*रामकुमार श्रेष्ठ
उफ !
दिन निकै बितिसक्ता पनि
हामी त अझै अलमस्तिएछौं –
आफूले आफैलाई नबुझ्ने गरी;
हामी त आफै हराइ सकेछौं
आफ्नो पहिचान नै गुमाउने गरी ।
समय त आखिर समय न हो
आफ्नो गति लिइ छाड्छ;
त्यस्को गति नबुझ्नु त
हाम्रो आफ्नै कमजोरी हो
त्यस्को गतिमा आफू समाहित हुन नसक्नु त
हाम्रो आफ्नै लाचारी हो ।
हेर त –
संगै यात्रा गर्नेहरु मात्र पनि
कहां कहां पुगिसकेछन्
अनि
मानब-मानब बीचको अन्तराललाई निहार त
हामी त मानब मूल्यबाट नै बिाचत भै सकेछौं
तर पनि हामीलाई कति प्यारो हो
हाम्रो आफ्नै आलस्यता;
हामीलाई कति सुन्दर हो
हाम्रो आफ्नै गुड्डी हकाईंहरु;
हामी कति गर्बान्वित हौं
आफ्नै प्रशंसाप्रति
त्यसैले अब त अबिलम्ब
संकल्प गरिहाल्नु पर्छ
भोलि भोलिको कुसंस्कार तोडेर
हाम्रा यी कुलतहरुलाई तिलाजलि दिदैं
अबिरल कठोर यात्रा शुरु गर्न
र
बिहानको झुल्के घाममा त
हामीले निकै दूरी तय गरी सक्नु पर्नेछ
र धेरैलाई उठाइ सक्नु पर्नेछ
एक्काइसौं शताब्दी अनुरुपको
उद्धेस्य पुरा गर्न
हाम्रो साथ दिनु भनेर ।
No comments:
Post a Comment