनि आइतबारको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री भीम रावलले धमलाको मात्र मुद्दा फिर्ता लिने प्रस्ताव राखेर उनीविरुद्धको हातहतियार तथा खरजना, ज्यान मार्ने उद्योग तथा फिरौतीको मुद्दा फिर्ता लिने निर्णय गरी बर्तमान सरकारले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन धमलालाई परराष्ट्रमन्त्रीको कोटामा अमेरिका लिएर गएको छ । मधेसी मन्त्रीहरुले एकै अभियोगका अन्यलाई समेत रिहा गर्नुपर्ने अडान राख्ने मौका पाएपछि रामशुभक महतो र वीरेन्द्र केएमको मुद्दा पनि सरकारले फिर्ता लिने निर्णय गरेको छ । गत फागुनमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई ज्यान मार्ने उद्योग, फिरौतीको अभियोग लगाइएको थियो । धमला २८ चैतमा पुनरावेदन अदालतको आदेशमा तारेखमा छुटेका थिए भने रामशुभक र केएम थुनामै छन् । पत्रकार महासंघ सहितका स्वतन्त्र छानवीनले रामशुभक महतोलाई निर्दोष ठहर्याए पनि अदालतले चाहिँ धमलालाई रिहा गर्न आदेश दिएको थियो । परराष्ट्रमन्त्री सुजाता कोइरालाको आग्रहमा गृहमन्त्रीले धमलाविरुद्धको मुद्दा फिर्ता लिने प्रकृया अगाडि बढाएका हुन । यसअघि परराष्ट्रमन्त्री कोइरालाले धमलालाई प्रेस सल्लाहकार बनाउने इच्छा जाहेर गरेकी थिइन्, तर फौजदारी अभियोगमा मुद्दाका आरोपी भएकाले त्यो प्रयास सफल हुन भने सकेको थिएन ।


मन्त्रिपरिषद मार्फत यस काम फत्ते गर्न सकृय भूमिका निर्बाह गर्ने कर्ताहरु अधिकाधिक नेपाली जनताको दृष्‍टिकोणमा घ्रिणित यस दुस्कार्यलाई आफूद्धारा गरिएको यस कामलाई सुकार्य भनी प्रमाणित गर्न कति प्रमाण र तर्कहरु जुटाउँदै होलान र सरकारका प्रबक्ताबाट कुन दिन यस्लाई सरकारको ठूलो उपलब्धि घोषणा गर्ने तानाबाना बुन्दै पनि छन कि त । यदि त्यस्तो भयो भने नै पनि अच्चम्म मानि नै हाल्नु पर्ने भने छैन । किनकि यो घटना सामान्य यस अर्थमा लिइनु हुन्न कि जस्ले जति सत्तो श्राप र बिरोध गरे पनि कतिपय कारणले गर्दा व्याबहारिक रुपमा नेपाली राजनीतिका केन्द्रबिन्दु मानिएका गिरिजा बाबुको ब्यक्तिगत रुपमा र लामो समय देशको शासनको बागडोर संभालिरहेको र हाल दोश्रो ठूलो पार्टीको रुपमा रहेको पार्टीको केन्द्रीय समितिको ठूलो चिन्ता र प्राथमिकताको बिषयबस्तु भएको र संभबत सोही कारणले गर्दा सत्ता परिवर्तनको प्रसंग ब्यापक भैरहेको सन्दर्भमा त्यस्लाई मत्थर पार्नको लागि हरुवा शिरोमणिको रुपमा चिर परिचित माकुने बलिको बोको बनेका त होइनन भनी प्रश्न गर्ने ठाउँ प्रसस्त देखिन्छ । भए गरिएका घटनाक्रमको आधारमा बिस्लेषण गर्दा त्यस्को आधारमा अधिकांशको मन मस्तिस्कमा उब्जन सक्ने स्वाभाबिक प्रश्न हो यो । मन्त्रिपरिषदबाट नै निर्णय लिइने बिषयबस्तु सामान्यत राष्ट्रिय महत्वको बिषयबस्तु हुने गर्छ र हुनु पर्छ पनि – जो कोहीले पनि बुझिरहेको र बुझ्न पर्ने यही नै हो । यसरी सामान्य अर्थबाट हेरिंदा उस्को बिषयमा मन्त्रिपरिषदले गरेको निर्णय र ततपस्चात संयुक्त राष्ट्र संघको महासभामा सहभागी गराउने किसिमले राष्ट्रिय महत्व दिएर जसरी बर्तमान सरकारले लग्यो यस्ले धमला अत्यन्त ठूला राष्ट्रिय महत्वको ब्यक्तित्वका धनी हुन भन्ने देखाउँछ भलै अधिकाधिक जनताले यस्लाई नस्वीकारुन तर मन्त्रिपरिषदको निर्णय भएकोले यो राष्ट्रिय निर्णयको रुपमा देखिन्छ आधिकारिक रुपमा । पन्चायती ब्यबस्थाको अन्त्यपस्चात प्रजातन्त्रको पुन:स्थापना कालमा समेत पञ्चायत कालमा अभियोग लागेर मुद्धा खेपिरहेका कुनै पनि ब्यक्तिको लागि मन्त्रिपरिषदबाट नै यस किसिमले निर्णय लिएको रेकर्ड कहीं कतै देखिदैन । यस प्रिस्ठभूमिमा हेर्दा धमला जत्तिको राष्ट्रिय महत्वको ब्यक्तित्व नेपालमा अहिलेसम्म जन्मिएकै रहेनछ कि भनी प्रश्न गरिनु पर्ने ठाउँ रहन्छ । यस्कै कारणले गर्दा कसैले भारत रत्न अथवा रोनल्ड रेगन फ्रिडम अवार्ड पनि पायो भने राष्ट्रिय महत्वको मात्र नभएर अन्तरराष्ट्रिय महत्वको धनी समेत रहेछन धमला भन्ने बुझ्न पर्ने दिन पनि आउला । किनकि नेपालीहरुमा मान्छे चिन्ने क्षमता हुँदो हो त सुत्केरी भत्ता खाने, रातो पासपोर्ट बेच्नेहरु, ठूला ठूला काण्ड गर्नेहरुमा फेरि फेरि पनि जुंगामा ताउ लाउने दिन किन दोहोरिरहन्थ्यो र ?

करीब एक महिना अघि मसंगै एउटै कन्सल्टिङ कम्पनीमा काम गर्ने सहकर्मी इरानियन इन्जिनियर मित्रले यसरी नै अफ्टेरोमा पार्ने प्रश्न गरेका थिए, “किन चुनावबाट निर्बाचित भएर आउने त्यत्रा सांसदहरु हुँदाहुँदै पनि तिम्रो देशको मन्त्रिपरिषदमा पराजितहरुको ठूलो संख्या? राम्रा र क्षमताबानहरु चुनाबमा पराजित भएकाले कि किन यस्तो ?” प्रत्युत्तरमा ठट्टा पारामा जबाफ दिएको थिएँ, “मेरो देशमा लोकतन्त्रको बारेमा नयाँ प्रयोग हुँदै छ । यो प्रयोगको आशय हो भ्रस्टाचारलाई निरुत्साहित गर्नु, किनकि नेताहरु भ्रस्ट हुनुको एउटा मूल कारण हो आगामी चुनावको लागि संपत्ति आर्जन गर्नु । जब चुनाबमा पराजय भएरै मन्त्री, प्रधानमन्त्री हुन पाइन्छ भने आगामी चुनावको लागि भ्रस्टाचार गरिरहनुको औचित्यै समाप्त भै हाल्यो नि त ।“ जतिसुकै ठट्टा गरेर हाँसी हाँसी जे जसरी जबाफ दिए पनि “मुटुमाथि ढुंगा राखी हाँस्नु परयाछ ” भन्ने गीतलाई मनमनै संझनुको बिकल्प थिएन मसंग ।

उपर्युक्त प्रश्नहरु मैले जस्तै बिदेशमा बस्ने धेरै साथीहरुले सामना गर्न परेको हुन सक्छ । नेपाली नेपालीहरु बीच जति सहज तबरले यी बिषयमा स्वार्थ र यथार्थताको धरातलमा बसेर फरक मतमा बिभाजित हुनु स्वाभाबिक देखिन्छ त्यत्ति सहज किसिमले चाहेरै पनि बिदेशीहरुलाई जबाफ दिनु सहज हुन सक्तैन । किनकि यी प्रश्नहरुको जस्तो किसिमबाट जबाफ दिंदा पनि राष्ट्रिय स्वाभिमान झुकेकै हुन्छ । बिदेशी मित्रहरुको सामू यी दुबै प्रश्नहरुको प्रत्युत्तर दिने क्रममा म आफू भित्र भित्रै त्यसरी नै उकुस मुकुस भएको महसूस गर्छु जसरी केही बर्ष अघि अस्ट्रेलिया रहँदा धेरै पटक दरबार हत्याकाण्डको बिषयमा बिदेशी मित्रहरुबाट प्रश्न सामना गर्दा महसूस गर्थें । वास्तबमा यी तिनै प्रश्न स्पस्ट रुपमा नेपालको शिर नुहाउन काफी सक्षम प्रश्नहरु हुन । नेपाली जनता आँफै रनभुल्ल हुन बाध्य छन देशको लागि त्यत्रो महत्व भएकाहरुलाई चिन्न सकिएनछ भनेर, नेपाली जनता आँफै तिरिमिरी झ्याइं भैरहेका छन त्यत्रो राष्ट्रिय सम्मान दिइनु पर्ने ब्यक्तिलाई के कसरी अपराधी बनाइेएछ भनेर, नेपाली जनता आँफै बर्बराइरहेका छन देशको लागि नभै नहुने त्यत्रो महत्वका ब्यक्तिहरुलाई जिताएर पठाउन पाइेएन भनेर, नेपाली जनता आँफै धर्म संकटमा परेका छन कि रटट र भटट प्रतिबेदन कहाँबाट, कसरी के आधारमा तयार पारियो होला भनेर । नेपालीहरु आँफै धर्म संकटमा पर्न परेका यस्ता जेरि जस्ता गज्याङ मज्याङ प्रिस्ठ्भूमिका कारण सिर्जित यस्ता प्रश्नहरु बिदेशीबाट सोधनी हुँदा पाप मुक्त हुने किसिमले जबाफ दिने कसरी ?
२४ सेप्टेम्बर, २००९
Published links: http://www.mulbato.com/?p=7216
http://www.dcnepal.net/press_release_nepali.php?nid=429
http://www.gorkhaonline.net/literature.php?cid=156
http://www.namasteeurope.com/getnews.php?Action=Full&NewsID=8886
http://sahityaghar.com/modules/detail.php?ID=5433&modID=11
http://www.nepalarab.com/articles_view.php?id=504
http://www.solidaritykhabar.com/index.php?option=com_content&view=article&id=5292:2009-09-25-15-29-23&catid=70:2009-02-12-10-56-54&Itemid=92
http://halkara.net/bichar_bimarsa.php?a=670
http://kuwaitnepal.com/2009/09/27/Ram
http://halkara.net/bichar_bimarsa.php?a=694
Facebook Note

No comments:

Post a Comment