Thursday, February 10, 2011

बेपत्ता छोरालाई फेसबुकले घर फर्कायो

By प्रताप विष्ट हेटौडा, माघ २१ - साढे १३ वर्षदेखि बेपत्ता छोराको खोजीमा भौँतारिरहेको परिवार 'फेसबुक' को माध्यमबाट छोरा घर फर्केपछि दंग परेको छ ।

सधैं छोराको चिन्ताले मलीन अनुहार लिएर ड्युटी गर्ने नर्वदा प्याकुरेलको छोरा घर फर्केपछि अनुहारमा हाँसो फुरेको हो ।

हेटौंडा ५ की नर्वदा प्याकुरेलका जेठा छोरा साढे १३ वर्षपछि सोमबार घर फर्केका हुन् । 'फेसबुक' को माध्यमले उनी घर फर्केका हुन् । २०५४ साउन २५ गते घरबाट बेपत्ता अमिर प्याकुरेललाई गत कात्तिक २८ गते आमा नर्वदा प्याकुरेलले 'फेसबुक' मा खोजी गर्ने क्रममा अमिर प्याकुरेललाई फेला पारेकी थिइन् । नेपाल टेलिकममा कार्यरत नर्वदाले लामो समयदेखि 'फेसबुक' मा छोराको नाममा 'सर्च' गरिरहेकी थिइन् । गत कात्तिक १८ गते बेलुका पनि सधैंझैं 'फेसबुक' मा सर्च गर्ने क्रममा उनको नाम र फोटो फेला परेपछि प्याकुरेल दम्पतीलाई छोरा फेला पर्ने बलियो आशा पलायो । फेसबुकमा देख्नेबित्तिकै उनीहरूले अमिरलाई 'मेसेज' पठाए ।

साढे तीन घन्टापछि अमिरले नर्वदालाई तपाईं मेरो आमा हो भनेर मेसेज पठाएपछि प्याकुरेल दम्पतीको खुसीको सीमा रहेन । खुसीका कारण उनीहरू रातभर निदाउन सकेनन् । फेला परेपछि प्याकुरेल परिवारलाई कसरी अमिरलाई घर फर्काउने भन्ने चिन्ताले सताइरहेको थियो । गत मंसिर १ गते टेलिफोनमा कुरा गरेपछि उनले घर र्फकने बताए । कामका कारणले ढिला हुन सक्ने जानकारी गराएका थिए । घरबाट आमाबाबुले लगातार फोन गर्न थालेपछि छिट्टै फर्कने गरी घर आएको उनले बताए । अंग्रेजीमा मात्र बोल्न रुचाउने अमिरले घर छाडेर किन हिँडेको आफूलाई सम्झना नभएको बताउँदै भने, 'पढ्न राम्रै थिएँ, घरबाट माया पाएको थिएँ तर किन बिदेसिएँ थाहा भएन ।'

साढे १३ वर्षसम्म घरको याद आएन भनेर सोध्दा उनले भने, 'बुबाआमा र भाइको याद आउँथ्यो तर फर्कने मन लागेन ।' ९ कक्षामा अध्ययन गर्दागर्दै घरबाट एक्लै हिँडेको, के भनेर घर फर्कने भन्ने कारणले गर्दा विगतमा नफर्केको उनले बताए । २०५४ साउन २२ गते आफन्तसँग काठमाडौं पुगेका अमिरसँग त्यतिबेला थोरै पैसा थियो । काठमाडौंबाट सिधै उनी वीरगन्ज पुगेका थिए । ९ कक्षामा अध्ययन गर्दागर्दै एक्लै रक्सौल हुँदै भारतको मुम्बई पुगेका अमिर अहिले मुम्बईको ख्यातिप्राप्त होटलको प्रशासन प्रमुख भएर काम गरिरहेका छन् । ज्ञान र पैसा दुवै कमाउन सक्ने भएको दाबी गर्दै उनले भने, 'नेपालको डाक्टर र इन्जिनियरभन्दा मेरो अवस्था कमजोर छैन ।' होटलको प्रशासक हुनुभन्दा अघिल्ला दिनका बारेमा उनले कुरा गर्न चाहेनन् । प्याकुरेल दम्पती नेपाल टेलिकम हेटौंडामा कार्यरत छन् । दुई सन्तानमध्ये जेठो छोरा १४ वर्षको उमेरमा बेपत्ता भएपछि साढे १३ वर्षदेखि गरुँगो मन लिएर जिइरहेका थिए । छोरा बेपत्ता भएको दुई दिनपछि कान्तिपुरमा छोरालाई घर र्फकन अनुरोध गर्दै अमिरका बुबाआमाले विज्ञापन गरेका थिए ।

२०५४ साल साउन २७ गते कान्तिपुरमा अमिरको फोटोसहित विज्ञापन गरेको कटिङ पनि सञ्चारकर्मीसहित छोरालाई देखाए । अमिरले 'विगतका कुरा नगरौँ' भनेर आमाबुबालाई रोके । 'फेसबुक' का माध्यमबाट बेपत्ता छोरासँग भेट भएकामा हर्षको आँसु बगाउँदै प्याकुरेल दम्पतीले भने, 'फेसबुक' जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड' । घरमा अहिले अमिरलाई भेट्न र हेर्न आउने आफन्त मात्र होइन, छिमेकी र सहपाठीको घुइँचो लागेको छ ।

No comments:

Post a Comment