Sunday, January 9, 2011

समानान्तर दृश्यहरु

- डा. मधु माधुर्य, कपिलबस्तु दिवस अभियान यूरोप संयोजक

आँखा खोलेपछि
रसायनिक प्रतिक्रिया शुरु हुन्छ भित्र-भित्रै
र देखिन थाल्छन् विविध दृश्यहरु
प्रेम र घृणाका प्रकरणहरु
अर्थात् निर्माण र विनासका शृंखलाहरु !

भगवानले मान्छे बनाएको देखेको छैन
मैले
मान्छेले -
भगवान बनाएको देखेको छु
उसको प्रतिमा बनाएको देखेको छु
मान्छेलाई पशु बनाएको देखेको छु

आज मैले आफ्नै हातले
बुद्धको प्रतिमा बनाएको छु:
खुला छन् आँखाहरु:
कुन दिशा फर्काउन पर्ने हो उसको आँखा ?

पश्चिम फर्काउने हो भने
उसको आँखाले
असान्जको विकिलिक्स क्यामराले हालसालै खिचेको
बेडरुममा लम्पसार अमेरिकाको नाङ्गो फोटो देख्न सक्छ
मान्छेको औपचारिक/ नक्कली हाँसो देख्न सक्छ
र भड्किन सक्छ उसको वृत्ति, मनोवृत्ति र समाधि !

पूर्व फर्काउने हो भने
उसको आँखाले
भारतवर्षमा अर्को एउटा नकल्ली कपिलवस्तु देख्न सक्छ
जहाँ ऊ जन्मेकै छैन
संविधान बिनाको कुनै एउटा हिमाली देश देख्न सक्छ
बिदेशी हितको खातिर
आफ्नै देश बेच्न उद्दत नेताहरु देख्न सक्छ

उत्तर फर्काउने हो भने
विश्व- आर्थिक ठेकेदार तिब्बत मास्तिरको देश देख्न सक्छ
जहाँ औतारी “बुद्ध”हरूलाई “पर्सन नोनग्राड” घोषणा गरिएको छ

तल धरतीतर्फ फर्काउने हो भने-
द्वन्द्द,अभाव, आँसु, रगत, रोग, विनास र सन्तापका
सात समुद्र देख्न सक्छ
“मृत्यु उपहार” लिएर बस्ती-बस्तीमा
सान्ताक्लाउसको भेषमा
घुमिरहेका मनुवाहरू देख्न सक्छ

र मैले चुपचाप उसको टाउको आकाशतिर फर्काइ दिएँ
अब माथिबाट जल्ले जे खसाए पनि
बुद्धको टाउकामाथि टुटुल्को उठ्ने खतरा छंदैछ
अहोरात्र
बादलमुनि
ओसामाको घुँयत्रो-निशाना छल्दै
अट्टहासले मारेको मेलोसेभिच र सद्दामको कंकालको खोजीमा
“प्रजातान्त्रिक बम” लिएर उडदैछ
एउटा भोको
अथकित
आदिम चील !

०१ जनवरी २०११
हाल: मस्को, रसिया

No comments:

Post a Comment