Thursday, January 27, 2011

नेपालले गुमाएका तीन महत्वपूर्ण अबसरहरु

By रामकुमार श्रेष्ठ


सत्तापक्षद्धारा अख्तियारी गरिने नीतिहरुले नै कुनै पनि देशको राजनितिक, सामाजिक र आर्थिक दिशाबोध निर्धारण गर्ने भएको कारण कुनै पनि देशमा राजनीति सकारात्मक समाज परिबर्तनको प्रबल एवं सशक्त उत्प्रेरक वन्नु पर्छ सही ब्यक्ति चयन भएको खण्डमा। ब्यबहारमा जे भए पनि सैद्धान्तिक रुपमा भने बिस्व सामू आफ्नो भूमिकालाई कसरी प्रभाबशाली बनाउने भन्नेतिर बिकसित देश आफूकहाँ बिद्यमान सामाजिक सुरक्षालाई अरु प्रभाबकारी बनाउँदै बिस्व रंगमन्चमा आफूलाई शक्तिशाली बनाउने तथा बिस्वब्यापी समस्या न्यूनिकरण जस्ता प्रश्नमा अधिकाधिक केन्द्रित हुन्छन भने अबिकसित देश एकाइसौं शताब्दीमा पनि जनताका नैसर्गिक आवश्यकताको परिपूर्ति जस्ता कुरा र अनियन्त्रित र अब्यबस्थित क्षेत्रहरुलाई कसरी नियन्त्रित र ब्यबस्थित बनाएर अगाडि बढने भन्नेमा नै संघर्षरत भएको पाईन्छ । समाज परिबर्तन जटील एबं कठीन प्रकृया र कार्य भएकोले यस्को लागि आफूलाई सरल र स्वार्थ रहित इमान्दार ब्यक्तिको रुपमा प्रस्तुत नगरेसम्म उपर्युक्त उद्धेश्य परिपूर्तिमा योगदान दिएको देखिनुको अलावा बाधक बनेको महसूस समाजले गर्नु पर्ने परिस्थिति सिर्जना हुन सक्छ । सबै राजनीतिकर्मीहरु आफूलाई देश र जनताप्रति समर्पित भएको र समाज परिबर्तन नायक बनिरहेको प्रमाणित गर्न भर मग्दूर प्रयाश गर्छन् भलै राजनीतिलाई सबभन्दा राम्रो ब्यवसाय बनाएर समाजलाई यथास्थितिमै राख्ने अथबा अझ पछाडि धकेल्ने गरेका नै किन नहुन । यस प्रबृतिले गर्दा समाज परिबर्तनका आवश्यकता र नाराहरु यथार्थमा रुपान्तरण हुने संभाबनाका ढोकाहरु बन्द प्रायः अबस्थामा पुग्नु कुनै आस्चर्यजनक कुरो होइन । अतः साँच्चै समाजलाई अग्रगामी दिशातिर उन्मुख गराउने नै हो भने राजनीतिलाई सबभन्दा राम्रो ब्यवसाय बनाउनेहरुको पन्जाबाट मुक्ति दिलाउन नसकिएसम्म यस जटील एबं कठीन उद्धेस्य प्राप्ती संभब नदेखिने भन्ने कुरामा शायदै दुई मत होला ।

पञ्चायती ब्यबस्थाको अन्त्यपछि नेपाली जनताको चाहनानुरुप परिबर्तनका संभाबनाहरुले अधिकाधिक मात्रामा मूर्त रुप लिने आशा स्बाभाबिक थियो तर संपूर्णप्रायः राजनीतिकर्मीहरुमा सरलता र इमान्दारिताको अभाब टडकारो रुपमा देखा प-यो । पेशेबार राजनीतिकर्मीहरुले बिस्तार बिस्तार राजनीतिलाई ब्याबहारिक रुपमै सबभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरेर मात्र देखाएनन कि सांसद किनबेच, रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता यथार्तताले राजनीतिलाई गाइजात्रे नीतिमा परिणत गरिदिए । नयाँ बोत्तलभित्रका नयाँ रक्सी पुरानो रक्सीभन्दा कडा भएको भन्न हिचकिचाउन गा-हो मान्न पर्ने परिस्थिति सिर्जना भयो । यथार्ततालाई यथार्थ रुपमा भन्नु पर्दा भन्नै पर्ने यस किसिमका हीनताबोध गर्न पर्ने यथार्थताहरुले इतिहासमा नराम्ररी कालो धब्बा लगाइदिएको छ प्रजातन्त्रको पुन: स्थापनापश्चातको समयाबधिलाई । बिगतका भ्रष्टाचारीमाथि कारबाही गर्नु र भ्रष्टाचार नियन्त्रणको संयन्त्र तयार गर्नुको अलावा झन झन भ्रष्टाचार बढ्दो रुपमा देखा पार्नु, जेलमा परेका भ्रष्टहरुलाई समेत बाहिर ल्याउनु जस्ता संपूर्ण गतिबिधिले सो समय नेपाल र नेपालीको दुर्भाग्य मात्र नभएर इतिहासमै अति कलंकित समय साबित भयो भन्न हिचकिचाउने ठाउँ राखिदिएनन – यो नेपाल र नेपालीको लागि ठूलो दुर्भाग्य र अबहेलना थियो भने नेपाल र नेपालीमाथिको ठूलो खेलबाड र त नेपाली जनताले आफ्नो अन्तर्बेदनालाई छताछुल्ल पारिदिए बिगत संबिधान सभाको चुनाब मार्फत कसैले नचिताएको परिणाम दिएर । चुनाव परिणामपस्चात बिगतका गल्ती कमजोरीहरुमा गरिनु पर्ने पस्चातापको अलावा सोही गल्ती कमजोरीलाई नै बिना हीनताबोध निरन्ततरता दिनु र स्वार्थपूर्ण अनेकन प्रत्यक्ष अप्रत्यक्ष नाटक मन्चन गरिनुको परिणाम देश अरु अनपेक्षित तवरले विस्व राजनीतिमा रेकर्ड कायम नयाँ किसिमका लज्जास्पद समस्याहरुको भुमरीमा जकडिन पुग्यो ।

प्रजातन्त्र पुनर्स्थापना पस्चातको नेपालको राजनीतिमा देशले निस्चित दिशाबोध गर्न सक्ने संभाबित तीन सुअबसर चुकाएको देखिन्छ : पहिलो थियो नेपाली कंग्रेसले स्पस्ट बहुमत प्राप्त गरेको बेला नाताबाद, कृपाबाद, फरियाबाद, अन्याय, अत्याचार, भ्रस्टाचार, दुराचार आदिको बिरोध गरेर देशमा भएको प्रजातन्त्रको पुनर्बहालिपछिको चुनाबमा नेपाली कांग्रेसले स्पस्ट बहुमत हासिल गरेपस्चात उस्लाई निर्धक्कसंग सरकार चलाउन कुनै कठिनाइ थिएन जे जस्ता किसिमका निर्णयहरु लिएर जस्तो किसिमले काम गर्नको लागि पनि समस्या नभएकोले । त्यसपछि एउटै पार्टीले स्पस्ट बहुमत ल्याएको अवस्था नभएकोले त्यसरी ढुक्कसंग काम गर्न सक्ने परिस्थिति दोहोरिन सकेन । जन चाहना र देशको आवश्यकतानुरुपका बिषयहरुलाई प्राथमिकता दिदै संयमताका साथ नेपाली कांग्रेसले देशमा केही गरेर देखाउन सकेको भए नेपालको ईतिहासमा कम्युनिस्टहरुको अवस्था कमजोर हुने संभाबना प्रबल हुन्थ्यो भने नेपाली कांग्रेसको एकछत्र शासन चल्ने संभाबनालाई नकार्न मुस्किल पर्थ्यो । किनकि जनता सामान्यत कुन पार्टि अथवा शासन पद्धतितिर बढी झुकाब राख्छन भन्ने कुरा समय, परिस्थिति र अवस्थाले निर्धारण गर्ने कुरा हो । जनताको लागि त्यही पार्टी राम्रो हो जस्ले उनीहरुको लागि केही गर्न सक्छ अथवा केही गर्छ कि भन्ने अपेक्षा गर्ने आधार रहन्छ । जब उनीहरुको आशामा तुषारापात हुन थाल्दछ त उनीहरुलाई पार्टी परिवर्तन गर्नु कुनै महाभारत नहुन सक्छ । कुर्सी पाउने बित्तिकै त्यत्रो बर्षको त्याग र संघर्षलाई बिर्सेंर आफूलाई शाशक र जनतालाई शाशितको रुपमा लिन थाली जे जस्ता आरोप लगाएर पञ्चायत फालिएको थियो तिनैलाई झन डरलाग्दो भूत बनाएर जगाउने काम गरी नयाँ नयाँ अनगिन्ती नाजायज धनाड्यहरुको जन्म गराएर देशलाई कंगाल बनाउने काम भयो । यसरी नेपाली कांग्रेसले नेपालमा आफ्नो एकछत्र शासन चल्न सक्ने बातावरण तयार गर्न सक्ने बातावरण हुँदाहुँदै पनि संयमता, राष्ट्रिय चिन्तन, खुला र बृहत सोंच र दूरदर्शिताको अभाबमा पार्टी र देश दुबैलाई लैजान सक्ने दिशातिर नलगेर बिपरीत दिशातिर जान पर्ने परिस्थिति सिर्जन गर्‍यो भने सीमित ब्यक्तिमा भएको एक तमासको रबैया र सो रबैयाको खुलेर बिरोध गर्न नसक्ने प्रबृतिको कारण सो पार्टीले आगामी दिनमा भोग्न पर्ने समस्याको बिकराल डरलाग्दो रुपको कालो बादल अझै हटेको महसूस गर्न सकिने स्थिती छैन ।

दोस्रो अबसर हो - तात्कालिन राजा तथा बर्तमान सामान्य नेपाली नागरिक ज्ञानेन्द्रले पार्टिहरुलाई पन्छाएर शासनको बागडोर आफ्नो हातमा लिएको बेला । सरकारमा रहंदा रहंदै पनि अनायास प्रधानमन्त्री लगायत संपूर्ण मन्त्रिहरु नाटकीय ढंगले एकाएक नजरबन्दको अवस्थामा रहन पर्ने जुन अवस्थाको सिर्जना भयो त्यस्ले के प्रमाणित ग-यो भने सैनिक मात्र नभएर प्रहरी प्रशासनले पनि बिशेष परिस्थितिमा कस्तो किसिमको भूमिका निर्बाह गर्दो रहेछ त । त्यस किसिमबाट शाशनको बागडोर आफ्नो हातमा लिएपछिको राजनीति एक किसिमले सुनसान जस्तो देखिन्थ्यो – सबै पार्टिको सामूहिक कार्यक्रममा समेत जनसहभागिता निरासाजनक नै हुन्थ्यो । यस किसिमको परिस्थितिलाई तात्कालिन राजा ज्ञानेन्द्रले राजनैतिक पार्टिहरुप्रतिको बितृष्णताको रुपमा मात्र बुझी दंभलाई अझ बढावा दिएको देखिन्छ । दरबार हत्याकाण्डबारे प्रकाशमा ल्याइएका कुराहरु र तात्कालिन युबराज पारसप्रतिको जनधारणाको यथार्तता बुझ्दा बुझ्दै पनि नबुझेको जस्तो गरी परिस्थितिको राम्रोसंग बिस्लेषण गरी कार्यनीति बनाउनुको अलावा पेलेर लाने नीति अख्तियारी गरे । नपाउनुपर्ने राज्य शक्ति दोश्रो पटक हात परेकै थियो, राजनैतिक गतिबिधि झन्डै झन्डै शून्य प्राय: थियो, सैनिक र प्रहरी प्रशासन लगायत संपूर्ण प्रशासन भने अनुसार संचालन गर्न समस्या थिएन । यस्तो अवस्थामा राजा ज्ञानेन्द्रको एउटै ध्यान हुनुपर्थ्यो - इमान्दार र सक्षम ब्यक्तिहरुलाई समेटेर देशमा केही गरेर देखाउने । यस्को लागि अन्य राजनीतिक शक्तिहरुको तुलनामा आफ्नो चाहनानुरुप काम गर्न उनलाई धेरै सहज बातावरण थियो । यदि उन्ले यस किसिमको नीतिलाई अख्तियारी गरेर देशमा केही गरेका भए सपनै सपनामा बाँच्न वाध्य जनताको लागि “के खोज्छस कानो – आँखा” भैहाल्थ्यो । संभबत दरबार हत्याकाण्ड , पारसको गतिबिधि र राजनीतिप्रतिको एक किसिमको बितृष्णताको पीडाबोध बिस्तारै बिस्तारै कम हुन सक्ने संभाबनालाई नकार्न सकिन्न ।

तर, त्यसो नभै जसो तसो चलिरहेको देश पुन: जसो तसोकै रुपमा नै चल्न थालेपछि जनता बेसाहर भए, पानी बिनाको माछा जस्तै भए । यस्तैमा तात्कालिन तेश्रो ठूलो पार्टीको रुपमा भएको पार्टीको एउटा सानो हिस्साले भूमिगत रुपमा शुरु गरेको आन्दोलन मार्फत दश बर्षको छोटो समयमा शुभ चिन्तकहरुको समेत आफू र आफ्ना कार्यकर्ताहरु सकाउने हो कि भन्ने शंकाको बाबजूद देशमा देखा परेका बारंबारका अनपेक्षित र अस्वाभाबिक अत्यन्तै पीडादायी वास्तबिकताको मलजल पाएर कसैले नसोचेको किसिमले राष्ट्रिय स्तरमा आफ्नो संगठन र शक्ति निर्माण गर्न समर्थ माओबादीको साथ पाएर अन्य पार्टीहरुले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन पाए र दरबार पछाडि हटन वाध्य भयो । दरबारद्धारा र अझ कत्तिले त ज्ञानेन्द्रद्धारा सन्चालित भनिएको त्यही माओबादी त्यही दरबार र अझ उही ज्ञानेन्द्रलाई शक्तिहीन बनाउने निर्णायक शक्ति बन्न पुग्यो । ततपस्चात भएको संबिधान सभाको निर्वाचनमा सबैलाई आस्चर्य चकित तुल्याउदै जे जस्तो किसिमले अनपेक्षित तबरबाट चुनाव परिणाम देखा पर्‍यो त्यस्को मलजल भनेकै आम नेपालीले देख्दै र भोग्दै आएका प्रजातन्त्रको पुन्:स्थापनापस्चात देखा परेका ठूला पार्टीहरुका बिभिन्न किसिमका सदाबहार गाइजात्रे कृयाकलापहरु हुन भन्ने कुरा बिबादभन्दा बाहिरको कुरा भैसक्यो । यहाँ गैर्ह माओबादीहरुले बुझ्नै पर्ने महत्वपूर्ण यथार्तता के हो भने रहरले माओबादीको पछि त्यत्रो जन सागर उर्लेको होइन र माओबादी पक्षधरले पनि बुझ्नै पर्ने कुरा हो – जे जस्ता कारणले जे जसरी जन सागर उनीहरुको पक्षमा उर्लेर आयो, नेका र एमालेका बिगतका सदाबहार गाइजात्रे कृयाकलाप नै त्यस्को मूल कारण भएकोले सो जन लहरको निरन्तरताको लागि देश र जनताको आवश्यकतानुरुपका ठोस कार्यक्रमहरु र नेतृत्वदायी ब्यक्तिहरुमा उदाहरणीय व्यबहार र चरित्र टडकारो रुपमा देखिन नसकेको खण्डमा त्यो संभब हुने छैन किनकि नेका र एमालेभन्दा भिन्न रुपमा एनेकपा (माओबादी) लाई लिने आधार त्यस बेला समाप्त हुनेछ र जनता पुन: नयाँ शक्तिको खोजमा भौतारिन वाध्य हुनेछन । स्पस्टत: संबिधान सभाको निर्वाचनपस्चात अन्तरिम संबिधानमा भएको सहमतीय पद्धतिलाई बहुमतियमा परिवर्तन गर्नुको परिणाम हो आजको नेपालको अवस्था र पनि अझै आत्मालोचना गरेर चरित्र सुधार गर्ने आँट कसैमा देखिएको छैन र त्यो मात्रै जनताको नजरमा क्षम्य हुने आधार हो भन्ने बुझ्न सकिरहेका छैनन ।

अन्तिम र तेस्रो अबसर हो - माओबादीले नेतृत्व गरेको सरकारपछि निर्माण भएको बर्तमान सरकार । यो सरकारको निर्माण प्रकृयामा नै देखिएको एउटा बिशेषता हो प्रजातान्त्रिक परिपाटीलाई नै हास्यास्पद बनाउने किसिमले सरकारको नेतृत्व गर्ने पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरु एकजना बाहेक सबै निर्वाचनमा पराजित हुनेहरु समाबेश गरिनु र त्यही एकजनाले पनि राजिनामा दिनु र अन्य पार्टीका तर्फबाट पनि धेरैजसो चुनाबमा पराजित भएकाहरु र बिभिन्न आरोपमा संलग्न भएकाहरुलाई नै सरकारमा समाबेश गराइनु । प्रधानमन्त्रीका सल्लाहकार पनि चुनाबमा पराजित भएका र नियमानुसार हुनुपर्ने निम्नतम शिक्षा प्राप्त नगरेका समेत राखिए । एक - दुई जनाको लागि आँखा चिम्लन सकिन्छ, तर यसरी प्रजातन्त्रको खिल्ली उडाउने र मुढेबल प्रयोग गरिनु भनेको नेपाली, प्रजातन्त्र र प्राप्त गणतन्त्रलाई खिल्ली उडाउने कदमभन्दा अरु के हुन सक्ला त? जे होस, यसरी चुनाबमा पराजित भएका र अनेक आरोप लागेकाहरुले यसरी गणतन्त्र आएपछि पनि नपाउनु पर्ने जुन मौका पाएका थिए सरकारमा बस्नेले यस्लाई जनताको आफूप्रतिको दृष्‍टिकोणमा परिवर्तन ल्याउने सुबर्ण अबसरको रुपमा लिएर देशको लागि केही गर्नु पर्थ्यो । तर दुर्भाग्य नानीदेखिको बानी भनिनु पर्ने अवस्था मात्र सिर्जना गरेनन बोल्न नहुने बोल्न र गर्न नहुने गर्नका लागि एकदमै खप्पिस जत्था भएको प्रमाणित गरेरै देखाए, नेपालका कानून दैबले जानून भन्ने कुरालाई बारंबार प्रमाणित गरेरै छाडे ।

यसरी बारंबारका प्राप्त सुबसरहरुलाई देशले गुमाउँदै आएको देखिन्छ र जनताका बारंबारका संघर्षपछिका परिवर्तनहरुपस्चातका आशाहरुमा तुषारापात गराइएको देखिन्छ । नेपालको राजनीतिमा बारंबार एकदमै अनपेक्षित परिणाम दिंदै आएका छन जनताले जस्ले नेपाली जनताको चेतनास्तरलाई प्रतिबिम्बित गर्दछ । जसरी नेपाली राजनीतिज्ञहरुले राजनीतिलाई सबभन्दा राम्रो ब्यवसाय बनाएर बारंबार नेपाल र नेपालीलाई आस्वासन रुपी भाषणमा नै बाँच्न वाध्य बनाइरहेका छन, अवस्था अब पनि त्यसरी नै रही रहनेछ भन्ने कुरामा अब भने राजनितिज्ञहरु ढुक्क नभएकै राम्रो भन्ने सन्देशहरु देखा पर्न थालेका छन र ती अरु सशक्त रुपमा देखा पर्न सक्छन आगामी दिनहरुमा । अत: देशले अहिलेसम्म प्राप्त गरेका थुप्रै अबसरहरुलाई आफ्ना अत्यन्तै निहित स्वार्थहरुका कारण देश र जनतालाई जे जसरी व्याबहारिक रुपमा तिरस्क्रित गर्दै पीडा दिने काम गरेका थिए, अब पनि सही किसिमबाट बिस्लेषण गर्न र बुझ्न सक्तैनन भने त्यो चिनिको तीतो स्वाद महसूस गर्ने दिन निम्त्यानुभन्दा बढी केही हुनेछैन । भीरबाट लडने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न होइन । त्यसैले नेताहरुमा बेलैमा सदबुद्धि आओस - यही शुभ-कामना !

No comments:

Post a Comment