Wednesday, February 16, 2011

छाला र अनुहार बिग्रने प्राकृतिक कारणहरू



सिर्जना प्रधान पोखरेल, महेक ब्युटिपार्लर एण्ड द्रेनिङ सेन्टर, कत्यानी चोक बानेश्वर

शरीर र अनुहारको छालालाई घामपानी, धूवाँ-धूलो, बढी चिसोको साथै विभिन्न किसिमको प्रदूषणबाट बचाउनुपर्ने हुन्छ। बाहिरी प्रकोपबाट बचाएर छालालाई स्वास्थ्य बनाउन अलिकति समय निकालेर यसको हेरचाह गर्नुपर्छ। छालाको सुरक्षाका लागि महँगो मूल्य तिरेर मात्र हुँदैन। बरु केही कुरामा सचेत भएर घरेलु उपाय अपनाउन सकिन्छ। सामान्य कुरामा ध्यान पुर्‍याउन सकियो भने छालाको प्राकृतिक सौन्दर्य जोगाउन सकिन्छ।

धेरै गर्मी र चर्को घामले छालामा चायाँ, पोतो र तिलकोठी आउन सक्छ। साथै चर्को घाममा धेरै बस्नाले छालाको क्यान्सर हुने सम्भावना बढ्छ।

मादकपदार्थ र धूम्रपानको बढी सेवनले पनि शरीरमा पानीको मात्रा सुकेर ब्लड सर्कुलेसनमा कमी आउँछ। जसका कारण छाला कमजोर एवं निर्जीव हुन थाल्छ अनि छालामा भएको भिटामिन ‘सी’ पनि नष्ट भएर जाने भएकाले छाला फुस्रो हुनुका साथै चाउरी परेको देखिन्छ।

युवावस्थामा हार्मोन्स परिवर्तनका कारण तैलीय ग्रन्थि बढी सक्रिय हुनाले रोमछिद्र बन्द हुन्छन् र डन्डिफोर आउँछ। यसलाई कोट्याए बिग्रिएर दाग बस्छ।

निद्रा एवं आरामको कमीले पनि मानिस कमजोर बन्छ अनि छिट्टै बूढो देखिन्छ। चिडचिडापन बढ्छ। यी सबै कुराको असर अनुहारमा देखा पर्छ।

धेरै बाफ लिए पनि अनुहार बिग्रन्छ, बाफले अनुहारको रोमछिद्र खुल्छ र पछि अनुहारमा प्वाल देखिन्छ।

सन्तुलित आहारको कमीले पनि शरीर कमजोर हुनुका साथै अनुहारमा विभिन्न परिवर्तन देखिन्छ। बढी चिल्लो, पिरो, अमिलो तथा मसालेदार खानाले शरीरको पाचन प्रणालीदेखि अनुहारमा पनि असर पार्छ।

छाला बिग्रनबाट बचाउने प्राकृतिक उपाय सकेसम्म घाममा नहिँड्ने, हिँड्नु परे छाता प्रयोग गर्ने।

धूम्रपान तथा मादकपदार्थ सेवन सकेसम्म नगर्ने, प्रशस्त मात्रामा पानी पिउने।

सादा खाना बढी खाने अर्थात् चिल्लो पिरो, अमिलो र मसलेदार खाना एकदम कम खाने, तरकारी र फलफूल बढी खाने।

चिन्ता नलिने, सकेसम्म बढी आराम गर्ने, कम्तीमा पनि आठ घन्टा निदाउने।

गर्मी महिनामा दैनिक ३ पटक तथा जाडोमा मनतातो पानीले २ पटकसम्म अनुहार हुने।

बाफ दिँदा मलमलको कपडालाई भिजाएर अनुहार छोप्ने। अनुहारमा ब्ल्याक हेड्स-हवाइटस हेड्स बढी छ भने महिनामा एकपटक मात्र बाफ लिने।

छालालाई स्वस्थ, चम्किलो एवं सुन्दर बनाउन महिनामा एक-पटक फेसियल गर्ने वा छालाको किसिम पत्ता लगाएर दक्ष ब्युटिसियनको सल्लाहअनुसार छालाको स्याहार गर्नु उपयु्क्त हुन्छ।


No comments:

Post a Comment