Saturday, July 10, 2010

लण्डन – मेलबर्न – लण्डन यात्रा

By रामकुमार श्रेष्ठ

यात्रा अधिकांश प्राय:को चाहना हुँदा हुँदै पनि कतिपय कारणले गर्दा चाहेको बेलामा चाहेको यात्रा संभब हुन सकिरहेको हुन्न । करीब डेढ दर्जन जति मुलुकहरुको यात्रा गरिसकेको मुलुकभित्रकै एउटा मुलुक अष्ट्रेलियाको पुन: यात्रा सकाएँ गत महिना अघि मात्र बिभिन्न कारणले गर्दा २ पटक मिति परिवर्तन गरेपछि । उत्सुकताभन्दा बढी कता कता पट्यारलाग्दो पनि भईरहेको थियो करीब २३ घण्टा लामो प्लेन यात्रा गर्नु पर्ने भएको कारण । हुन त मस्कोदेखि बेइजिङसम्मको लगातार १ हप्ता लामो यात्राको अनुभूति नभएको पनि होइन तर सो यात्रामा सहज तबरले सुत्न पाइने, स्वच्छ पर्याप्त हावाको अभाब नहुने अनि अन्य कतिपय कारणले गर्दा यात्रा अति रमाइलो भएको थियो (यसबारे बिपरीत गोलार्ध-२ मा अनुभूतिहरुलाई पोख्नेछु)। यस भ्रमणमा भने उपर्युक्त कुराहरुको अभाब, सीटमा नै सुत्न पर्ने भएको कारण सामना गर्न पर्ने कठिनाइ र स-परिवार (४ जना) भएको कारण झ्यालको सीट पाउन नसकिएकोले प्लेनबाटै गर्न पाइने द्रिश्याबलोकनबाट समेत बन्चित हुन पर्ने जस्ता कारणले मूलत: यात्राबधि हुनु पर्ने जति रोमान्चक हुन नसक्नु स्वाभाबिक थियो। त्यसमाथि बारंबार गराइएको सतर्कताको बाबजूद भएको हेलचेक्र्याइंले गर्दा छोरी पूजालाई लामो यात्रामा हुने बिसन्चो रोकथामको लागि औषधी खुवाउन नपाईएको कारण भोग्न परेको झमेलाको कथाको ब्यथा त झन अझ थियो नै। जे होस यो यात्राको एउटा बिशेष बिशेषता थियो – उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धको यात्रा । समयको कारणले गर्दा जाडोको मध्याबस्थामा रहेको ठाउँबाट गर्मीको मध्याबस्थामा रहेको ठाउँको यात्रा ।

नेपाली बिषय बस्तुलाई आधार बनाएर बिध्याबारिधि गरी कलेजमा प्राध्यापन गर्नु हुने अनि नेपाल र नेपाली भने पछि हुरुक्क हुने कलिन रोल्सको आग्रहलाई नकार्न नसक्नु र उनकोमा हामीलाई समेत यथेस्ट कोठाहरु भएको कारण नेपाली साथीहरुकहाँ नबसी उहाँकैमा बस्ने निर्णय गरेका थियौं। रातको १०:३० बजे प्लेन अबतरण गरेपछि अन्य देशको तुलनामा बढी कढाइका साथ चेक-अप गरिने अस्ट्रेलियाको चेक-अप सकाएर निस्कदा झन्डै ११:३० बजिसकेको थियो । ढोकाबाट निस्कने बित्तिकै हात हल्लाउँदै स्वागत गरेको पाइयो हाम्रो आगमनको प्रतिक्षामा झन्डै १ घण्टादेखि प्रतिक्षारत कलिनलाई । बाटोमा बिगत ४ बर्षको अबधिमा मेलबर्नमा खासै उल्लेखनीय परिवर्तन केही नभएको तर “लण्डन आइ” जस्तै “मेलबर्न आइ” बनेको तर उदघाटनको लागि पर्खिरहेको थाहा लाग्यो भने लामो समयदेखि पानी नपरेको तर सोही दिन मात्रै पानी परेको कारण अपेक्षा गरे जस्तो गर्मिको बाबजूद अकल्पनीय किसिमले केही चिसो बढेको पनि थाहा लाग्यो । ठट्टै ठट्टामा प्रकृतिले हाम्रो आगमनको खुशीयालिमा पानी पारिदिएको कुरो भयो । चिरपरिचित सडकहरु हुँदै करीब ४० मिनेटको ड्राइभपछि उनको घर चेत्लेनहाम पुग्यौं जहाँ उनका २ कुकुरहरु एभरेस्ट र बिन्दी हाम्रो स्वागतको लागि तम्तयार थिए । मेरा केटाकेटिहरु पुरक र पूजा बिशेष गरी पूजा एभरेस्ट र बिन्दीसंग खेल्न बेलायत छाडनु अघिदेखि नै प्रतिक्षारत र उत्साहित थिइन । गृह प्रबेशसंगै यत्रतत्र नेपाली सामान र मिथिला आर्टका सामानहरु देख्ने अबसर पाइंदा कता कता नेपाली साथीहरुकहाँ नै गएको अनुभूति भईरहेको थियो । मध्य रात भईसकेकोले धेरै समय कुराकानीतिर नबिताइ सुत्नतिर लाग्यौं भोलिका केही योजनाहरु बनाएर ।

रातको २:३० बजे पूजा हाम्रो कोठामा आइन सुत्न नसकेको भन्दै । वास्तबमा प्लेनमा धेरै बान्ता गरेको कारण बढीभन्दा बढी सुतोस भन्ने हाम्रो चाहना थियो र सुतिन पनि र अर्को कारण त्याहा रातको २:३० बज्दा बेलायतमा दिनको ४:३० बजेको कारण पनि सुत्न कठीन भएको थियो । हाम्रो चिन्ताको बिषय थियो कि हाम्रो कारणले कलिनको सुताइमा ब्यबधान पैदा भईदिने हो कि ? सानै भए पनि हाम्रा दुबै केटाकेटिहरु यस मामलामा अति नै संबेदनशील थिए र त्यस किसिमका कुनै समस्या उत्पन्न हुन पाएन पनि । झन्डै बिहान उठने बेलासम्म साउती पारामा कुराकानी भइरह्यो तीन जनाको बीचमा पूजालाई सुत्न प्रयास गर्न भनिए तापनि सुत्न नसकेपछि ।

भोलिपल्ट बिहानै कलिनले अनौठो जीबन कहानि भएको भियतनामी छिमेकी लीको जेठो छोरो जशलाई लिएर आइन पुरक र पूजाको साथीको लागि भनेर । भियतनाम युद्धताका लीकी आमा र एक अमेरिकनको भेटपछि उनीहरुबाट लीको जन्म त भयो, तर केही बर्षपछि तात्कालिन परिस्थितिको कारण ली र लीका पिताको लीकी आमासंग बिछोड भयो र लीका पिताले अर्की भियतनामीसंग बिहे गरेपछि तिनै आमासंग ली हुर्कन थालिन । ली सानै छंदा लीका पिता अमेरिका फर्के भने ली सानो पानी जहाजबाट एउटा सानो समूहसंग शरणार्थिको रुपमा अस्ट्रेलिया पसिन । अस्ट्रेलिया प्रबेसपछि लीको संपर्क पछिल्लो समय आफ्नो हेरचाह गर्ने आमासंग नियमित रुपमा रहिरह्यो । एक भियतनामीसंगको बिहेबारीपछि २ छोराकी आमा ली केही बर्ष अघि मात्र आफ्नै आमासंग संपर्कमा आउन सकिछन र केही बर्ष अघि मात्र संपर्क सूत्र फेला पारी अमेरिका गएर आफ्ना पितालाई समेत भेटन सफल भैछन । केही बर्षभित्र उनले आफ्नो जीबनमा प्राप्त गर्न सकेका यी उपलब्धिबाट प्राप्त हुने खुशीको हामी कल्पना मात्र गर्न सक्छौं । हाल लीकी आमा उनीसंगै अस्ट्रेलियामा नै छिन र फेंग सुइ (Feng Sui)सम्बन्धी परामर्स दिने काम गर्ने गरेकी रहिछिन । गत बर्ष ली कलिनसंग नेपाल गएकी रहिछिन र नेपाल अति मन परेको कारण पुन: नेपाल जांदै छिन । बुद्ध धर्मका अनुयायी ली बुद्ध धर्मसंबन्धी मन्त्रहरु समेत जप्ने गरेकी कारण हालसालै प्राप्त गरेकी अङ्रेजी रोमनमा लेखिएको संस्क्रितको लामो मन्त्र म नेपाली भएको कारण मलाई सो मन्त्र पढन लगाइ त्यसलाई कसरी शुद्धसंग उच्चारण गर्ने भनेर आफ्नो भाषामा लेख्ने र मैले पढेको रेकर्ड समेत गर्ने उनको योजना सुनाइन । उक्त भाषा संसारकै सबभन्दा पुरानो भाषा हुनुका साथै कठीन भएको र यस भाषाका ज्ञाता हाल बिस्तार बिस्तार घटदै गएको जानकारी पनि दिएँ । वास्तबमा उनको योजना मेरो लागि फलामको च्यूरा हुने अनुमान गरी सकेको थिएँ । सात कक्षासम्म मात्र सो भाषा पढेको भए तापनि भाषा र साहित्यमा केही रुची राख्ने र आफू पनि बिबिध कारणले गर्दा धेरै संस्क्रित मन्त्रहरुसंग नजिक रहेको कारण संस्क्रित पुरै पोलेर खाइ नसकेको कुरामा भने ढुक्क थिएँ । तर पनि “आफू त महदेब उत्तानो टांग कसले दिने बर” उखान संझन पुगी मुस्कुराएँ उनको योजना सुनेर । जे होस येनकेन प्रकारेण उनको योजना पुरा गर्ने काम भने गरिदिएँ ।

Group photo in Australia

म, मेरो पारिवारिक सदस्यहरु र नेपाललाई अति माया गर्ने बिदेशी साथीहरु: कलिन, ली र लीको एउटा छोरो

लामो यात्रा तर अति छोटो समयको भएको कारण कतिपय भेटघाटको कार्यक्रमा लण्डन छाडनु अघि नै तय भैसकेका थिए । पुगेकै भोलिपल्ट आइतबार भएको कारण उक्त दिनलाई भेटघाटको दिन बनाउने धेरै साथीहरुको चाहनालाई सार्थक रुप दिन संभब थिएन र सकिएन पनि । मित्र पवित्र भेटघाटकै लागि भनेर वार्नाबुलबाट मेलबर्न आउनु भएको कारण उहाँ प्राथमिकतामा पर्नु भएको थियो । संभब भए उक्त दिन अरु ३ परिवार (बद्री-जमुना, माधब र आभा-महेश)संग पनि भेटघाट गर्ने योजना मुताबिक प्रयास शुरु गरें,तर उहाँहरु बस्ने बसाइलाई रुट मिलाउन कठिनाई पर्ने भएकोले आभा-महेश परिवारलाई उक्त दिन दिन असंभब देखियो र बद्री-जमुना र माधव परिवारलाई एकै ठाउँमा भेटन सकिने भएको कारण दिउँसोको खाना त्याहा लिएर बेलुकीको खाना पवित्रकहाँ लिन पुग्ने निर्णय गरियो । समय केही बाँकी भएकोले मेण्टन बीच गइयो जहाँ केटाकेटिका बिभिन्न समूहहरुलाई पौडी खेल्दा आइपर्ने आपतकालीन समस्याबाट कसरी बच्ने भन्ने तालीम दिइेएको देखियो जुन अति सान्दर्भिक देखिन्थ्यो समुन्द्रमा बारंबार आइरहेका ठूला छालहरुले गर्दा । बीचमा केही समय बिताएपछि पूर्व निर्धारित कार्यक्रमानुसार भेटघाट गरी दिन बिताइयो ।

सोमबार स्विङ्सिफ्ट्का मैनेजर लिजसंगको भेटघाट तय भईसकेको कारण केही समयको घुमघामपछि लिजसंग भेटघाट गर्ने काम सकाएर छोरी पूजा पढेको स्कूल जाने निधो गरेका थियौं । हामी अस्ट्रेलिया जाँदा पूजा भर्खर २ बर्षको भएकी र घरका सदस्यहरु र काम गर्नेसंग बाहेक अरुसंग पटक्कै नमान्ने भएकोले झन्डै ४ महिना मैले पुरै समय सो स्कूलमा बिताएको थिएँ पूजा बिस्तार बिस्तार त्याहाँ घुलमिल नहुन्जेल । मैले पूजालाई स्कूल छाडन थालेपछि करीब २ बर्षको अबधिमा पनि असाध्यै कम बोल्ने भएको कारण उनमा के कस्तो परिवर्तन आउँछ भन्ने सबैको जिज्ञासाको बिषय थियो र उनमा आउने परिवर्तनबारे जानकारी संभब भएसम्म दिनको लागि भनिएको थियो । करीब ४ बर्षको अन्तरालमा पूजामा आएको धेरै परिवर्तनले सो स्कूलका सबैलाई आस्चर्य चकित पार्ने भएकोले जसरी पनि त्यहाँ जाने निर्णय गरेका थियौं र वास्तबमा पूजालाई देखेर सबै खुशी त भए भए साथै अति आस्चर्य पनि । त्यहाँबाट हाम्रो पुरानो बसाइ फ्लेमिङ स्ट्रीट्को छिमेकी शेलीलाई भेटन गयौं एक्लै बस्ने बुढीको अवस्था बुझ्नको लागि भनेर । लामो समयसम्म ढोका नखोलेपछि अगाडिको घरको फिलिपिनोको ढोका ढकढक्याउन पुग्यौं । लामो समयको भेटघाटपछिको खुशीयालिको आदान प्रदानपछि शेलिको अवस्थाबारे जिज्ञासा राख्दा उनलाई शुरुमा त्यहि नजिकको नर्सिङ होममा केही समय राखिएपछि अन्यत्रै कतै सारिएको तर कहाँ भन्ने जानकारी नभएको थाहा लाग्यो । मानबताको नाताले छिमेकिको रुपमा रहेकी बुढी महिलालाई जसरी प्राथमिकता दिएर भेटन आइयो, भेटन नपाउंदा भने खिन्न हुँदै ५ बजे एलिजाबेथ स्ट्रिटमा आभासंगको भेटघाट्को लागि भनेर त्यता लाग्यौं फिलिपिनो परिवारसंग बिदा भएर ।

निर्धारित ठाउंमा पुग्दा पूर्व निर्धारित समय ५ बज्न केही समय बाँकी भएकोले एलिजाबेथ स्ट्रिट नजिकै रहेको काठमान्डौं पसलमा छोरा, छोरी र श्रीमतिलाई पठाएर म आभाजीलाई पर्ही बसें । ठीक ५ बजे आभाजी आइपुग्नु भयो र एक्कैछिनमा उहाँको श्रीमान । हामी सबै काठमान्डौं पसल गै त्यहां सबै जम्मा भएर केही बेरको घुमघामपछि अन्य दिनमा आभाजीकोमा जाने समय मिलाउन कठीन देखी तत्काल उहाँकोमा गएर हतार हतार सामान्य खाना खाएर फर्केको खण्डमा करीब १० बजेतिर चेत्लेन्हाम पुग्ने अनुमानका साथ अनायास प्रेस्टन जाने निर्णय गरें उहाँकोमा नगएकोमा उहांहरुले चित्त दुखाउने हो कि भन्ने ठानी । तर हामी चेत्लेन्हाम (घर) पुग्दा रातको १२ बजिसकेकोले कलिनलाई कुनै असुबिधा नपुगोस भनी बिस्तार बिस्तार आ-आफ्नो कोठामा गै सुत्यौं ।

मंगलबार मेलबर्न यूनिभर्सिटिका बरिस्ठ अनुसन्धानविद जेनी लिविङ्स्टन (मेरी श्रीमतीको MPH गर्दाखेरिको शिक्षिका) संगको भेटघाट तय भैसकेकोले निर्धारित समय अघि बजार घुम्ने कार्यतिर लाग्यौं । निर्धरित समय हुन आधा घण्टा बाँकी हुँदा निर्धारित स्थानमा जान लाग्दा सोही यूनिभर्सिटी नजिकै रहेको अक्स्फाममा कार्यरत इन्जिनियर प्रफुल्ल अनायास भेट भएकोले केही बेर भलाकुसारी गरी समयले साथ दिएमा भोलिपल्ट भेटघाट गर्ने सहमतिका साथ मूल कामतिर लाग्यौं ।जेनीलाई भेटेपछि यूनिभर्सिटिकै एउटा क्याफेमा एकाध घण्टा बितायौं र उनीसंगको भेटघाटको क्रममा आफ्ना 2 पूर्व MPH बिद्यार्थीहरुलाई सहायकको रुपमा लिएर अनुसन्धान गरिरहेको र हामी छिटोभन्दा छिटो मेलबर्न जान सकेको खण्डमा मेरी श्रीमतीका लागि समेत अनुसन्धानको क्षेत्रमा राम्रा संभाबना रहेको बताउँदै छिटोभन्दा छिटो मेलबर्न आउने कार्यमा सफलता मिलोस भन्ने शुभ-कामना ब्यक्त गरिन ।

जेनिसंगको भेटघाटपछि हामी मेलबर्नको मुटु एलिजाबेथ स्ट्रिटमा अबस्थित Gurkhas Institute of Technology तिर लाग्यौं । अति मेहनती, मिलनसार र सहयोगी चन्द्र योन्जन मेलबर्नमा छ्: रेष्टुरेन्टका मालिक मात्र नबनी यसपालिदेखि उक्त Institute समेत खोल्न सफल हुनुभएको छ भने मेलबर्नको लागि Consulate General समेत बन्नु भएको छ यसै बर्षदेखि । केही दिन अघि मात्र कलेजको कामले नेपाल जानु भएकोले उहाँको सम्पूर्ण कार्यभार संहाली राख्नु भएकी लक्ष्मी भाउजूसंग मात्र भेट गर्न सकियो उहाँको अफिसमा । उहाँहरुको छोरो रबिको परीक्षाको कारण पुरकको ऊसंग भेटने धोको भने पुरा हुन सकेन ।

बेलुकी सात बजे कलिनले योन्जनको प्रहरनको चापेल स्ट्रीटमा अबस्थित रेस्टुरेण्टमा सानो जमघट र भोलिपल्ट हाम्रो अस्ट्रेलिया छाडने दिन भएकोले डिनरको आयोजना गरेकीले इन्स्टिच्युटपछि हामी सिधै त्यतै लाग्यौं । त्यहाँ कलिन र अन्य २ जन अस्ट्रेलियन मित्रहरु पहिल्यै पुगिसक्नु भएको रहेछ र २ मध्य १ जनाको नाम पनि कलिन नै रहेछ तर उहाँ भने पुरुष हुनुहुन्थ्यो र उहाँले आफ्नो ट्राभल एजेन्सी मार्फत मानिसहरु नेपाल पठाउने गर्नुहुदो रहेछ । केही समयपछि ली आफ्ना श्रीमान र २ छोराहरुका साथ आइपुगिन । यसरी जमघट अन्तरराष्ट्रिय भए तापनि अधिकांश प्रसंग नेपाली हुने गर्थ्यो ।

बुधवार हाम्रो बेलायत उडने दिन भएकोले कलिन कामबाट छिट्टै आउने र उहाँ आउने बित्तिकै हामी पार्कडेलमा अमेलियाको घर जाने कार्यक्रम थियो । अमेलिया नेपाल र नेपाली भनेपछि हुरुक्कै हुने अर्की अस्ट्रेलियन महिला हुन । पेन्सनमा बसिसकेकी उनी आर्ट र लेखन कार्यमा रुचि राख्छिन । एउटा पुस्तक प्रकासित गरिसकेकीले त्यसबाट प्राप्त हुने रोयल्टिले रिटायर्ड जीबन अरु बढी सहज बनाएकोछ । बुढेसकालमा उनी अर्को पुस्तक प्रकासित गर्ने धुनमा छिन । हामी उनको घरमा पुग्ने बित्तिकै हामी सबैलाई अंकमाल गर्दै स्वागत र खुशीयालिको शुरुवात गर्छिन । मेरो परिबारका सबैको लागि तयार गरिराखेकी उपहार दिएपछी मेरी छोरी पूजालाई बोलाएर उनको डाइनिग रुममा लिएर गइन । त्यहाँ मेरी छोरीको लागि अनौठो सरप्राइज तयार गरेकी रहिछिन – ४ बर्ष अघि हामी केही दिन उनको घरमा बस्दा पूजालाई केही आर्ट गर्न लगाएकी थीइन र ती आर्टहरुलाई अध्यापि सुरक्षित राखी उनको डाइनिग रुममा राखेकी रहिछिन ४ बर्ष बितिसक्ता पनि । यसले हामीलाई आस्चर्यचकित तुल्यायो । यदि ती आर्टहरु हामीसंग हुन्थे भने कहाँ कहाँ पुगिसकेका हुन्थे ठेगान छैन । केही समयको भलाकुसारी पछि पूर्व निर्धारित कार्यक्रम अनुसार पार्कडेल बीचमा रमाइलो गर्न केही खानेकुरा घरैबाट लिएर र केही किनेर बीचतिर लाग्यौं जहाँ लीका श्रीमान र उनका २ छोराहरु पुगिसकेका थिए । ली भने अर्को दिनको लागि तयारी गर्नु पर्ने परीक्षाको कारण आउन सक्नु भएको थिएन । बीचको रमाइलो सकाएपछि छिटोभन्दा छिटो मेलबर्न आउने कार्यमा सफलता मिलोस भन्ने अर्को शुभ-कामना लिएर अमेलिया र लीको परिवारबाट छुट्टियौं । सबै प्याकिङ काम सकाइसकेकोले उडान मद्यरातमा भए तापनि कलिनलाई छिट्टै छुटकारा दिने अभिप्रायले चेत्लेनहाम पुगेर केही समयमा नै एयरपोर्टतिर लाग्यौँ । यसरी अति छोटो समयको अति महंगो यात्राको अन्त्य हुन गैरहेको थियो ।

संपूर्ण शुभ चिन्तक तथा साथी भाईहरुको हामी मेलबर्न नै पुन: फर्कोस भन्ने चाहना हुनुका साथै मेरो समेत बरिस्ठ स्ट्रक्चरल इन्जिनियरको जब अफ्फर सेन्ट्रल मेलबर्नमा नै पाइसकेर पनि र हामीहरुको समेत् बेलायतको तुलनामा अस्ट्रेलिया नै रहने इच्छा हुँदाहुँदै पनि बर्तमान बिस्व आर्थिक मन्दीको कारण बेलायतको घर निकै कम मूल्यमा बेच्न पर्ने बाध्यता र सोही समयमा श्रीमतिको स्वास्थ्यमा समेत प्रतिकूल असर परेबाट अस्ट्रेलियामा बसाइ सर्ने काममा ब्यबधान खडा भैरहेको छ । हेर्दै जाऔं भबिस्यले कसरी कसरी कता कता डोर्याउँदो रहेछ ।

Published link: http://www.shrijana.com/000/?p=2172

http://nepalmelbourne.com/?p=1508#more-1508

http://www.facebook.com/note.php?note_id=127301111275&ref=nf

No comments:

Post a Comment