Friday, September 3, 2010

वेलायत बन्ददेखि नेपाल बन्दसम्म र कर्तब्य बोधको प्रश्न

By रामकुमार श्रेष्ठ
वारंबारको नेपाल बन्दका कारण वाक्क हुन परेका नेपालीहरुको लागि वेलायत बन्दको प्रसंगले खासै आस्चर्य चकित नतुल्याउला र पनि गत हप्ता भएको आधुनिक देशहरुमध्येमा गणना हुने वेलायतको बन्दले साँच्चै अनौठो किसिमले आस्चर्य चकित हुनु पर्ने परिस्थिति सिर्जना गर्‍यो । बन्दको कारण भने नेपालमा झैं राजनीतिक पार्टीहरु नभएर प्रकृति थियो । गत हप्ता वेलायतमा भएको अत्यधिक हिमपातका कारण जन जीवन सोंच्दै नसोचेको किसिमले अस्त ब्यस्त भएको थियो र भनिन्छ यस्तो हिमपात २० बर्षपछि पहिलो पटक भएको हो । तापक्रम सरदर माइनस २-३ मा नै जे जसरी जन जीवन अस्त ब्यस्त भएको पाएँ यस्ले मलाई आँफैले भोगेको भोगाइमा विश्वाश गर्न कठीन भै रहेको थियो । कारण १९८६ मा रुसमा इन्जिनियरिङ अध्ययनको लागि गएको बर्ष त्यहाँको ४० बर्षको रेकर्ड तोडेर तापक्रम माइनस ४० पुगी आफू बसेको ठाउँबाट ४-५ मिनेटको पैदाल यात्रामा पुग्न सकिने यूरोपको सबभन्दा लामो नदी भोल्गा पुरै जमेर सो नदीमाथि मानिसहरु खेल्ने अवस्था हुँदा समेत यातायात ठप्प नभएको याद छ राम्रैसंग र पनि धेरै बर्षपछिको रेकर्ड भएको र कत्तिको लागि हिउँको अनुभब पहिलो हुन सक्ने भएको कारण डिन तथा रेक्टरहरु आँफै आएर रुसी जनताहरुकै लागि पनि कठीन भएको कारण बिदेशीहरुलाई बाहिर नजानका लागि अनुरोध गरेका थिए । सो बर्ष हामीहरु बस्ने र पढने मात्र नभएर खेल्ने तथा पुस्तकालयको ब्यबस्था समेत एउटै भवनमा थियो र एउटै समस्या थियो खाने कुराको र सो कुरालाई ब्यबस्थित तुल्याइ दिएको कारण बाहिर जानै पर्ने वाध्यता पनि थिएन । त्यसरी नै नर्बे, क्यानडा, अमेरिकाका कतिपय ठाउँमा तापक्रम माइनस २० भन्दा कम पुग्दा समेत त्यस्तो असामान्य अवस्था सिर्जना भएको त्यत्ति सुन्नमा आएको छैन । यस्तो विकसित देशमा सरदर माइनस २-३ को तापक्रममा नै केही दिन भएको हिमपातका कारण यातायात झन्डै ठप्प प्राय: थियो, कैयौं कर्मचारी सार्वजनिक यातातका साधनको अभाब र ब्यक्तिगत साधन चलाउनमा भएको कठीनाइका कारण कार्यालय गएनन, अधिकांश शैक्षिक संस्था बन्द थिए, सामानको यथेस्ट ढुवानीको समस्या र संभाबित समस्याका कारण सबैले सामान बढी बढी किन्नाले कुनै कुनै पसलमा पाउरोटी (यूरोपमा पाउरोटी आधारभूत खानाको रुपमा लिइन्छ) को अभाब देखिन्थ्यो । एउटा मानबीय श्रोतसम्बन्धी संस्थाले गरेको अध्ययनले केही दिनको लागि सिर्जित यस किसिमको अवस्थाले बुधवार, बिहिवार र शुक्रबार क्रमश: १४,१५ र १० प्रतिशत कर्मचारी कार्यालय गएनन र कंपनीहरुको प्रत्यक्ष खर्च २.२ विलियनभन्दा माथि रह्यो ।

गत शनिबार नेपाली साथीहरुले शुरु गर्न लाग्नु भएको नयाँ कालेज इण्टरनेशनल कालेज अफ लण्डनमा केही इन्जिनियरिङ्ग कामको सिलसिलामा जाने प्रयास गर्यौं, तर करीब ७० माइल प्रति घण्टाको रफ्तारमा कुदाउनु पर्ने राजमार्गमा २० माइल प्रति घण्टाको रफ्तारमा कुदाउँदा पनि गाडी सन्तुलनमा नरहेको कारण केही समयपछि नै गन्तब्य स्थलमा सो दिन पुग्ने योजना बीचैमा त्यागिदियौं । किनकि त्यसरी जाँदा त आते जाते २ घण्टा जतिको यात्राको लागि ७-८ घण्टा खर्चनु पर्ने भयो भने दुर्घटनाको संभाबना पनि त्यत्तिकै प्रबल देखियो र सो कामको लागि अस्ति गयौं – ढुक्कसंग ७०-८० माइल प्रति घण्टाको रफ्तारमा गाडी कुदाउन कुनै समस्या थिएन । संचारको क्षेत्रमा समस्यालाई ब्यापक रुपमा उठाइएको कारण वेलायत सरकार रात रातभर समस्या समाधानका लागि खट्यो, आखिर बर्तमान सरकार यसै त प्रतिपक्षको पेलानमा छ त ऊ प्रतिपक्षको अरु मार खप्न किन तयार हुन्थ्यो र? राजमार्गहरु मात्र नभएर भित्री सडकहरु पनि सामान्य अवस्थामा ल्याइसकेको पाइयो । यस किसिमले समस्या देखा पर्नु र समस्या समाधान हुनुको प्रकृतिलाई बिचार गर्दा मुलभूत रुपमा दुई कुराहरु स्पस्ट हुन आउँछन : पहिलो, देश र जनताप्रतिको जिम्मेवारी बोधको संबेदनशीलता र दोस्रो, दूरगामी सोंच अनुरुप सामानको निम्नतम जगेडाको अबधारणा । शुरुमा निम्नतम जगेडा नून खर्च गर्न नचाहदा समस्या जसरी बढदै गयो त्यस्लाई अरु नबढाउन बाहिरबाट आउँदै गरेको नून नआइपुग्दै जगेडा नून भरपुर खर्चेर भने पनि समस्यालाई अरु जटील नबनाउने निर्णय लिएको देखियो ।


नेपालको बिषयबस्तुमा फर्कनु अघि अर्को सानो उदाहरण पेश गरी हालौं । अस्ट्रेलियाको मेलबर्नमा करीब ७-८ बर्ष पहिला घनघोर बर्षा भएको थियो र ढलको समस्याका कारण जताततै आहाल देखिन्थ्यो । गाडी कुदाउने र पैदाल हिडने सबैको लागि ठूलो समस्या भयो । संचारका साधनहरु आफ्नो जिम्मेवारी पुरा गर्न किन चुक्थे, चुकेनन । त्यस्को १-२ दिनमा नै जताततै काम धमाधम शुरु भएको देखिन्थ्यो । त्यहाँ कुनै नारा, जुलुस, हडताल, बन्द केही गर्नु परेन, सरकारमा बस्नेले स्वत: स्फूर्त रुपमा जिम्मेवारी महसूस गर्‍यो र तत्कालै समस्या समाधान भयो पनि ।

नेपाल बन्द क-कस्ले के कस्ता बिषयबस्तुमा के कसरी गर्छन् त भन्ने कुराको फेहरिस्त पेश गरिराख्नु पर्ने बिषयबस्तु होइन बिभिन्न किसिमबाट सबै यस्को बिज्ञ भैसकेको कारण । उठान गर्न खोजिएको र गर्नु पर्ने बिषयबस्तु हो जिम्मेवारी बहन गर्नेले गर्नु पर्ने जिम्मेवारी बोधको । बन्द बिरोधको एउटा रुप हो, तर यो सामान्यत सरकारमा बस्नेले बिभिन्न चरणको बिरोधको बाबजूद पनि कुनै सुनुवाई नै गरेन भने बल्ल अपनाइनु पर्ने बिरोधको रुप हुनुपर्छ, तर नेपालमा आजकाल बिभिन्न चरणको बिरोध नै नगरी शुरुमा नै बन्द गर्ने गरेको समेत पाईन्छ । बन्दकर्ता र बन्द सामना गर्ने दुबै पक्षको आ-आफ्नै किसिमका जिम्मेवारी हुन्छन, तर प्रकृति भने सामान्यत बिपरीत । बिशेष अवस्थामा बाहेक बिरोध बिशेषत: सरकार बाहिर बस्नेद्धारा सरकारले या त गलत निर्णय गरेको खण्डमा त्यस्लाई सच्याउन अथवा ध्यान दिनु पर्ने अति महत्वपूर्ण कुरामा ध्यान नदिंदा त्यसतर्फ ध्यानाकर्षण गराउन दबाब दिनका लागि गरिने प्रकृया हो ।

बिरोध गर्नेले देशभित्र हुने सबै कुरा राष्ट्रिय संपतिकै अंश हुने भएकोले सकभर कुनै पनि चल अचल संपत्तिलाई क्षति नपुर्याउने, वाताबरणीय प्रदूषण नहुने किसिमले कृयाकलाप गर्ने, नियमित किसिमले हुने दैनिक क्रियाकलापमा ब्यबधान खडा नगर्ने जस्ता कुरामा सजगता र सतर्कता दर्शाउनुलाई दायित्वबोधको रुपमा लिनु पर्ने हुन्छ भने सरकारमा बस्नेले प्रतिपक्षका तर्फबाट भएका बिरोधलाई बिरोधका लागि बिरोध गर्नुभन्दा आफूले ध्यान दिन नसकिएको कुरामा ध्यान पुर्याउन सहयोग गरेको ठानी संभब भएसम्म मार्ग दर्शनको रुपमा लिएर आदर गर्दै मागलाई यथोचित महत्व दिएर कार्यन्वयन गर्नु राम्रो हुन्छ ।

राष्ट्रिय महत्वका बिषयमा सरकारमा बस्नेले स्वत: स्फूर्त रुपमा अथवा दबाबपस्चात मात्र निर्णय दिन्छन अथवा अझ निर्णय दिन सक्षम छैनन अथवा चाहदैनन जस्ता कुराले सरकारमा बस्नेहरुको राजनैतिक संस्कार, नैतिकता र सक्षमतालाई परिभाषित गर्न सक्छ । कस्ता कुराहरुलाई प्राथमिकता दिन्छन त भन्ने कुराले उनीहरुको प्रकृति र उद्धेस्यलाई उजागार गर्छ । कसैको स्वार्थको लागि अरुको बैशाखी टेकेर सरकारमा पुग्नेहरुले उनीहरुकै स्वार्थ पुरा नगरिदिंदा सरकारबाट हटनु पर्ने अवस्था आउने भएकोले सरकारबाट नहटनका लागि अरुको स्वार्थ अनुरुपको निर्णय गरिदिनु पर्ने वाध्यताका कारण निर्णय गर्नमा ढिला सुस्ति हुने, नचाहेका निर्णयहरु पनि बिवशता पूर्वक गर्नु पर्ने जस्ता अवस्थाहरु देखा पर्न सक्छन जस्ले गरिनु पर्ने निर्णयहरुलाई ओझेलमा पारी अनाबस्यक निर्णयहरु लिन पर्ने हुन सक्छ र बढी बिरोधको सामना गर्नु पर्ने अवस्था सिर्जना हुन सक्तछ । यस्तो अवस्थामा मर्यादाक्रम अनुसार मर्यादा पाउनु पर्ने ब्यक्तिले मर्यादा गर्नु पर्ने ब्यक्तिमाथि आबस्यक पर्दा समेत कार्यबाही गर्न नसक्ने अबस्था आउन सक्छ र अझ झन व्यबहार उल्टो भएको समेत देखिन आउन सक्छ । सिडिओमाथि हातपात गर्ने मन्त्रीमाथिको कार्यबाहीको प्रश्न , प्रधानमन्त्रीको भारतको औपचारिक भ्रमणको बेला पररास्ट्र मन्त्रीको कारण भएको घटनाक्रम, राष्ट्रिय अन्तरराष्ट्रिय मानब अधिकारसंग संबन्धित संस्थाहरुको बिरोधको बबजुद सेनाका जनरलको पदोन्नति गर्न नपाएर कैयौं मन्त्रिपरिषदको बैठकमा अनुपस्थिति भएपछि आफ्नो इच्छा पुरा हुने भएपछि मात्र मन्त्रिपरिषदको बैठकमा उपस्थित हुने रक्षा मन्त्रीको घुर्क्याइं सबैले यसैलाई पुस्टी गर्छ ।

कुनै पनि सरकारको सबभन्दा मुख्य दायित्व भनेकै राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु हो, तर सीमा अतिक्रमण जस्तो अति संबेदनशील बिषयमा सरकार बिना दबाब स्वत:स्फूर्त रुपमा संबेदनशील भएर कदम चाल्दैन भने त्यस्लाई सरकारको रुपमा कसरी स्वीकार्न सकिएला त? उल्टो यस्तो बिषयमा आधिकारिक धारणा र यथोचित कदमको लागि दबाब आउँदा र सीमा अतिक्रमण भएको आधिकारिक पुस्टी हुँदा समेत झन कहिले आधिकारिक ब्यक्ति नै सीमा मिचिएको छैन भन्ने, कहिले प्रतिपक्षी सरकारमा हुँदा पनि यस्तो बिषयमा मौन थियो भन्नुले सरकारको हदसम्मको नालायकी र लाचारीपनलाई नै पुस्टी गर्छ । हुन त अहिलेको प्रतिपक्षी सरकारमा हुँदा भारत भ्रमणको क्रममा १९५० लगायतका सन्धिहरुको पुनर्मुल्यांकन लगायतका प्रश्न पनि उठाएको थियो र पशुपतिको पूजारी नेपाली राख्ने साहसिक काम पनि नगरेको होइन, तर त्यही पशुपतिको पूजारीको निर्णयका बिरुद्ध पनि कत्ति न ठूलो भ्रस्टाचार अथवा अरास्ट्रिय काम नै गरे झै गाइजात्रा देखाउन पनि पछि परेनन – ईतिहासको लागि त्यो पनि एउटा बिचित्रको प्रतिपक्षी भूमिकाको रुपमा देखा पर्ने छ । अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरियाले अमेरिका पछिको विश्व (The Post American World) भन्ने पुस्तकमा गौतम बुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरेको बिषयलाई लिएर संसदमा प्रश्न उठाइको यत्रो समय ब्यतित हुँदा समेत सरकार केही बोल्ने आँट गर्न सक्तैन । यस्ता कुराहरुमा हस्तक्षेप नदेख्नेले अनमिनको संयुक्त सरकारको सुझाबलाई भने आन्तरिक मामालामा हस्तक्षेप देख्छ कत्ति छिटो । राजा हुन नपाउने ज्ञानेन्द्र राजा हुन पाएको भन्दा पनि बढी जनताद्धारा तिरस्क्रितहरुको भीड जे जस्तो नियोजित तवरले लोकतन्त्रलाई उपहास गराउँदै कुर्सीमा पुग्न सफल भएका छन, कुर्सी छाडने बित्तिक्कै हालत के हुने हो भन्ने त्रासका कारण त्यसरी अत्तालिनु अस्वाभाबिक होइन पनि ।

नेपालमा सत्ता पक्ष र प्रतिपक्ष दुबैले देशलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा सशक्त र प्रभाबकारी भूमिका निर्बाह गर्न सकेको देखिन्न । यस्को एउटै कारण हो राष्ट्रियताको भावनाले ओतप्रोत नभएर कुर्सीलाई नै सर्बे सर्बा ठानी जसरी पनि कुर्सी हत्याउने प्रब्रिति । कुर्सीमा बस्दैमा शक्तिशाली बन्ने भए त गत चुनाबको परिणाम पो किन त्यस्तो हुन्थ्यो र? जन चेतनाको स्तर अब त धेरै माथि उठिसकेको छ भन्ने कुरालाई अझै महसूस नगरी उनीहरु अझै पनि जनतालाई भेंडो ठान्ने संस्कारबाट मुक्त हुन सकेको देखिन्न र असन्तुलित तवरले जे जे मन लाग्छ त्यही बोल्ने र गर्ने गरेर दिन प्रति दिन जनताको नजरमा आफूलाई अरु बढी खास्काउँदै देशलाई भत्काउँदै गै रहेका छन । एक दिन अबस्य मर्नु पर्छ र कुर्सीमा नबसेको बेलामा मर्नु पर्दा दुई टुक्रा बाँस पनि निकै महंगो पर्न सक्छ भन्ने कुरालाई मनन गर्न सकेको देखिन्न । अधिकारमुखी भावनाले ब्याप्त निर्लज्ज स्वार्थी नेताहरुको बाहुल्यता र कर्तब्यमुखी भावनाले ओतप्रोत भएका त्यागी नेताहरुको अभावका कारण देश दिन प्रतिदिन झन झन समस्याग्रस्त बन्दै गैरहेको छ र आशा गरौ यो नयाँ दशकले कर्तब्य बोध गर्ने त्यागी नेताहरु जन्माउने छ ।
Published links:

No comments:

Post a Comment