Saturday, December 18, 2010

नेपाली कांग्रेस जोखिममा

अब नेपाली कांग्रेसलाई बचाउने हो र पुनः जन आधार लिएर अस्तित्व कायम राख्न चाहने हो भने ‘कोइरल एण्ड सिटौला ‘कम्पनि प्रवृतिलाई उन्मुलन गर्नु पर्छ र यसको लागि युवा शक्ति बिद्रोह गरेरै भए पनि अगाडी आएर नेपाली कांग्रेसको अस्तित्व र छबीलाई बचाउने काम गर्नु अनिबार्य छ । अन्यथा ‘कोइराल एण्ड सिटौला कम्पनि’संगै नेपाली कांग्रेस पार्टी इतिहासमा सिमित रहने छ ।

By शेखर ढुंगेल, ओमाहा नेब्रास्का

नेपालको एक मात्र जेठो प्रजातान्त्रिक पार्टी भनेर चिनिने नेपाली कांग्रेसको राजनैतिक भबिस्य संकटमय बन्दै गएको छ । २०४६ सालसम्म अन्तरास्ट्रिय रुपमै ख्याती कमाएको नेपाली कांग्रेस पार्टी २०५१ सालको अदुरदर्शी मध्यावधि निर्बाचन, पार्टी भित्रको अस्वस्थ विवाद र कोइराला परिवारको निरंकुस प्रवृति, नेपाली कांग्रेस सस्थापन कालदेखिका शिर्षस्थ नेता लगायत बहुसंख्यक कार्यकर्ताको बि पिको मेल मिलापको नीति एबं भावना बिपरित जानु हुन्न भन्ने अनुरोधलाई लत्याउदै प्रचण्ड पथलाई स्विकार्न पुगेपछि त झन संकटमा फसेको छ ।

गणतन्त्र स्थापनापछि पनि सत्ताको हाली मुहाली कांग्रेसको नाममा कोइराला एण्ड सिटौला कम्पनिकै बर्चस्वमा रह्यो । जन युद्ध कालमा मारिएका, अपांग भएका घर जग्गा लुटिएका, लाखौ कार्यकर्ता र शुभ चिन्तकहरुलाई बेवास्ता गर्दै सत्ता केन्द्रित राजनीतिमा मात्र सिमित भए । आज कर्मठ कार्यकर्ता गाउँ र देशबाट पलायन हुनु परेको छ । उनीहरुको कब्जा सम्पति फिर्ता गर्ने उनीहरुको सुरक्षा गर्ने बिषयमा कांग्रेसको ध्यान केन्द्रित हुन् सकेन । उनीहरुको जफत भएको सम्पति फिर्ता गराउन प्रशासन र प्रहरीलाई दबाब दिन सकेन । सत्तामा पुगेका नेतृत्व कर्ता व्यक्तिगत उपलब्धि मुलक कार्यमा मात्र सोच ग्रस्त भएका छन् । जसले गर्दा कार्यकर्ता र शुभ चिन्तकहरुमा नेतृत्वप्रति अबिस्वास र बिचलन बढेको छ । पछिल्लो घटनाक्रममा बंगलादेशी नागरिक रुबेल चौधरी जसले नेपालमा अबैध क्रिया कलाप गरि अर्बौ नोक्सान गराई रहेको छ । ऊसित सम्बन्धित एउटा सामान्य मानबीय कमजोरीको उपज घटनाप्रकरणलाई पारिवारिक आसक्तिमा ग्रस्त भएर ध्रितराष्ट्र झैँ नब निर्बाचित कांग्रेस सभापति श्री शुसिल कोइरालाजीले आवेगमा आएर सिंगो पार्टीलाई समेत मुछी बदनाम र लज्जित बनाइ दिनु भएको छ । नेपाली कांग्रेसले यस्तो रुप आफ्ना हज्जारौ कार्य कर्ता मर्दा, अपांग हुँदा, लुटिदा कहिल्यै देखाएको थिएन ।

यो प्रकरणले शुसिल कोइरालाजीको परिवारबादप्रतिको अन्धो आसक्ति छर्लंग भएको छ । र वहाँ अफ्नो दल र रास्ट्रप्रतिको जिम्मेवारी समेत सोच्न असक्षम देखिनु भएको छ । वहाँमा सुझ बुझ र धैर्यताको अभाब देखियो । हात्ती आयो हात्ती आयो …फुस्सा ..भनेझै रुबेल चौधारीले आफ्नो बयान फेरेर २४ घण्टा नबित्दै शुसिल कोइराला लगायत सिंगो पार्टीलाई मूर्ख बनाइ दिए । के उपलब्धि भयो त सिंगो पार्टीलाई मुछेर बितण्डा मच्चाउने बिज्ञप्ति निकालेर?

आजको अवस्थामा सामान्य रुपमा कुनै पनि घटना वा प्रकरणको सूचना संचार माध्यमबाट नै आउने गर्छन । त्यसैले आज विकिलिक्सको चर्चा र हङ्गामा छ । रुबेल चौधरी प्रकरणपस्चात देशका प्रमुख पत्र पत्रिकामा लेखिएका रुबेल चौधरी सम्बन्धित काण्डहरुका विवरण नेतृ सुजाता कोइरालाको संलग्नता र संरक्षणको प्रसंगलाई सम्बोधन गर्न नसक्नु पार्टी सभापतिको अर्को महा नालायकीपन स्पस्ट देखिएको छ । अधिनायकबादी भनिएको माओबादी पार्टीले समेत पत्र पत्रिकामा आएका बिषयलाई अनुसन्धान गरि सम्बोधन गर्ने गरेका छन् । दोषी पाइएकोलाई पार्टीबाट निस्कासन वा निलम्बन गर्ने गरेका छन् । एउटा प्रजातान्त्रिक इतिहास बोकेको राजनैतिक पार्टीलाई संकटमा पुर्याउने यो प्रकरणमा सत्य तथ्य पत्ता नलागुन्जेल सुजाता कोइराला अनि कृष्ण प्रसाद सिटौला प्रवृतिलाई निलम्बन गर्न नसक्ने हो भने वा पत्र पत्रिकामा आएका प्रकाशित भएका प्रसंग झूठो हो भने ती पत्रिकाहरुमाथि मान हानिको मुद्धा किन हालिदैन ? दुइमा एक कार्य गर्न सभापति चुक्नु भयो भने कोइराला एण्ड सिटौला कम्पनि त गए गए नेपाली कांग्रेस पनि इतिहासको पानामा सीमित हुने छ । अब इतिहासको संख फुकेर खाने दिन गए भन्ने कुरो २४० बर्षे राजतन्त्र आफ्नै हातले बिस्थापित गराउने कांग्रेस नेतृत्वले बुझ्नु जरुरि छ ।

बिगतबाट शिक्षा र वर्तमानको चिरफारबाट मात्र भबिस्यको सुनिस्चित बाटो कोर्न सकिन्छ । नेपाली कांग्रेसको नेतृत्वले यस्ता गहन कुरामा संबेदनसिल हुँदैन भने उसको भबिस्य छैन । जनताहरु आवाज उठाउन थालेका छन् ‘रुबेल चौधरीसंगै उठेको नेतृ सुजाता कोइराला र कृष्ण प्रसाद सिटौलासम्बन्धि अबैध धन्दाका प्रसंगलाई कांग्रेस सभापतिले सम्बोधन गरि पार्टी बचाउने प्रयन्त न गरे यस्तो लोक तन्त्र, गणतन्त्रभन्दा प्रचण्ड तन्त्र वा सक्रिय राजतन्त्र नै ठीक भन्नेहरुको भिड ठूलो बन्दै जानेछ । स्मरण रहोस तत्कालिन शक्तिसाली राजदरबारले समेत जनताको ठूलो आवाज उठन थालेपछी २०४३/४४ सालमा तत्कालिन अधिराज कुमार धिरेन्द्र समेतले देश छोड्नु पर्नेअबस्था आउने गरी भ्रस्ट माफिया लगायत बहालवाला जर्नेल र पुर्ब प्रहरी प्रमुख समेतलाई कार्यबाही गरेको थियो । के अब नेपाली कांग्रेस सुजाता र सिटौलाको सति जाने? जन आधार र जन आवाजलाई बेवास्ता गर्ने दल वा व्यक्तित्वको भबिस्य हुदैन भन्ने कुरो कांग्रेस नेतृत्व ले बुझ्न ढिला भै सकेको छ ।

नेपाली कांग्रेसभित्र पुरानो विवाद कायम नै छ । पूर्ब सभापति स्व. गिरिजा प्रसाद कोइरालसित महन्थ ठाकुरहरुले गुनासो गर्दा पार्टी छोडेर गए हुन्छ मलाई केही फरक पर्दैन भनि हप्काए झैँ बर्तमान शुसिल कोइराला पनि देउवा पक्षलाई पहिले पनि छोडेर गएकै हौ क्यारे अब पनि गए हुन्छ ….भन्ने जस्ता अहंकारी र निरंकुस सैली देखाउदै हुनु हुन्छ । के कोइराला एण्ड सिटौला कम्पनिले मात्र कांग्रेसको अस्तित्व थेग्न सक्ला त ?लाखौ कार्यकर्ता र शुभ चिन्तकको संघर्ष त्याग र बलिदानबाट स्थापित नेपाली कांग्रेस आज नितान्त पारिवारिक घेरा र सत्ता लिप्सामा अल्झिएको छ । यो प्रवृतिबाट मुक्त गर्न बर्तमान सभापति शुसिल कोइरालाजी सक्षम हुने आशा रुबेल प्रकरणले मारी दिएको छ । त्यसमा पनि अत्यधिक मत प्राप्त गर्ने लोकप्रिय नेताको अबमुल्यन गर्दै कसैको दबाबको बहाना बनाएर कांग्रेस पार्टीलाई नै संकटमा, विवादमा परि राखेका बिबादस्पद व्यक्तिहरुलाई च्यापेर पार्टीको अग्र पंक्तिमा राख्न खोज्ने सभापतिको अदुरदर्शिताको शिकार सिंगो नेपाली कांग्रेस बन्ने भएको छ ।

अब नेपाली कांग्रेसलाई बचाउने हो र पुनः जन आधार लिएर अस्तित्व कायम राख्न चाहने हो भने ‘कोइरल एण्ड सिटौला ‘कम्पनि प्रवृतिलाई उन्मुलन गर्नु पर्छ र यसको लागि युवा शक्ति बिद्रोह गरेरै भए पनि अगाडी आएर नेपाली कांग्रेसको अस्तित्व र छबीलाई बचाउने काम गर्नु अनिबार्य छ । अन्यथा ‘कोइराल एण्ड सिटौला कम्पनि’संगै नेपाली कांग्रेस पार्टी इतिहासमा सिमित रहने छ ।

No comments:

Post a Comment