Sunday, November 21, 2010

कपिलवस्तु अभियान र जंगे पिलरहरु

By शिवजी श्रेष्ठ

करिब १० वर्ष अगाडि लन्डनको म्याडम टुसाद भ्रमण गर्न जाँदा दलाई लामाको मूर्तिमा राखिएको उनको चिनारीमा आँखा टक्क अडियो जहाँ लेखिएको थियो "बुद्धको अनुयायी" । बुद्धलाई कोष्ठभित्र "भारत" भनी उल्लेख गरिएको देखेपछि पंक्तिकारको मन अमिलिएको थियो । त्यतिखेर लाग्यो- नेपालसँग २ सय वर्ष पुरानो ऐतिहासिक सम्बन्ध भएको देशमा त "बुद्ध"; को बारेमा त्यस्तो भ्रम छ भने अन्यत्र के होला अझ त्यसमा भारतमा कपिलवस्तु निर्माण गर्ने क्रम लगभग समाप्तितिर पुगिरहेको अवस्था छ ।

जब कुनै वस्तु व्यक्ति वा स्थानको आफ्नै किसिमको महत्व हुन्छ तब त्यसमाथि स्वाभाविकरुपमा सबैको ध्यानाकर्षणसँगै हकदाबी पनि सुरु हुन्छ नै । सायद यही भइरहेछ अहिले । जब-जब बुद्ध सिद्धार्थ गौतम को सर्वोपरि महत्व बढ्दै गयो संसारको ध्यानाकर्षण हुँदै गयो । भारतलाई तत्कालीन ऐतिहासिकताको फाइदा लिन इच्छा जाग्यो । भारतको विश्व प्रभावका कारण बुद्ध भारतमा जान्मिएको भन्ने भ्रम फैलाउन ऊ सफल भइरहेको छ । सबैभन्दा अचम्म त के छ भने बुद्धको बारेमा फैलिएको भ्रमको बारेमा बौद्धिक जगत् तथा बुद्धसँग सम्बन्धित संघसंस्थाहरु अस्वाभाविकरुपमा मौन छन् । त्यसमा पनि सरकारी निकायको बेवास्ता त छँदैछ । तेन्जिङ शेर्पा सगरमाथा आरोहण गरिसकेपछि भारतीय नागरिक हुन जानु, आप्पा शेर्पा बीसौं पटक सगरमाथा चढेपछि अमेरीका बस्न जानुपर्ने अवस्था सिर्जना हुनु दुःखलाग्दो विषय हो । त्यसमाथि देश नै राजनीतिकरुपमा नाजुक अवस्थामा छ । यस्तो अवस्थामा नेपालमा जन्मिएका बुद्धको बारेमा सरकारी अन्योल हुनु नौलो विषय होइन पनि ।

तर यसबीचमा जनस्तरबाटै भएपनि संसारभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले कपिलवस्तु दिवस अभियानको रुपमा बुद्धको बारेमा रहेका भ्रम चिर्दै प्रचारात्मक तवरलॆ प्रयास थालेका छन् जुन आशालाग्दो एवम् उत्साहजनक छ ।

बुद्धको बारेमा भ्रम किन भारतले किन नक्कली लुम्बिनी खडा गर् यो जस्ता प्रश्नहरुको ऐतिहासिक विश्लेषण जरुरी छ । कतिपयको तर्क छ- जुनबेला बुद्धको जन्म भएको थियो त्यसबेला नेपालको अहिलेको भौगोलिक स्वरुप नै थिएन । यो सत्य हो तर अहिलेको भारतको स्वरुप पनि थिएन यो पनि यथार्थ हो । विगतको इतिहासलाई विश्लेषण गर्ने हो भने केही शताब्दी अगाडि पुग्नेबित्तिकै सबै राष्ट्रका वर्तमान भूगोलहरु यथास्थितिमा पाइँदैनन् । तर अकाट्य तथ्य के हो भने विगतमा फरक-फरक हैसियत वा पृष्ठभूमिमा रहेका भूभागले बोकेका इतिहासहरु वर्तमानमा तिनिहरुको स्वरुपसँगै एकाकार हुन्छन् । त्यसरी नै कोशल राज्य कपिलवस्तु हुँदै बनेको कपिलवस्तुको इतिहास पनि वर्तमान नेपालसँग एकाकार हुन आउँछ ।

इतिहासलाई हेर्दा नेपालको पश्चिम तराईमा अवस्थित शाक्य राज्य सिद्धार्थ गौतमको पैतृक राज्य थियो । मानषि बुद्ध कनकमुनि र क्रकुच्छन्दको जन्मथलो पनि जिग्लिहवा र गोटिहवा हो जुन कपिलवस्तुमै पर्छ । यसको इतिहास इसापूर्व नवौं शताब्दीसम्म पुगेको देखिन्छ । कपिलवस्तु राज्य र शाक्य वंशको नामाकरणका बारेमा सुमंगल महावस्तु दिग्घनिकाय आदि बौद्धिग्रन्थहरुमा विभिन्न कथा तथा सन्दर्भ उल्लेख छन् । कौशल राज्यका राजा ओकाक वा इक्ष्वाकुकी जेठी रानीको मृत्युपछि कान्छी रानी जयन्तीको काखबाट जन्मिएका जयन्त कुमारले गद्दी प्राप्त गरोस् भन्नका लागि रानीको आग्रहमा राजाले जेठी रानीबाट जन्मिएका सबै सन्तानलाई राज्य निकाला गरे । राज्यविहीन उनीहरु घुम्दै जाँदा कपिलमुनि ऋषिको आश्रममा पुग्दा उनैको सल्लाह मुताबिक सालको रुख कटान गरी बस्दै जाँदा वस्ती विस्तार हुन गयो । यसलाई ऋषिकै नाममा कपिलवस्तु भनियो । तिनै राजा ओकाकले वस्तीमा पुगी प्रशन्न भएर "शक्य"....."शक्य" भनी बोलाएको हुँदा शाक्य कहलिन थालिएको ग्रन्थमा उल्लेख छ । तिनै वंशमा सिद्धार्थ गौतमको जन्म भयो र ज्ञान प्राप्तिपछि गौतम बुद्ध कहलिए । तिनकै कारण कपिलवस्तुको महिमा बढ्न जाँदा भारतीय दाबी पनि बढ्न गएको हो ।

कौशलराज्यका पुसेनजितका छोरा विरुद्धकले तीनपटक आक्रमण गरी शाक्य वंशको अन्त्य गरेपनि धार्मिक तथा सांस्कृतिकरुपमा महत्वपूर्ण भएकोले बौद्ध धर्मका अनुयायी तथा अन्वेषकहरु यहाँ आई उत्खनन् तथा अध्ययन गरेको पाइन्छ । सम्राट अशोक चिनियाँयात्री शु-चिङ्-चु दयन सांग फाहियान खस राजा रिपु मल्ल चौथोदेखि सातौं शताब्दीसम्म यहाँ आएको प्रमाण पाइएको छ ।

आधुनिक समयमा कपिलवस्तुको खोजी झन् व्यापकरुपमा हुन गयो । सन् १८९५-९६ मा जर्मनका पुरातत्वविद् भारतको पुरातत्व विभागको निर्देशनअनुसार यस क्षेत्रमा आई मौर्य सम्राट अशोकले गोटिहवा निग्लिहवा र लुम्बिनीमा राखेका स्तम्भहरु फेला पारे जसमा पुरातत्वविद् फ्युहरर र नेपालका पूर्व कमान्डर इन चिफ खड्क शमशेरको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । निग्लिहवा र लुम्बिनीमा ब्रह्मी लिपिका अभिलेखहरु लिखितरुपमै फेला पर्नाले बुद्धको नेपालसँगको नातालाई प्रामाणिक स्वरुप दिन सजिलो भयो । इ।सं। १८९८ मा पीसी मुखर्जी सन् १९६२ मा देवला मित्र १९७६-८६ सम्म रिएसो विश्वविद्यालय जापान इटालीको इस्मियो जापानका बौद्ध संघ नेपालका पुरातत्व विभाग लुम्बिनी विकास कोषलगायतको खोजमा थप प्रमाणहरु भेटिएका छन् ।

यी माथिका खोज र उत्खनन्बाट भेटिएका प्रामाणिक स्तम्भ तथा शीलालेखबाट बुद्धको जन्मस्थललगायत सम्बन्धित कुराहरुको बारेमा प्रष्ट्याउँदा-प्रष्ट्याउँदै भारतले नक्कली लुम्बिनी वा कपिलवस्तुको स्थापना गर्नु बुद्ध भारतमा जन्मिएको हो भनेर प्रचार गर्नु उदेकलाग्दो कुरा हो । सबैभन्दा अचम्मलाग्दो कुरा त माथि उल्लेख गरिएका उत्खनन् कार्यमा भारतीय अन्वेषकमात्र नभएर भारतीय सरकारी निकायकै विशेष संलग्नता अझ भनौं पहलकदमी देखिएको छ । भारतमा मौर्य सम्राट अशोकलाई श्रद्धा र सम्मानले हेरिन्छ जुन हालको भारतको अशोक चक्रबाट नै प्रमाणित हुन्छ । तर तिनै अशोकले बुद्धको बारेमा आफै आई स्थापना गरेको अशोक स्तम्भलाई नै छायामा पार्न खॊजेर भारतले आफैलाई गिज्याएको छ ।

सबैभन्दा सोचनीय कुरा हाम्रो सरकारी निकायको तटस्थता र बौद्ध संघ-संस्थाको मौनता अचम्मलाग्दो छ । बुद्ध हाम्रोमात्रै हो भन्न पो अप्ठ्यारो बुद्ध जन्मेको ठाउँ हाम्रै कपिलवस्तु जिल्लामा पर्छ भन्न केको अप्ठ्यारो सत्यलाई सत्य भन्न अरुले आफ्नो गौरवप्रति दाबी गर्दा सत्य र यथार्थ कुरा बोल्न किन डर किन अप्ठ्यारो?

दाबी गर्नुको पनि एउटा हद हुन्छ । एउटा प्रसंग निकाल्न चाहन्छु । कार्डिक युनिभसर्िटीमा कार्यरत एक भारतीय भित्रले सीता पनि भारतमै जन्मिएको भनिदियो । झोक चलेपनि धैर्यसाथ तर्क दिँदै तिम्रै देशकी महारानीले जनकपुरमा नौलखा मान्दिर बनाइदिएको बताउँदै जनक राजाको राजधानी जनकपुर नेपालमा भएको मेरो तर्क काट्दै उसले भनेथ्यो "जनकले नेपालबाट हलो जोत्दै जाँदा जहाँ सीता भेटिइन् त्यो ठाउँ भारतमा पर्दथ्यो ।" मनमनै सझिएँ- अब पालो भृकुटीको होला । अझ सम्झिएँ- कसो सगरमाथा पनि दक्षिणको सीमातिर परेन ।

जे होस् सम्बन्धितहरुको मौनता तटस्थता जे भएपनि कपिलवस्तु दिवस अभियानको नाममा सचेत नेपालीहरुले चलाएको अभियान स्तुत्य छ कर्तव्यपूर्ण छ अनि सफलोन्मुख पनि ।


No comments:

Post a Comment