Friday, September 3, 2010

राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई खुला पत्र

*रामकुमार श्रेष्ठ


महामहिम रास्ट्रपति राम वरण यादबज्यू,
सम्मामनीय प्रधानमन्त्री पुष्प कमल दहालज्यू,
c/c माननीय अर्थमन्त्री डा. बाबुराम भट्टराईज्यू,
माननीय बिज्ञान तथा प्रबिधी मन्त्री गणेश शाहज्यू,


संभबत नेपालको इतिहासमा मात्र नभएर बिस्वकै इतिहासमा यो पहिलो घटना होला कि राष्ट्र प्रमुख र सरकार प्रमुख एकै पटक दुबै प्राबिधिक क्षेत्रबाट पर्न गएको । यति मात्र नभएर बर्तमान सरकारमा सहभागी कतिपय मन्त्रीहरु समेत प्राबिधिक क्षेत्रबाट परेका छन । जनमानसमा एउटा भनाइ ब्याप्त छ कि पढाईमा अब्बल दर्जामा पर्नेहरु डाक्टर, इन्जिनियर बन्छन, दोश्रो दर्जाका विद्यार्थीहरु प्रशाशक बनी तिनै अब्बल दर्जाका साथीहरुलाई खटन पटन गर्छन् र तेश्रो दर्जाका विद्यार्थीहरु राजनीतिज्ञ बनी देश चलाउँछन त देश कसरी अगाडि बढोस ? के त्यसो भए अब साँच्चै देश अगाडि बढला त ? तहस नहस नै भैसकेको हाम्रो देश के अब सम्हालिएला त ? बर्तमान सरकारले ध्यान दिनु पर्ने मूलभूत कुराहरुप्रति परिलक्षित हुनेछ यो लेख यस किसिमको भनाइको सम्बन्धमा तर्क बितर्क र बिश्लेषण गर्नुभन्दा पनि ।


जे होस एउटा ईतिहास त बनाउनु भयो तर अत्यन्त कठीन अवस्थामा अनि अधिकाधिक जनताद्वारा राम्रै चिनिए तापनि सो थाहा पाउन नसकेका अथवा थाहा पाएर पनि थाहा नपाए झैं गर्न पर्ने बिबसतालाई स्वीकार्न वाध्य भएका र बिगतका गल्ती र कमी कमजोरीलाई लुकाउनका खातिर यथास्थितिलाई निरन्तरता दिन सक्ता मात्र आफ्नो पेशागत निरन्तरताको संभाबना हुने भएको कारण त्यस किसिमको बातावरण तयार गर्न बुताले भ्याएसम्म लाग्न बिबसहरुको प्राचुर्यताले गर्दा सामना गर्न पर्ने अनेकन अप्ठेराहरुको बेलामा । तर पनि बिद्यमान जटील चुनौतिपूर्ण परिस्थितीलाई यहाँहरुको लागि सुबर्ण अबसरको रुपमा लिएकोछु मैले । सामान्य घिटिघिटिको अवस्थामा नै त देश चलिरहेकै थियो र त्यसरी नै चलाऊन त प्रमाणित भैसकेका अनगिन्ति बग्रेल्ती माहिर नेताहरु छदै छन । महानता भनेकै जटीलतालाई सरलतामा परिणत गर्न सक्नु हो न कि सरलतालाई जटीलतामा । बर्तमान अत्यन्त जटील असहज परिस्थितीलाई क्रमश: सहजतामा परिणत गर्न के कति हदसम्म के कसरी सक्षम हुनुहुनेछ तदनुरुप नै तपाईंहरुको महानता र सफलता प्रमाणित हुनेछ । जीवनको सबभन्दा महत्वपूर्ण यात्रा तय गरेको यदि ठान्नु हुन्छ भने त्यो तपाईंहरुको ठूलो गल्ती हुनेछ किनकि वास्तबिक महत्वपूर्ण यात्रा त भर्खर शुरु हुँदैछ तपाईंहरुको लागि । गणतन्त्र नेपालको पहिलो रास्ट्रपति र पहिलो प्रधानमन्त्रीमा नै चित्त बुझाउने हो भने त तपाईंहरुको यात्राको अन्त्य भएको भन्नुमा अतिशयोक्ति नहोला, तर अत्यन्त जटील र कठीन परीस्थितिलाई पार गर्दै सफल नेताको रुपमा स्थापित हुने नै हो भने त सामना गर्न पर्ने चुनौतिको ठूलो पहाड सामुन्ने भएकोले तपाईंहरुको यात्रा शुरु हुँदैछ । साँच्चै नै कर्तब्यपरायणता दर्शाउने हो भने अब त तपाईँहरुको निन्द्रा र भोक हराउनु पर्छ जसरी कि संयुक्त राष्ट्र संघको एउटा महासचिब दिनमा दुई घण्टा मात्र सुत्दथे । मुखले राष्ट्रिय स्वार्थको मन्त्र जप्ने तर दलगत स्वार्थ र ब्यक्तिगत स्वार्थभन्दा माथि कहिल्यै उठन नसक्नेहरुबाट आजित भैसकेका जनताहरुलाई तपाईंहरु साच्चै राष्ट्रिय स्वार्थको पक्षपाती हुनुहुन्छ भन्ने बिस्वास दिलाउन सक्नु भयो भने राष्ट्रिय स्वार्थका लागि गर्न खोजिएका कुनै पनि कामको बिरोध भलै पशुपतिको पूजारी प्रकारणभन्दा ठूलो भै निर्णय पुन: फिर्ता लिन वाध्य नै किन नगराइयोस, कालान्तरमा इतिहासले प्रमाणित गराइदिने छन कि को सही हो र को गलत, को राष्ट्रबादी हो र को अबसरबादी । नि:स्वार्थ तवरबाट कर्म गर्दै जानु पर्छ, फल यथोचित समयमा यथोचित तबरले प्राप्त हुँदै जानेछ नै। बाँकी फोहोर कसिंगरहरु समय सापेक्ष आउने हुरीले उडाउने नै छ – त्यसमा शंका छैन र त्यो देखिदै आएको छ पनि । अब लागौं बर्तमान सरकारले गर्नै पर्ने केही मूलभूत बुँदहरुतर्फ ।



१. संबिधान निर्माण: बिगतको चुनाव नै संबिधान सभाको चुनाव भएकोले निसन्देह नै नयाँ संबिधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पुर्‍याउनु बर्तमान सरकारको प्रमुख जिम्मेवारी हुने कुरामा सन्देह छैन भलै आ-आफ्नो धर्म अनुरुप आ-आफ्नो डम्फू बजाउने काम सबै पक्षबाट के कस्तो तबरबाट भैरहेको छ भन्ने कुरा भने जग जाहेरै छ ।


२. भ्रस्टाचार नियन्त्रण : बिगत चुनाव परिणामले स्पस्ट रुपमा दुई कुराको संकेत गरेको छ – भ्रस्टाचारीमाथिको सख्त कारबाहीको माग पहिलो र दोश्रो राजनीतिक पार्टीहरुको मिलिमतोको आवश्यकता । गणतन्त्र स्थापनार्थ दोश्रो पक्ष अति महत्वपूर्ण थियो भने पहिलो पक्ष गणतन्त्र प्राप्तीपस्चात देशको आवश्यकता र जन भाबनाको कदरका खातिर लगत्तै चालिनु पर्ने सर्बाधिक महत्वको कदम र पनि गणतन्त्र घोषणा गर्ने बेलामा अनपेक्षित चुनाव परिणामका कारण अत्तालिएको ठुलो समूहले गरेका चलखेलले गणतन्त्र स्थापनामा भन्दा अन्य दुई कुरामा जोड दिएको देखिन्छ: उल्लेखित पहिलो पक्षले साँच्चै नै मूर्त रुप लिएको खण्डमा आफ्नो राजनैतिक भबिष्यको अन्त्य हुने भएकोले त्यसो हुन नदिन गतिरोध खडा गरिदिनको लागि सान्दर्भिक र आबस्यकभन्दा असान्दर्भिक र अनाबस्यक मुद्धाहरु बढी उठाउने पहिलो र दोश्रो सो पक्षलाई मूर्त रुप दिन सक्ने संभाबित संयन्त्रलाई सबल हुन नदिने बातावरण तयार गर्ने । हरेक ठाउँमा समझदारी र सहमतिलाई बेवास्ता गर्न नसकिने बस्तुगत यथार्थताले गर्दा जे जस्तो तबरबाट जे जस्ता ब्यक्तिहरुको सरकारमा संलग्नता भएको देखिन्छ त्यसबाट जनचाहना अनुरुपको ठूला ठूला भ्रष्टाचारहरु माथिको कार्यबाहीको संभाबना करीब करीब टरेको ठान्दा हुन्छ र अब नेपाली जनताले आशा गर्न सक्ने एउटै संभाबना छ परंपरागत भ्रष्टाचारको सन्जाललाई तोडेर भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रको सिर्जना । यो उद्धेश्य परिपूर्ति गर्नु पनि सहज त छैन नै घटनाक्रम र बिद्यमान बस्तुस्थितिको बिश्लेषण गर्दा तर पनि यही आशामा पनि तुषारापात पर्नु भनेको बिद्यमान अवस्था जे जस्तो भए तापनि त्यस्को बिश्लेषण गर्नभन्दा “जुन जोगी आए पनि कानै चिरेको” भन्ने भनाइलाई नेपाली जनताले लगभग लगभग पुन: संस्मरण गर्नतिरै लाग्नेछन ।
भ्रस्टाचार नियन्त्रण गर्ने संयन्त्रको बिकास नभएसम्म सानालाई ऐन ठूलालाई चैनको संस्कार तोडिने संभाबना न्यून रहन्छ, नहुन पर्ने काम भैरहेको हुन्छ भने हुन पर्ने काम भैरहेको हुन्न, नगरिनु पर्ने काम गरिएको हुन्छ भने गरिनु पर्ने काम गरिएको हुन्न, सीधा साधा र इमान्दारको कुनै गुन्जायस रहन्न भने टठयाइं बठयाइं गर्न सक्नेको बोलाबाल देखिन्छ – संक्षेपमा भन्ने हो भने कानुनी राज्यको अनुभूती गर्न सक्ने संभाबना ज्यादै न्यून रहन्छ । यस्तो अवस्थामा देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था मात्र नभएर जनताको मानसिक अवस्था समेत गिर्दो अवस्थामा हुन्छ जुन यथार्तता सबैको सामू छ । अत: देशको सर्बतोमुखी बिकासको लागि भ्रस्टाचार नियन्त्रण गर्ने संयन्त्रको अपरिहार्यतालाई नकार्न सकिन्न ।


३. बिज्ञान र प्रबिधि बिकास: बिकास गर्ने क्रममा समय, परिस्थिति र अवस्थानुरुप यथोचित कुराहरुमा ध्यान दिन नसक्ता कहिलेकांही बिकासले बिनास निम्त्याउँछ भन्ने कुराहरुको यथेस्ट प्रमाणहरु हुँदहुँदै पनि बिकासलाई आत्मसात गर्न बिज्ञान र प्रबिधिको बिकासको नीतिलाई अंगीकार नगरी धरै छैन भन्ने कुराको प्रमाण बिकासको दृष्‍टिकोणले अग्रिम पंक्तिमा उभिएका र उभिने तर्खरमा लागेका देशहरुमा भएको र हुँदै गरेको बिज्ञान र प्रबिधिको बिकासले प्रमाणित गर्छ । झन हाम्रो जस्तो बिकासका आधारभूत संरचनाहरुको निर्माणलाई नै प्राथमिकतामा पार्न पर्ने देशको लागि यस्ले पाउनु पर्ने महत्व अझ उच्च हुनुपर्ने हो, तर अफसोच त्यस्तो भैरहेको पाइन्न । अन्तरीक्ष यात्रापछि बिस्वले सामना गर्न पर्ने संभाबित उर्जा समस्याको बिकल्पमा केही बैज्ञानिक शून्यबाट उर्जा निकाल्ने प्रबिधि, जुन प्रबिधिको बिकास गर्न सकिएको खण्डमा सो कार्यमा संलग्न अमेरिकी भौतिकशास्त्रीहरु फेनबर्ग र ह्विलरको अनुसार एउटा बिजुलीको चिमको आयतनभित्र बन्द उर्जा क्षमता बिस्वका सबै महासागरलाई उमाल्न पर्याप्त हुनेछ, बिकास गर्नतिर अग्रसर भैसके भने हामी भने बाँदरको घर, भ्यागुते संसार र काम नपाएकी बुढी जस्ता उखानलाई नै चरितार्थ बनाउन ब्यस्त हुन्छौं त सतिको श्राप परेको देश भनेर चित्त बुझाउने बिकल्पभन्दा अरु के रहन्छ त ? अत: बर्तमान सरकारको एउटा प्रमुख दायित्व देशमा बिज्ञान र प्रबिधिको समुचित बिकासको लागि यथाशीघ्र उपयुक्त नीति तथा कार्यक्रम ल्याउनु पनि हो भन्ने कुरामा सन्देह छैन देशलाई द्रूततर गतिमा अगाडि बढाउने नै हो भने ।


४. ‘ब्रेन ड्रेन’ को उपयोगिता: कुनै दिन डा बाबुराम भट्टराईले जसरी माओबादी समस्या नभएर समाधान हो भन्नु भएको थियो ठीक त्यसरी नै ‘ब्रेन ड्रेन’ लाई म समस्या नभएर समाधानको रुपमा देख्छु । बिभिन्न बिकसित देशमा गएर आ-आफ्नो पेशागत कार्यमा संलग्न हुने नेपालीहरु पनि धेरै छन र उनीहरुले ती देशमा बिद्यमान उच्च प्रबिधिहरुलाई बुझ्ने अबसर पाएका छन । प्रत्येक नेपाली संसारको कुनै पनि कुनामा किन नहुन नेपालमा नै बसेर भाषण र बक्तब्यबाजीमा खोक्रो माया ममता दर्शाउनेहरुले भन्दा धेरै बढी माया गर्नेहरु प्रशस्त छन भन्ने कुरा उनीहरु कल्पना पनि गर्न सक्तैनन । यदि साँच्चै देश फर्केर सुनिस्चित भबिस्यका साथ ढुक्कसंग काम गर्ने उपयुक्त बातावरणको सिर्जना हुन्छ भने धेरै नेपाली देश फर्कन हिचकिचाउने छैनन । अत: सामान्य जीबन यापनको लागि धौ धौ पर्ने जागीर खाएर लखपती करोडपती हुनेको अनाबस्यक र कस्टदायी चक्करमा पर्न नपर्ने गरी त्यस किसिमको उपयुक्त बातावरण तयार गर्न सकिएको खण्डमा बिभिन्न बिकसित देशमा सिकेको प्रबिधि सहज, सरल र मितब्ययी तबरले भित्र्याउन सकिने संभाबना प्रबल रहेको कुरामा सन्देह छैन ।


संधै अनगिन्ती मागहरु लेख्न र पढन अभ्यस्त तपाईंहरुलाई यो चार बुँदे प्रस्तुति आछ्यूँ खाएँ बाछ्यूँ झुसे बारुलो लाग्न सक्ला, तर त्यही चार बुँदेमा पनि बिना शर्त अग्रिम २५% छुट दिंदै पहिलो तीन बुँदा मात्र पूर्ण रुपले पुरा गर्नु भयो भने चौथो त स्वतस्फूर्त रुपमा हुन सक्ने कुरा भएकोले त्यसमा मेरो कुनै आपत्ति हुनेछैन अथबा अझ स्पस्ट शब्दमा भन्ने हो भने अरुले झैं अरुको मतिको बिरोध गर्दै आफ्नै मति र देशको संपतिको तोडफोड गरी खति गर्ने र टायर बाली स्वास्थ्य खस्काउने र बातावरण धस्काउने जस्ता जघन्य आपराधिक काम गर्ने छैन भन्ने कुरामा पूर्ण विश्वाश दिलाउन चाहन्छु । तपाईंहरुले जस्तो गणतन्त्र नेपालको प्रथम राष्ट्रपति र प्रधानमन्त्री बन्ने सुबर्ण अबसर अब अरु कस्ले पाउँछ र ? त्यसैले जान्नु हुन्छ भने मौकामा चौका हान्न जान्नुहोस र पार्टी त तपाईं र तपाईंका कार्यकर्ताको मात्र हो भने देश त सबैको भएकोले आजका मितिदेखि पार्टीलाई प्रधान र देशलाई गौंण नभएर देशलाई प्रधान र पार्टीलाई गौंण ठानी इतिहासमा नाम सुनौलो अक्षरले लेख्न मरेको भोलिपल्ट दुई दिन हुने यथार्ततालाई संस्मरण गर्दै राष्ट्रिय हितको लागि एकापसमा मिलेर काम गर्ने अठोट गर्नुमा नै सबैको भलो देखिन्छ ।


बोधार्थ तथा कार्यार्थ: माननीय बिज्ञान तथा प्रबिधि मन्त्री गणेश शाह – बिज्ञान र प्रबिधिको क्षेत्रमा उपर्युक्त कुराहरुमा दिइनु पर्ने यथोचित कार्यतत्परताका साथै हजारौं प्राबिधिक अप्राबिधिकहरुको साझा छाता मित्रकुन्जलाई पनि यथोचित ध्यान दिन सकिएको खण्डमा यसले पनि बिभिन्न तबरले देश बिकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्ने कुरामा सन्देह छैन, तर यस्को संगठनात्मक अवस्था गिर्दो अवस्थामा भएकोले डा केशर जंग रायमाझी, निलाम्बर आचार्य, हरि बहादुर थापा, तपाईं स्वयं, के कुबर, डा शरद वन्त जस्ता ब्यक्तिहरु केही समय संस्थामा बसी सबै सदस्यहरुलाई बिभिन्न उपायद्धारा गोलबन्द गर्दै राष्ट्रिय एबं अन्तरराष्ट्रिय संस्थाहरुसंग सम्बन्ध स्थापित गराइदिएर भाषण र आसन जस्ता कार्यक्रमहरुमा भन्दा उपलब्धिमूलक एबं अनुसन्धानमूलक ठोस कार्यक्रमहरुमा काम हुने किसिमले संयन्त्र बनाएर नयाँ पुस्तालाई हस्तान्तरण गरिदिनु भयो भने देशको लागि ठूलो योगदान दिएकै ठहर्छ भन्ने ठहर हो मेरो – कोही कोही झैं आफू पनि केही नगर्ने अरुलाई पनि केही गर्न नदिने किसिमले कुर्सीमा लिसो टाँसिए झैं टासिने प्रब्रित्ति पो उचित होइन त ।
Published links:
http://www.mysansar.com/2009/02/4144.html
http://www.facebook.com/note.php?note_id=68147476275

No comments:

Post a Comment