Friday, September 3, 2010

देशको मुहार फेर्ने कुरा कहिले गर्ने त नेताज्यू?

By रामकुमार श्रेष्ठ
देशबाट राणा शासन गयो र पञ्चायत आयो, पञ्चायत गयो र बहुदल आयो र बहुदलको पछिल्लो समयमा आएर बढो नाटकीय तवरले देशमा पुन: पञ्चायतको भूत सवार गराएर बहुदललाई रत्नपार्कमा बदाम छोडाएर खाँदै रुनु न हाँस्नु अवस्थामा थला पारियो । बहुदल कालका मन्त्री भैसकेकाहरु बदाम साहुका ग्राहक बने आफूहरुले आयोजना गरेका कार्यक्रममा सहभागीहरुको न्यूनताको कारण । रत्नपार्कको वरिपरि हिडनेहरु न त बदाम साहुका नयाँ ग्राहककहाँ जान सक्थे न त पञ्चायतको भूतकहाँ । बटुवाहरु दुबैतिर हेर्थे र रहस्यमय तर अथाह पीडायुक्त हाँसो खिसिक्क हाँस्थे । अनायास राजसी पाराले जीवन यापन गर्ने अवस्थामा पुगिसकेकाहरु कति बदाम ग्राहक बन्दै ढुंगा हान्ने र सिठ्ठी बजाउने अभ्यास गर्दै बसुन ? त्यसैले आफैले जंगल पठाइएकाहरुसंग हातेमालो गर्ने वातावरण तयार भयो र सोही हातेमालोका कारण रत्नपार्कमा बदाम खाने दिनको अन्त्य भै गुमेका कुर्सी प्राप्त भयो । संबिधान सभाको चुनाव भयो र बिकसित घटनाक्रमका कारण मुटुमाथि ढुङ्गा राख्दै लरबरिदै लरबरिदै गणतन्त्र बिरोधीहरु समेत गणतन्त्रबादी भए । अपत्यारिलो चुनाव परिणामका कारण संबिधान निर्माणको उद्धेस्यले संपन्न चुनावको उद्धेस्यलाई बिर्सेंर म्युजिकल चेयर खेलमा अभ्यस्त भएकाहरु अन्तरिम संबिधानमा भएको सहमतीयलाई बहुमतीय प्रणालीमा परिवर्तन नगरी डेग नचल्ने भएपछि संबिधान निर्माणमा भन्दा पुन: म्युजिकल चेयरकै खेल शुरु गर्ने वातावरण बनाएका कारण नै त्यसपछिका सबै द्रिश्य परिद्रिश्य खलनायकका रुपमा देखिएका हुन । यदि अन्तरिम संबिधानमा सो परिवर्तन नगरिदो हो त न त रक्षा मन्त्रालयको निहुमा नेपाली कांग्रेस प्रतिपक्षमा बस्थ्यो न त कटुवाल प्रकरण नै जन्मन्थ्यो । नत्र दरबार जोगाउन आँट नगरी लत्रिएको कटुवाल त्यस्तरी तंग्रिने आधार के त ? पुन: ब्युतिएको यही म्युजिकल चेयर खेलका कारण देशले नयाँ गति लिनुभन्दा झन पुन: कहालीलाग्दो समस्याको सामना गर्ने हो कि भन्ने त्रासले सबै चिन्तित भए भने जनता अब केको लागि तयार हुने भनी असमन्जसमा पर्न थाले । संक्रमण कालमा अनपेक्षित समस्याहरु देखा पर्नु स्वाभाबिक भए तापनि जे जस्ता नदेखिनु पर्ने समस्या देशले भोग्दै छ यो भने नेताहरुमा ब्याप्त स्वार्थ लम्पट भावनाको परिणाम हो ।


आसन र भाषणका पारखी हाम्रा नेताहरुको भाषण सुन्दा नेपाल छँदा हेरेको एउटा हिन्दी टेली सेरियल चन्द्राकान्ताको एउटा पात्र याक्कुलाई बारंबार संझन पुग्छु । याक्कु बारंबार जे जे मन लाग्छ त्यही त्यही फतफताउँछ अर्थहीन तवरले र कसैले एक थप्पड दिएपछि मात्र ठेगानमा आउँछ र सामान्य कुरा गर्न थाल्छ । हाम्रा नेताहरुको भाषणहरु एकार्कालाई चोर औंला ठड्याउन र धारे हात लगाउँदै जनतामा नैरास्यता ल्याउने किसिमले आबस्यकभन्दा अनाबस्यक कुरा फतफताउनमा नै ब्यस्त देखिन्छन जतिखेर पनि । आफ्नो आङमा भैसी हिंडेको नदेख्ने अरुको आङमा जुम्रा हिंडेको देख्ने किसिमका उनीहरुको शब्द प्रवाह देख्दा लाग्छ देशले जे जस्ता समस्याहरु सामना गरेको छ त्यस्मा उनीहरु पटक्कै जिम्मेवार छैनन । एकार्कामा पतन हुने, धुलो चाट्ने, दाल गले नगलेको देखिने, शान्ति प्रकृया भाँडने, केही गर्न नसक्ने जस्ता आरोपहरु लगाएर आफूद्धारा पालिएकाहरुको ताली र स्तुति गानका भरमा जुँगामा ताउ लगाउँदै गच्चक्क परेको देख्दा टीठ लागेर आउँछ । सोंच्छु टीठ लाग्दा यी नेताहरुले भाषण गरेको दिन आफ्नो रुमाल दुई पटक भिजाउँदा हुन – पहिलो पटक भाषण गर्दा जनतालाई ढाँट्दै उल्लु बनाउन गरेको परिश्रमका कारण आएको पसीना पुच्छन र दोश्रो पटक कोठामा पुगेर एक्लै भएको बेलामा दिनभरी जानाजान जनतालाई उल्लु बनाउन झूटको खेती गर्ने किसिमका अपराधका कारण यदि स्वर्ग र नर्क साँच्चै भएको खण्डमा सीधै नर्क जानुको बिकल्प नभएको संझेर त्यहाँ पाइने कठीनभन्दा कठीन सजायँलाई संझेर आएको आँशु र पसीना पुच्छन । याक्कुलाई त एक थप्पड दिएपछि सामान्य कुरा गर्न थाल्थ्यो , तर हाम्रा नेताहरु त जनताले रन्थनिनु पर्ने बनाउँदा पनि झन झन छोइनसक्नु भएको देख्दा त फिल्महरुमा मरणासन्न अवस्थामा पुगेका नायकहरु रन्थनिंदै उठेर बबाल मच्चाएको नसम्झी धरै नपाईने भयो, तर आनका तान फरक भने पर्ने भयो प्रकृतिमा । फिल्ममा त त्यसरी आएपछि नायकले अन्याय, अत्याचार, भ्रस्टाचार, नाताबाद, कृपाबाद आदिका बिरुद्ध केही न केही गर्छ, तर हाम्रा नेताहरु अब त झन के हो के हो भन्दै मौकामा चौका हान्ने मनस्थितिमा ब्यस्त भएका देखिन्छन र आफ्ना पुराना आचार र विचारमा रत्तिभर सुधार ल्याउने छँटकाँट नै देखाउँदैनन। जता जान्छन सलह झैं जान्छन जानै नपरे पनि राष्ट्रिय संपत्ति आफ्नै बिर्ता जस्तो गरी संपन्न बाबुको आबरा छोरा छोरीले झै नि:संकोच फजुल खर्च गर्न रत्तिभर नहिचकिचाइ, त्यति गरेर पनि न त यसो चित्त बुझाउने कुनै उपलब्धि नै हात पार्छन न त गल्ती गरेको नै स्वीकार्छन । खर्च राज्यको ढिकुटीबाट नभै अरुको सहयोगबाट भएको भन्छन प्रश्न गरिंदा, तर अरुले दिने सहयोग भनेको नेपालले पाउने सहयोग राशिमा नै पर्ने भएकोले त्यो पनि राज्यकै ढिकुटीकै जस्तै हो भन्ने हेक्का समेत हुँदैन उनीहरुलाई अनि नाताबादको आरोपबाट बच्न नियम मिच्दै भाई भारदार नियुक्त गर्दा थर नै परिवर्तन गराउँदा पनि हुटिट्याउँले बगरमा टाउको लुकाएको जस्तै हुन्छ भन्ने बुझ्न पनि सक्तैनन ।

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं देशको आबस्यक्ता एकातिर छ, पार्टी र नेताहरु भने ठीक बिपरीत दिशातिर कुदिरहेका देखिन्छन मानौं आफ्नो अधिकार र कर्तब्य के हो, देशको तात्कालिन आवश्यकता र प्राथमिकता के हो भन्ने विषयमा रत्तिभर ज्ञानै छैन । मन्त्रिपरिषदबाट गरिने निर्णय सामान्यत राष्ट्रिय महत्वको बिषयबस्तु हुने गर्छ र हुनु पर्छ पनि, तर हाम्रो देशको मन्त्रिपरिषदले ठूलो अभियोग लगाइएको ब्यक्ति बिरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी गराउने किसिमले लिएर जानुलाई कत्ति ठूलो महत्व दिन्छ अनि त्यो वाताबरण तयार गर्न पार्टिहरुले जे जसरी उच्च प्राथमिकता दिएर काम फत्ते गर्न नसक्नु भनेको त पार्टीकै अस्तित्व समाप्त हुनु समान हो जस्तो रुपमा लिएको समेत देखियो । अनि कहिले आफ्नो प्रस्ताब स्वीकृत हुने वाताबरण तय नहुँदासम्म मन्त्रीपरिषदको बैठकमा नै उपस्थित नहुने जस्ता प्रब्रित्ति देखाएर गट्टा खेल्ने स्तरको सोंचलाई समेत छताछुल्ल पारेको छ । जीवन जल नपाएर छटपटिएको जनताको समस्यालाई बेवास्ता गर्दै दशैं पेस्की, औषधोपचार खर्च लिने , बिदेश यात्राको बील बढाउने, कार्यकर्ता पाल्न जथाभाबी राज्यको ढिकुटी खर्च गर्ने, कर्मचारी पिटदै र गाडीको सिशा फोडदै हिडने , रक्सी पिउन नपाउँदा पदीय मर्यादा नै समाप्त भएको ठानी अरुको सात्तो लिने जस्ता कार्यहरु गरेर गाइजात्रा हेर्न बर्ष दिन नै पर्खनु पर्ने मानसिकताबाट नेपाली जनता मुक्त हुने वाताबरण सिर्जना गरिदिएका छन ।

एउटा भनाइ छ “जुँगा चल्यो, कुरा बुझियो” । अब त नेपाल र नेपालीले नेताहरुबाट आशा गर्ने आधार केही बाँकी राखे जस्तो नै लाग्दैन र अझै पनि सतीको श्राप परेको देश भन्दै चित्त बुझाउन वाध्य बनाइदिएका छन । नानीदेखिको बानी कहिल्यै छाडेनन नेताहरुले, एउटा परिपक्क र जिम्मेवार ब्यक्तिको रुपमा कहिल्यै प्रस्तुत हुन सकेनन । देश र जनताबारे कहिल्यै वास्तबिक चिन्ता लिन नसक्नेले तदनुरुपका काम कुरा गर्न नसक्नु अस्वाभाबिक होइन पनि । अत: आफूलाई पानी माथिको ओभानो देखाउन अरुमाथि औंला ठड्याउनु र धारे हात लगाउनु पनि स्वाभाबिकै हो । त्यसैले त भनिन्छ नि नाच्न जान्दैन आँगन टेढो । स्पस्ट रुपमा राजनीतिलाई सर्बोत्तम ब्यापार बनाउने राजनीतिज्ञको रुपमा देखिनु भएका तपाईं ब्यापारीहरुलाई केही असर नपारे तापनि एउटा नागरिकीय भूमिका निर्बाह गर्दै छु एउटा प्रश्न सोधेर: “देशको मुहार फेर्ने कुरा कहिले गर्ने त नेताज्यू?” किनकि आधारभूत सामान्यभन्दा सामान्य कुराहरुलाई प्राथमिकता दिंदै ठूला ठूला काम गर्नेहरुको संगतका कारण ठूला ठूला कुरा गरेर सिन्को नभाँच्ने तपाईंहरु समक्ष सामान्य देखिने यो प्रश्न सोधेको हुँ । प्लेन, नदी, रातो पासपोर्ट, सुत्केरी भत्ता जे पनि खान सक्षम तपाईंहरुलाई यस्तो नाथे प्रश्न आछ्यूँ खाएँ बाछ्यूँ खाएँ झुसे बारुलो लाग्न सक्ला, तर देशको मुहार फेर्ने काम कुरो कहिल्यै नगर्ने तपाईंहरुलाई यस्तै सामान्य कुराबाट शुरु नगरे ख र च न प ठ ल त भक भक मरल जस्तै होला भन्ने डरका कारण पनि यो प्रश्नबाट शुरु गरेको हुँ । हुन त नेपाल र नेपालीको लागि त यो प्रश्न जीवन मरणसंग सम्बन्धित प्रश्न हो भलै तपाईंहरूको लागि सामान्य होला, तर पनि पहिला त यस्मा नै प्रतिबद्धता त जाहेर गर्नुस अनि त्यसपछिका कुराहरु त छदैं छन । यमराज थाहै नदिइ जुनसुकै बेला पनि आउन सक्ने भएकोले मृत्‍यु बरण गर्नु अघि यो प्रश्नको प्रतिबद्धता सहित जबाफ त दिनुहोस । नत्र मैले जस्तै तपाईंले पनि सुन्नु भएकै होला भक भक उम्लेको तेलमाथि पौडी खेल्न पर्ने अथवा धारिलो तरवारमाथि हिडनु पर्ने कुराहरु । अथवा त्यहाँसम्म नपुग्दा पनि त रत्नपार्कमा बदाम ग्राहक बनेको कुरा त भोग्नु भएकै हो अलिक पहिलाको चप्पल छापसम्म नपुग्दा पनि, कुर्सी हात पर्नु अघि माघ १९ पछि पुलिसको घोक्रे ठ्याक पनि खानु भएकै हो । अहिले कटुवाल र त्यस्तै अन्यलाई तंग्र्याउने काम गर्नु भएकै छ । फेरि त्यो दिन नआउला भन्न सकिएला र ? त्यसैले जनताको साथ पाएर सुरक्षित नै हुन मन छ भने अलिक ध्यान दिएर सुन्नुस, पुन: त्यही प्रश्न दोहोर्याउँदै छु : “देशको मुहार फेर्ने कुरा कहिले गर्ने त नेताज्यू?”
Published links:

No comments:

Post a Comment