Friday, September 3, 2010

विकासमा मानवीय प्रबृत्तिको भूमिका

*रामकुमार श्रेष्ठ
विकास संपूर्ण मानव जातिकै चाहना र आवस्यकता भएर पनि चाहनानुरुप यसलाई प्राप्त गर्न भने सकिरहेका छैनन् । हरेक कुराको सकारात्मक र नकारात्मक असरको संभावनाको प्राकृतिक नियमबाट विकासलाई अलग राख्न त सकिन्न नै झन त्यसमाथि कहिलेकांही केही निश्चित ठूला विकास कार्य सन्चालन गर्दा तिनीहरुवाट पर्ने दूरगामी प्रतिकूल वातावरणीय असरहरुको न्यूनिकरणतर्फ त्यति ध्यान नदिइ अवलम्बन गरिनु पर्ने कतिपय नीतिहरु व्याबहारिक रुपमा अवलम्बन नगरिनुले निम्त्याइने विकराल नकारात्मक असरको कारण यदाकदा विकासलाई विनाशको पर्यायवाचीको रुपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । विषयवस्तुको प्रकृति अनुसार कहिलेकांही विकासलाई सामान्यत जे जस्तो रुपमा वुझिने गरिन्छ त्योभन्दा भिन्न अर्थमा समेत प्रयोग गरेको पाइन्छ र पनि अधिकांश प्रायःले सामान्यत यसलाई भौतिक समुन्नतिको प्रतिकको रुपमा वुझ्ने गरेका छन् र त्यही भौतिक समुन्नति प्राप्तीमा विश्वका अधिकांश देश जुन तवरबाट चुकिरहेका छन् तिनका केही आधारभूत कारणहरु सूत्रबद्ध गर्न प्रयाश गरिनेछ यस पंक्तिमा । र यो प्रयाश केही हदसम्म आधारित छ विश्वका बिभिन्न देशको भ्रमणका क्रममा प्राप्त ब्याबहारिक अनुभबहरु र विकसित तथा अविकसित देशका जनताहरुमा प्राप्त फरक फरक प्रबृति र संस्कारहरुको अध्ययनको आधारमा ।

प्राप्त गरिनु पर्ने विकासको स्वरुप र त्यस्को लागि अवलम्बन गरिने नीतिहरु देश तथा समाजको आर्थिक सामाजिक सांस्कृतिक एवं राजनीतिक अवस्थाहरुमा निर्भर गर्दछ । विश्वका अधिकांश प्रायः देशले अद्यापि जनताका नैसर्गिक आवस्यकताहरु गाँस, वास र कपास परिपूर्तिमा नै आफ्ना विकासका संपूर्णप्रायः नीति एवं लक्षहरु परिलक्षित गर्न परिरहेछ भने विकसित देशका नागरिकहरुको आधारभूत आवस्यकता अन्तर्गत गाडी कम्प्यूटर फ्रिज जस्ता कुराहरुको अतिरिक्त नागरिकले दैनिक रुपमा उपभोग गर्न पाउनु पर्ने शिक्षा स्वास्थ्य यातायात आदि जस्ता सुविधाहरु नियमित, सर्वसुलभ, सुविधाजनक एवं अत्याधुनिक हुनु पर्दछ । अविकसित देशमा वेरोजगारीको समस्याले दैनिक रोजीरोटीको समस्याको सामना भुक्तभोगीले नै गर्नु पर्ने भएकाले यो विशेषतः नागरिकीय समस्या बन्नु स्वाभाविकै हो भने विकसित देशमा वेरोजगारलाई भत्ता दिनु पर्ने र उपलब्ध जनशक्ति निस्क्रिय रहनाले अनुत्पादक गतिविधि वढी त्यसवाट पर्ने संभावित सामाजिक विकृतिको बढ्दो संभावनाका दूरगामी असरका कारण विकास प्रकृयामा पर्ने नकारात्मक असर समयमै न्यूनिकरण गर्नु पर्ने जस्ता कारणहरुले गर्दा वेरोजगार समस्या समाधानमा सरकार बढी सजग र सतर्क रहेको पाइन्छ । यसरी विभिन्न कारणवश समस्यालाई हेर्ने फरक दृष्टिकोणले निश्चित रुपमा समाधानका खातिर अवलम्वन गरिने नीतिलाई प्रभावित गर्ने स्पष्ट छ । अनि अर्कोतिर दीर्घकालीन विकास नीति अन्तर्गत पृथ्वीको तुलनामा गुरुत्वाकर्षण शक्ति छः गुणा कम भएको कारण आर्थिक मितव्ययितालाई मध्यनजर गर्दै चन्द्रमालाई आधार शिविर बनाइ त्यहाँबाट मंगल ग्रहमा अन्तरिक्ष यानहरु प्रक्षेपण गर्ने अमेरिकी योजनाको उल्लेख पनि यस सन्दर्भमा रोचक र सान्दर्भिक नै ठहर्दछ विकासमा अवलम्वन गरिएको नीति भएकै कारण । अतः सवैको आवस्यकता मात्र नभएर चाहना समेत भएको विकास प्राप्तीमा विश्वमा विद्यमान अथाह विभिधताका कारणहरु के हुन सक्लान् त प्रयाश गरौं यही प्रश्नको जवाफ खोज्न यी फरक देशहरुमा पाइने मानवीय श्रोत परिचालनमा पाइने फरक मानवीय प्रबृत्तिहरुलाई आधार मानेर ।

वर्तमान समाज व्यवस्थामा राजनीतिज्ञहरु नै देशमा प्रभावशाली र शक्तिशाली हुने भएका कारण उनीहरुको हरेक सोंच र कृयाकलापले देशमा हरेक कृयाकलापलाई प्रभावित तुल्याउँछ र तदनुरुप नै देशले निश्चित दिशाबोध गर्दछ पनि । देशको हर क्षेत्रको लागि बिद्यमान सामाजिक संरचनाका कारण राजनीतिज्ञहरु पथ प्रदर्शकका रुपमा मानिनु पर्ने बाध्यताका कारण यो पंक्ति बढी मात्रामा केन्द्रित हुनेछ राजनीतिज्ञहरुतर्फ नै ।
राष्ट्रिय संपतिबारेको महत्वबोध: देशमा प्राप्त हरेक कुरालाई राष्ट्रको संपत्ति ठानी राष्ट्र निर्माणका खातिर परिलक्षित गर्ने संस्कारको विकास सीमित साधन र श्रोतको समुचित सदुपयोग गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रबर्धन कार्यमा सहायकसिद्ध हुने भएकोले देश विकासका दृष्टिकोणले अति महत्वपूर्ण ठहर्दछ । उदाहरणार्थ कुनै बस अथवा ट्रेनको सीट च्यातिएको भेटिएमा राष्ट्रिय संपत्तिको क्षति भएको ठानी आफैले सीट सिउने प्रवृतिले प्रवृत्त जापानीहरुको अनुकरणीय कुराको भेउ आफैले पाएसम्म आयातीत तथा आफ्नै देशमा निर्मित सामानहरुको क्षय गर्न आनन्दानुभूति गर्ने गरीब देशका नागरिकहरुले पाउन कठीन देखिन्छ । जापानीहरुको उक्त भावनाका कारण सीमित साधन र श्रोतका बाबजूद पनि दोश्रो विश्वयुद्धमा ध्वस्त भएको जापान विश्वकै समृद्ध राष्ट्रको रुपमा देखा पर्न समर्थ भएको छ आजको विश्वमा । व्यक्तिगत रुपमा अरुको ठानेर खेलबाड गर्दा रमाउने प्रवृत्ति भएकाहरुले आफ्नै देशमा भएको कारण हरेक व्यक्तिगत संपत्ति राष्ट्रिय संपत्ति पनि हुन्छ भन्ने दृष्टिकोण विकास गर्न सकेको खण्डमा त्यही वस्तु पुनः आयात गर्नु पर्दा देशको संचित विदेशी मुद्रा अनावस्यक तवरले खर्चन परेको वस्तुस्थिति र त्यसबाट पर्ने अन्य असरहरुलाई महसूस गर्न सक्नेछन् ।
संस्थागत सुव्यवस्थाको अभावको जरोको पहिचान: कुनै पनि देशमा निर्मित नियम कानून र नीति नियम सिद्धान्ततः नराम्रो भन्न मिल्ने किसिमले विरलै मात्र पाइन्छन् । मूल कुरा तिनीहरुको व्यावहारिक एवं कार्यान्वयन पक्ष हो । यसरी भ्रष्टाचार एवं कानून विरोधी कृयाकलाप कानून सम्मत सीधै स्वीकार्ने नीति कुनै पनि मुलुकमा नभए तापनि कतिपय कारणबश ब्यबहारमा भने तुलनात्मक रुपमा गरीव देशमा यस किसिमका कृयाकलापहरुलाई स्वीकारिनु पर्ने वाध्यता धेरै गुणा बढी भएको पाइन्छ । विकसित देशमा नागरिकको सानो शिकायतको परिणाम ठूलो हुन सक्ने तथा त्यस्ले संबन्धित व्यक्तिको सेवामा नै प्रश्न चिन्ह समेत उठाउन सक्ने मात्र नभएर गल्ती प्रमाणित भएमा परिस्थिति अनुसार ठूलो क्षतिपूर्ति समेत व्यहोर्नु पर्ने अनि समयको महत्व अति ठूलो हुने भएकोले सानातिना भ्रष्टाचार एवं झमेला अस्तित्वबान हुन सक्ने संभावना विरलै पाइन्छ भने नागरिकले हरेक ठाउँमा शिष्ट व्यवहारका साथ सेवा पाउँछन् । तर गरीव देशमा यत्रतत्र व्यक्ति व्यक्तिले कानून हातमा लिने परिपाटीले सर्वसाधारणले जहींतहीं जस्तोसुकै कामको लागि पनि झमेला व्यहोर्नु पर्ने र मेवा नचढाइ सेवा प्राप्त गर्न नसक्ने भएवाट सानो कामको लागि पनि आवस्यकताभन्दा धेरै समय झमेला व्यहोर्न र पैसाको दुरुपयोग गर्न पर्ने परिस्थितिका अतिरिक्त मानवीय व्यवहार पाउन नसकेबाट अधिकांश नागरिकले नारकीय जीवन भोग्न विवश भैरहेका छन् । यी ठीक विपरीत प्रकृतिका फरकपनाले देश विकास प्रयाशलाई निःसन्देह प्रभाव पार्नुका अतिरिक्त निश्चित राष्ट्रिय पहिचान कायम गर्दछ र यस्का कारक तत्व हुन् यी फरक समूहका देशमा विद्यमान प्रशासनिक संयन्त्रभित्र भएका संपूर्ण किसिमका संस्थागत व्यावहारिक परिपाटी र त्यस्ले ल्याएका आर्थिक, सामाजिक परिवर्तनहरु । त सुव्यवस्था संस्थागत गर्नमा गरीब देशहरुलाई बाधा पार्ने कारण के हुन सक्लान् त ?

सवै गरीब देशको एउटा महारोग के हो भने आफू कुर्सीमा नहुंदा अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचार, नातावाद, कृपावाद, फरियावाद आदिको विरोध गरेर नथाक्ने नेताहरु आफू कुर्सीमा पुगेपछि त्यसैमा चुर्लुम्म डुब्ने परिपाटी । जवसम्म नेताहरु आफै उदाहरण बनेर देखाउन सक्तैनन् तवसम्म देशमा सुव्यवस्था व्यवस्थित र संस्थागत हुन सक्ने संभावना कदापि रहन सक्तैन । सो संभावनाले जिबन्तता पाउनको लागि या त पार्टी शक्तिशाली हुनु पर्दछ ता कि सरकारमा रहनेलाई नीति वाहिर जाने वित्तिकै सख्त कार्यवाही गर्न सकोस् अथवा जनताले आफूलाई पार्टीको अन्धभक्त नबनाएर आफू आफूलाई विभाजित नगरी नेताको अलिकति पनि तल वितललाई निःस्वार्थ रुपमा ठाडै चुनौति दिन सकोस् । तर अफसोंच राष्ट्रिय स्वार्थभन्दा पार्टीगत र ब्यक्तिगत स्वार्थमा नै चुर्लुम्म डुब्ने पार्टीका शक्तिशाली व्यक्तिहरु नै प्रायशः सरकारमा जाने मात्र नभएर कहिलेकांही त पार्टी प्रमुख र सरकार प्रमुख समेत आफै हुने प्रवृत्तिले प्रबित्त राजनीतिज्ञहरुकै बोलाबाला हुँदासम्म संस्थागत सुब्यबस्थाको अपेक्षा कसरी गर्न सकिएला र ?

संपूर्ण प्रशासनिक संयन्त्रहरु नेताहरुको कृयाकलापहरुबाट नचाहेरै पनि कुनै न कुनै रुपमा प्रभावित भैरहेको हुन्छ । व्याबहारिक रुपमा नियाल्दा त्यस किसिमको प्रभाव प्रायशः अविकसित देशमा मूलतः राजनैतिक स्वार्थका कारण प्रयोगमा ल्याइने साधन र श्रोतबाट विकास कार्यमा जे जति उपलव्धी हासिल हुनु पर्ने त्यस्को तुलनामा अति न्यून उपलव्धी हासिल हुनेतर्फ नै केन्द्रित भएको पाइन्छ । उदाहरणार्थ अधिकांश देशमा निश्चित विभाग तथा कार्यालयहरु छन् जहां जान कर्मचारीहरु लालायित हुन्छन् हैसियतले कमाउन नसकिने अथाह संपत्ति सहजै त्यहां कमाउन सकिने भएको कारण । तर त्याहां त्यस्ता कर्मचारीहरु जान सक्तछन् जस्को विशेष पहुँच छ अथवा त्याहासम्म कुनै न कुनै रुपमा अदृश्य समझदारी कायम गर्न सक्तछन् । त्यस्ता कार्यालयमा काम गर्ने सामान्य कर्मचारीको अदृश्य आम्दानी अन्य कार्यालयमा काम गर्ने धेरै माथिल्लो स्तरको कर्मचारीको भन्दा धेरै गुणा बढी हुने यथार्थता सहजै महसूस गर्न सकिन्छ उनीहरले गर्ने गरेका थोरै समयमा धेरै आर्थिक सम्पन्नता एवं हैसियतको तुलनामा दैनिक जीवनमा देखिने अति असामान्य जीवनस्तर प्रदर्शनका आधारमा । धेरै ठाउँमा भ्रष्टाचार गरेर कार्यवाहीमा परेको व्यक्ति सम्बन्धित पार्टीहरुको भातृ संगठनहरुमा सक्रिय भएर लागेको कारण पार्टीकै छविमाथि प्रश्नचिन्ह लाग्ने प्रसंग उठाएर अथवा अन्य कतिपय कारण दर्शाएर निर्दोष सावित पार्टीकौ केन्द्रिय स्तरका नेताहरुबाट गरिएको प्रमाणहरु समेत प्रशस्त पाइन्छन् ।

यदाकदा देखा पर्ने वाग्ले प्रकरण होस् वा प्रहरी महानिरीक्षक प्रकरण त्यो मात्र भ्रष्टाचार नियन्त्रण तथा सुव्यवस्था संस्थागत गर्नका लागि पर्याप्त छैन भन्ने कुरा त सोपछि पनि सवै ठाउँहरुमा संस्थागत रुपमा चल्दै आइरहेको नियमित भ्रष्टाचार नियन्त्रण हुन नसक्ता नागरिकहरुले झेल्न परेका समस्याहरु तथा सेवा पाउनु पर्ने ठाउंहरुमा सभ्य नागरिकले पाउनु पर्ने सभ्य व्यवहार पाउन नसकिरहेको स्थिति यथावत चलिरहेकाबाट प्रमाणित भैरहेछ । वाग्ले अथवा ती प्रहरी महानिरीक्षकहरु जस्ता अझ धेरै छन् जस्लाई जनता कार्यवाही गरेको हेर्न चाहान्छन् । विद्यमान सामाजिक राजनीतिक संरचनाका कारण नेताहरु संधै प्रभावशाली र शक्तिशाली हुने भएकाले जवसम्म उनीहरुमा निःस्वार्थ भाव प्रकट हुंदैन तवसम्म यो समस्या यथावत् रहने कुरालाई नकार्न यस कारण कठीन पर्ने देखिन्छ कि उनीहरु वास्तविक रुपमै भ्रष्टाचार बिरोधी अभियानमा साच्चै उत्रने हो भने आफ्ना र आफन्तका भित्री सपनाहरु पुरा हुने, कार्यकर्ताहरुलाई पछि लगाउन सकिने र अन्तत्वगत्वा आगामी निर्वाचनमा विजय ध्वजा फहराउने संपूर्ण संभावनाहरु क्षीण रहन्छन् । त्यसैले त अविकसित देशहरुमा जतिसुकै सरकार र व्यवस्था नै फेरिए पनि समस्या समाधान हुनुको अलावा छोटो समयावधिमै तन्नम भगतबाट नयां नयां करोडपति र अरबपति त जन्मन्छन् नै तर देशको समस्या भने झन झन बिकराल बन्दै जाने क्रम बढ्दो छ विचरा जनताका नयाँ नयाँ आशा र सपनाहरुलाई तुषारापात गर्दै ।

कामप्रतिको दृष्टिकोणको संस्कार: विकसित देशमा चाहेर होस् अथवा वाध्यतावश त्यहां विद्यमान सामाजिक परिवेशका कारण सवैले सवै किसिमका काम तदारुकताका साथ गरिरहेका हुन्छन् । श्रम बजारका नवागन्तुक युवाहरुलाई आवस्यक परेका खण्डमा आवस्यक तालिम दिन र उनीहरुको कामको व्यवस्था गरिदिन बिभिन्न संस्थाहरु कार्यरत हुन्छन् । यतिसम्म कि भविष्यमा हुन सक्ने श्रम बजारका संभावनाहरुको पूर्वानुमान गरी कतिपय विकसित देशहरुले अविकसित देशका मानवशक्ति भित्र्याउने रणनीतिका साथ लागिरहेका छन् । त्यहां कामको प्रकृतिले गर्दा कसैसंग हीनतावोध गर्नु पर्ने वातावरण नै छैन – काम गरेको छ अथवा छैन त्यो महत्वपूर्ण हो । किनकि काम गर्नु भनेको राष्ट्र निर्माण कार्यमा सहभागी हुनु हो, समाजप्रतिको उत्तरदायित्वलाई महसूस गर्नु हो र इमान्दार हुनु हो । कुनै पनि संस्थाका जतिसुकै माथिल्लो तहको कर्मचारी समेत समयले साथ दिएको खण्डमा हर किसिमको कामको लागि कार्यतत्परता दर्शाउँछन् ‘समूहगत काम’ (Teamwork) को अबधारणाले ओतप्रोत भएर जुन संस्कार गरीब देशमा असम्भवप्रायः हुन्छ । एकचोटी मन्त्री भएपछि अन्य काम गर्नै नहुने भन्ने हाम्रो देशको संस्कारलाई डा उपेन्द्र देबकोटाले आफ्नो पुरानै पेशामा फर्किएर तोडने उदाहरणीय काम गरेका छन । यही हो देश विकास हुनुको एउटा मत्वपूर्ण सूत्राधार । यस्तो यथार्थताको महत्वलाई महसूस गर्नुको अलावा अबिकसित देशबाट बिकसितमा आउनेहरुमा भने गरेको काम भन्नमा हीनतावोध गरी लुकी लुकी काम गरेर पनि काम गरेको छैन भन्ने, आफूले गर्ने गरेका कामहरुलाई बढाइ चढाइ आँफैले आँफैलाई ठूलो देखाउन खोज्ने जस्ता हास्यास्पद प्रबृत्तिहरु यथेष्ट मात्रामा पाइन्छन् । यो यी फरक देशहरुमा पाइने भिन्न आर्थिक, सामाजिक संस्कारको परिणाम हो । छुट्टै संस्कारबाट आएको कारण आफूमा विद्यमान मानसिकतालाई व्यावहारिक रुपमै परिवर्तन गर्न कठीन पर्नु तथा समय लाग्नु स्वाभाविकै हो तापनि आफूमा विद्यमान मानसिकतालाई परिबर्तन गर्न नसक्ता कतिपयले आफूलाई पछाडि पार्ने मात्र नभएर त्यस्ले त्यहांको वातावरणलाई बिगार्ने काम समेत गरिरहेका हुन्छन् भने कतिपयले आफूलाई ठूलो देखाउन र यथास्थितिलाई लुकाउन गर्ने गरिएका कमी कमजोरीलाई लुकाउन गरिने श्रींखालाबद्ध झूठको खेतिले कत्तिको नैतिक धरातल उठनै नसक्ने गरी खस्किएको पनि पाईन्छ भने कतिपय जनसाधारणबाट टाँढिने गरेको पनि पाईन्छ ।

आफ्नो प्राप्त शिक्षा र अनुभबसंग तालमेल नै नखाने जस्तोसुकै काम पनि गर्न वाध्य हुनु पर्ने अवस्था सामना गर्नु पर्ने हुन सक्तछ अविकसित देशका अधिकांश मानिसहरु विकसित देशमा गएर । किनकि अबिकसित देशबाट प्राप्त शिक्षालाई उनीहरु सहज रुपमा स्वीकार्ने गर्दैनन् विशेष परिस्थितिमा बाहेक र त्याहाको निश्चित परीक्षा दिए अथवा तालिम लिएपश्चात् मात्र आफ्नो पेशागत काम पाउने संभावना कतिपय प्राबिधिकले पाउँछन् । र यस्को लागि अर्को महत्वपूर्ण कुरा कतिपय कारणवस विकसित तथा अविकसित देशमा कार्य प्रणाली एवं कार्य शैली बिल्कुलै फरक हुने भएका कारण अविकसित देशको अनुभवका आधारमा विकसित देशमा उत्तरदायित्व दिइनु उपयुक्त नहुन पनि सक्तछ । सबैलाई सबै देशको सामान्य जानकारी हुने भए तापनि बिशेषतः गरीब देशका मानिसहरुमा आफ्ना देशको तुलनामा त्याहां यत्रतत्र अब्यबस्थित भएको कुरा गर्ने र सामन्ती प्रथाको छापका कारण त्यहाको सन्दर्भमा अप्रासंगिक र अर्थहीन ठूला ठूला कुरा गरी आफ्नो विज्ञापन आफै गर्ने प्रबृत्ति हाबी भएको समेत पाइन्छ । र अझ रमाइलो कुरा त त्यहांको बारेमा जति शिकायत गरे तापनि जस्तोसुकै परिस्थितिमा जतिसुकै तिकडम गरेरै भए पनि त्यहीं बस्न खोजेको पाइन्छ । उनीहरुले के कुरा महसूस गर्न सकिरहेका हुन्नन् भने उनीहरुको यस प्रबृत्ति नै आफ्ना साथी भाईको दृष्टिकोणमा हास्यास्पद बन्ने र त्याहाका बासिन्दाहरुद्धारा हेपिने कारणहरुमध्यकै एउटा महत्वपूर्ण कारण बन्न सक्तछ । तर मानिसहरुको बीचमा पाइने औपचारिक र आत्मीय संबन्धको बीचको बिभेदलाई बुझ्न नसक्नुको कारण बुझ्न सकिरहेका हुन्नन् उनीहरुले यस्को वास्तविकतालाई । जे होस् जसरी उनीहरु विस्तार विस्तार त्याहांको संस्कारमा घुलमिल हुन थाल्दछन् त भृकुटीले जस्तै यी फरक देशहरुमा बिद्यमान विकासको लागि अति महत्वपूर्ण यस किसिमको संस्कृतिलाई आ-आफ्नो देशमा लैजाने संस्कृति संबाहकको भूमिका निर्बाह गरिदिए ढिलै भए पनि त्यस्ले देश बिकास कार्यमा नयां संस्कारको विकासमा भूमिका निर्बाह गर्ने कुरामा सन्देह भने रहन्न नै ।

कर्तब्यमुखी न कि अधिकारमुखी: अबिकसित देशका मानिसहरुलाई अनौठो लाग्ने कुरा के हो भने विकसित देशहरुमा कतिपय मानिस प्राप्त पदोन्नतिलाई स्वीकार्दैनन् । किनकि पदोन्नतिको स्पष्ट अर्थ हो बढी अधिकार बहन गर्नु । अधिकार प्राप्त गर्नु जति महत्वपूर्ण छ त्योभन्दा महत्वको ठानिन्छ गंभीरतापूर्बक जिम्मेवारी पुरा गर्नुलाई । अबिकसित देशमा भने चाकरी, चाप्लुसी, नाताबाद, कृपाबाद जस्ता भए भरका संपूर्ण संयन्त्र प्रयोग गरेर भने पनि बढी अधिकार प्राप्त गर्न प्रयाश गर्ने परिपाटी सामान्य हो । यद्यपि अधिकार त अनेक तिकडम गरेर लिन्छन् नै तर कर्तब्य पालनतर्फ भने खासै संबेदनशील भएको पाइन्न । बर्षौंदेखि पेण्डिङ्गमा रहेका फाइलहरु कार्यालयमा अनगिन्ती हुनु, सानो कामको लागि कैयौं दिनदेखि धाउनेहरुको भीड हुँदाहुँदै पनि भेटिनु पर्ने मानिस नभेटिनु अथबा भेटिए तापनि अनाबस्यक तबरले पन्छन पन्छाउन खोज्ने संस्कार यथेस्ट पाईन्छ । जिम्मेवारी वहनको गांभीर्यतालाई यी देशहरुमा यस अर्थमा लिएको पाइन्न कि प्रथमतः यहां सामान्य जन गुनासोले खासै महत्व पाउन सक्तैन र दोश्रो उनीहरुबाट गरिने अधिकारको दुरुपयोग तथा जिम्मेवारी बहनमा गरिने कमी कमजोरीलाई आबस्यक परेको खण्डमा बचाइदिने काम भैरहेको पाइन्छ प्रायशः माथिल्लो निकायबाट नै । विकसित र अविकसित देशहरुमा पाइने यी भिन्न प्रबृत्तिको अर्को कारण के पनि हो भने विकसित देशमा थप जिम्मेवारीको तुलनामा तलब बृद्धि खासै नहुनु, सामाजिक प्रतिष्ठाको प्रश्न खासै नहुनु, बरु यस्ले पारिबारिक जीबनमा प्रतिकूल असर पार्नु जस्ता कारणहरुलाई मान्न सकिन्छ भने अबिकसित देशमा थप तलब बृद्धिभन्दा त्यस बापत प्राप्त हुने अन्य दृश्य अदृश्य सुबिधाहरु र सामाजिक प्रतिष्ठा लाई मान्न सकिन्छ । अधिकारप्राप्तीलाई जति महत्व दिने गरिन्छ कर्तब्य पालनलाई भने त्यति महत्व नदिइने परिपाटीले ब्यक्तिबादी दृष्टिकोणलाई प्रबल बनाउंछ जुन विशेषतः मानवीय दृष्टिकोणका खिलाफमा पाइन्छ र देशलाई अग्रगामी दिशातिर जानमा ब्यबधान खडा गरिदिन्छ ।

अधिकार र कर्तब्यबोध न कि सस्तो लोकप्रियता: बिकसित देशको समाचारमा मन्त्रीका भाषणहरु उदघाटन कार्यक्रमहरुले खासै महत्व पाउंदैनन् जबकि अबिकसित देशमा त्यस्को ठीक विपरीत पाइन्छ । अविकसित देशका नेताहरु संचारका साधनमा देखा पर्न यति लालायित हुन्छन् कि हाम्रो देशमा एक पटक सरकार पक्ष र प्रतिपक्ष बीचको औपचारिक कार्यक्रम जुन समयमा शुरु हुनु पथ्र्यो कारणबश टेलिभिजनका कर्मचारीहरु आउन ढिलाइ भएको कारण हाम्रा राष्ट्रिय स्तरका ती नेताहरु टेलिभिजनमा आफ्नो अनुहार नआउने चिन्ताले ती कर्मचारीहरुलाई पर्खी बसे । कति गरीब मानसिकता ! कोही ब्यक्ति प्रधानमन्त्री हुने बित्तिकै उस्को फोटो बिभिन्न कार्यालयमा राखिनु पर्ने सामान्य नियम जस्तै बनिसकेको थियो । त्यो कुर्सीमा बसेको दिनदेखि नै सो कुर्सी छाड्ने दिन गन्ती गर्न थाल्न पर्ने स्थितियुक्त राजनैतिक अस्थिरता भएको गरीब देशमा यस परिपाटीको आबस्यकता कति होला त ? प्रजातन्त्र पुन: स्थापनापश्चात मात्रको हिसाब किताब राम्ररी खोज्ने हो भने पनि यस कार्यमा भएको संपूर्ण खर्चले एउटा राम्रो परियोजना संचालन गर्न पुग्ने खर्च जुट्न सक्थ्यो । यस्तै कार्यको बिरोध गर्दै बी. पी. को ‘त्यस ठाउँमा मेरो नभएर एउटा किसानको फोटो राख्नू’ भन्ने उक्तिको मर्मलाई बुझ्न सकिरहेका छैनन् हाम्रा नेताहरु । आफूमा अन्तर्निहित संपूर्ण स्वार्थलम्पट भावलाई सांच्चै नै त्यागी राजनीतिलाई ब्यवसाय नभएर सच्चा राजनीतिकै रुपमा वरण गरी देशलाई निश्चित सुदिशातिर अग्रसर गराउन कोही अग्रसर हुन्छ भने संपूर्ण जनताहरु उस्को फोटो मात्र नभएर मूर्तिलाई नै घर घर र चोक चोकमा पुजा गर्न तयार हुने कुरामा बिवाद शायदै होला । संपूर्ण मन्त्री एवं नेताहरुको अधिकांश समय प्रायशः जे जस्ता कृयाकलापमा केन्द्रित भएको पाइन्छ त्यस्ले गर्दा के सांच्चै उनीहरुलाई आफ्नो अधिकार र कर्तब्यबारे ज्ञान त छ – प्रश्न गर्ने ठाउँ प्रशस्त छ । रिबन काट्ने, गुलिया मीठा भाषण छाट्ने, आफ्ना आसेपासे र बिशेष कार्यकर्तालाई जागीर ख्वाउने तथा राम्रा काम दिलाउने औपचारिक एवं अनौपचारिक कार्यकर्ता तथा कर्मचारी भेटघाट गरी नीति निर्देशन दिने जस्ता कार्यहरुमा नै ब्यस्त प्रायः देखिने हाम्रा नेतृत्वदायीहरुको गतिबिधिले उनीहरुमा ब्यावहारिक रुपमा आफ्नो अधिकार र कर्तव्यवोध छ भनी जनता मान्न तयार छैनन् र त्यस किसिमको ब्यक्तिबाट कस्तो विकासको अपेक्षा गर्ने त देशले स्पष्ट छ ।

समाजसेवी न कि सुविधाभोगी: विकसित देशका मन्त्री तथा रानीहरु समेत निर्धक्कसंग कहिलेकांही वाताबरण प्रदूषणको कारण दर्शाइ साइकलमा हिड्ने गरेको सुन्नमा आउँछ जवकि त्यांहा गाडी नहुने परिबार बिरलै पाइन्छ भने यस्तो गरीब देश, जहां सामान्य किसिमको गाडी हुनुलाई पनि सामान्यतः सुविधाभोगीको प्रतिकको रुपमा लिइने गरिन्छ, मा पनि सामान्यभन्दा अति सामान्य आर्थिक हैसियत भएका सांसद पनि अति महंगो पजेरोको मालिक बन्न हिचकिचाएनन् । सामान्य कर्मचारीको लागि बिदेशबाट आएको सिटमा बरिष्ठ मन्त्री नै उपस्थित भैदिएर लज्जाजनक स्थिति सिर्जना गरिदिएको उदाहरणको पनि हामीकहां नभएको होइन । अमेरिकाको ट्वीन टावर दुर्घटनाको बेला त्यांहाका मन्त्रीहरु भित्रैदेखि अत्तालिएर पसिना पसिना भएर दौडधूप गरे भने काठमाण्डौंको मुटुमा जताततै आगजन्य र तोडफोड भएर काठमाण्डौं कालो धुंवाभित्र रुमल्लिंदा समेत सम्बन्धित एवं उत्तरदायी निकायको आभाष नै नहुने किसिमले आ-आफ्नै सुरमा थिए- मानौं त्यो खासै कुनै घटना नै होइन । बेला बितिसकेपछि पक्ष प्रतिपक्ष सबै नेताहरुको स्वाभाबिक चेहरा भद्र किसिमले निरीक्षणमा देखा पर्न थाले – जीबन्तता पाउन कठीन औपचारिक बक्तब्य र कृया प्रतिकृया सहित । कति संयमी छन् हाम्रा नेताहरु शायद बुद्धको देशको भएर हुन् कि ! तर जव चुनाब आउंछ अथबा सत्ताको चलखेल शुरु हुन्छ त हाम्रा नेताहरुको हविगत अमेरिकी ट्वीन टावर दुर्घटनाको बेला त्यांहाका मन्त्रीहरुको भन्दा बढी देखिन्छ । यसवाट के प्रमाणित हुन्छ भने समाजसेवी कम र सुबिधाभोगी बढी छन् समाजसेवीका रुपमा चिनाउन रुचाउने हाम्रा राजनीतिकर्मीहरु । तर विकासको लागि त यस्को ठीक विपरित हुनु आवस्यक छ ।

उपसंहार: दुःखपूर्ण जीबनका पारखी जनता केही बर्ष थप दुःख भोग्ने कुरामा सहजै कार्यतत्परता दर्शाउन सक्तछन् यदि वास्तविक रुपमै देश विकासको संभावनामा आस्वस्त हुने आधार पाउने हो भने । तर त्योभन्दा पहिला नेतृत्वदायी अंगमा रहने ब्यक्ति नै त्यस्को लागि तयार हुन अपरिहार्य छ वास्तविक रुपमै । किनकि जस्मा जे छ अरुले उसबाट त्यही प्राप्त गर्न सक्तछ न कि नभएको कुरा- यो शास्वत हो प्राकृतिक नियम हो । अतः देश तुलनात्मक रुपमा कता जांदैछ भन्ने यथार्थता नै नेतृत्वदायी अंगमा बस्नेलाई जांच्ने कसी हो । मध्यम/उच्च स्तरका कर्मचारी तथा कहिलेकांही राष्ट्रिय स्तरका नेताहरुलाई समेत कार्यवाही गरिनु भनेको ठूलो जस्तो लाग्ने भए तापनि वास्तवमा त्यो सामान्य रुपमा लिइनु यस अर्थमा सही हो कि यस्ता घटना बेला बेलामा जहीं तहीं देखा परिराखेको पाइन्छ तर त्यस्ले भ्रष्टाचार निवारण कार्यमा योगदान दिन पनि सकिरहेका हुंदैनन् र देशलाई सुदिशातिर अग्रसर गराउन पनि । देशलाई सुदिशातिर उन्मुख गराउने दुई प्रमुख विकल्पहरुमा स्वच्छ छवि भएको निस्वार्थ ब्यक्तिको नेतृत्व नै अत्युत्तम हो किनकि दोश्रो विकल्प जनक्रान्ति संहारक हुने मात्र नभएर ठूलो संहारपछि सफल भएको भनिने जनक्रान्तिहरुलाई नयां नेतृत्व गर्ने ब्यक्तिहरुले पुनः विस्तार विस्तार देशको शासन पद्धतिलाई र यथास्थितिमा नै फर्काउने गरेको इतिहासले देखाउँछ । पहिलो बिकल्पलाई उपभोग गर्न पाउनु भनेको भाग्य हो त्यस देशको लागि । जुन किसिमबाट हाम्रो देशमा गणतन्त्र आयो, त्यसलाई यसै रुपमा हेरिनु पर्छ । तर नेताहरुले निर्लज्जता पूर्वक गाइजात्रा प्रदर्शन गरिरहेका छन, जनताले पढाएको पाठ बुझेका छैनन अथबा नबुझे झैं गरिरहेको छन । आखिर कुनै पनि देश शुरुमा कठीन यात्राको एउटा चरण पार नगरी बिकसित देशको सूचिमा परेका छैनन् । कुनै निश्चित ‘वाद’ पनि जनताको लागि खासै सरोकारको विषय होइन त्यो त देशको तात्कालिन परिस्थिति; ब्यक्तिको ब्यक्तिगत प्रकृति; संगत; नेतृत्व गर्ने ब्यक्ति र उस्ले अख्तियारी गर्ने बिभिन्न रणनीति आदिको कारण जुनसुकै ब्यक्ति जुनसुकै वादको पछि पनि लाग्न सक्तछ । त्यसैले जनताले लेनिन, माओ, हिटलर, गान्धी, नेल्सन मण्डेला, फिडेल क्याष्ट्रो, ह्युगो चाभेज समयानुसार सवैलाई साथ दिएको पाइन्छ । सुव्यवस्था संस्थागत भएर देशले एउटा निश्चित दूरी तय नगर्दासम्मको अवस्थामा निस्वार्थ नेतृत्व देशले नपाएसम्म विकासका लागि गरिने भनिने जति पनि विकास प्रयास कतिपय कारणवश झण्डै झण्डै वालुवामा पानी हालेको जस्तै हुन्छ भन्ने प्रमाणित भइसकेको छ । निस्वार्थ ब्यक्ति बाहेक अन्यले देशलाई सबल नेतृत्व यस कारण दिन सक्तैनन् कि उनीहरु आफ्ना कमजोरीका कारण राज्य संचालन प्रकृयाको कुनै पनि तह र प्रकृतिको कामममा निश्चित ठाउँमा सही ब्यक्तिको छनौट, कानूनलाई हातमा लिएर काम गर्नेहरुमाथिको कार्यबाही आदि जस्ता सबै ठाउँमा वारंबार चुकिरहेका हुन्छन् कार्य संचालन प्रभावकारी बनाउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने जस्ता कार्यमा सफलता प्राप्त गर्दै सुव्यवस्था स्थापना गर्न असफल हुंदै । अतः हाम्रा नेता महोदयहरुमध्ये कोही न कोहीमा भने पनि देशको यथार्थताको कसीमा आफूले आफैलाई जांची विना हिचकिचावट समयमै प्रायश्चित गरी देशमा नयां संस्कार र संस्कृतिको विकास गर्ने शक्ति उजागार गर्दै देशलाई सबल नेतृत्व प्रदान गर्न सक्षम हुन सकोस् – यही शुभ-कामना ।
Published in www.shrijana.com on 27/01/2009 Link: http://www.shrijana.com/000/?p=2737

No comments:

Post a Comment