Showing posts with label नियात्रा. Show all posts
Showing posts with label नियात्रा. Show all posts

Wednesday, August 11, 2010

मस्कोदेखि बेइजिङसम्म

(बिपरीत गोलार्ध – 2)

*रामकुमार श्रेष्ठ

आफ्नो इन्जिनियरिङ्ग अध्ययन सकाएर स्वदेश फर्कन पर्ने बेला भएको र चीन समाजबादी देश भएको कारण तात्कालिन परिस्थिति अनुसार नेपालबाट चीन सामान्य अवस्थामा जान संभब नभएकोले बिस्वका सात आस्चर्यमध्यका एक The Great Wall हेर्ने इच्छा पुरा गर्नका खातिर जसरी पनि चीन जाने निर्णय गरेको थिएँ धेरै यूरोपेली मुलुकहरुको यात्रा गरिसकेकोले । यो कुरा हो १९९१ को । चीन भर्खर भर्खर बिस्वको लागि खुला गरिएको र मस्को – बेइजिङ ट्रेन हप्तामा २ वटा मात्र भएकोले मस्कोबाट बेइजिङ जाने टिकट हात पार्नु निकै कठीन काम थियो त्यस बेला यूरोपेलीहरुको लागि अति चल्तिको रुट भएकोले । बिहान सबेरैदेखि टिकटको लागि धाउँदा पनि कैयौं दिनसम्म टिकट हात पार्न नसकेपछि बढी पैसा तिरेर (५० अमेरिकी डलर) एकतर्फी यात्राको लागि एक हप्ता लाग्ने सो यात्राको दुई तर्फी टिकट् हात पारें झण्डै दुई महिनापछिको यात्राको लागि । बढी पैसा तिरेर पनि त्यति सस्तोमा त्यति लामो यात्राको टिकट हात पारेको सुन्दा सबैलाई अच्चम्म लाग्न सक्छ, तर त्यस बेलाको रुसमा हरेक कुरा यति सस्ता हुन्थे कि जसबारे बर्णन गर्ने हो भने बूढा बूढीहरुले उनीहरुको समयको बर्णन गर्दा हामीलाई कथा लागे जस्तै लाग्न सक्छ अन्य ब्यक्तिहरुको लागि । बिपरीत गोलार्ध – १ को यात्रा उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धतर्फको थियो भने यस यात्राको बिशेषता हुनेछ - पश्चिमी गोलार्धबाट पूर्बी गोलार्धको यात्रा ।

मस्कोदेखि बेइजिङ्सम्मको यात्राको समयमा रुसमा भएको घटनाको ऐतिहासिक महत्व रुसको लागि मात्र नभएर बिस्वकै लागि ठूलो छ । मेरो यात्रा शुरु हुने दिन थियो २० अगस्ट, तर १९ अगस्टमा तात्कालिन कट्टरपन्थी रुसी कम्युनिस्टहरुले क्रिमिआमा बिदा मनाइरहेका तात्कालिन रुसी रास्ट्रपति मिखाइल गोर्बाच्योभलाई अपदस्त गरी शाशनको बागडोर आफ्नो हातमा लिएका थिए । केजिबी र पुलिसका प्रमुख लगायत ८ जनाको समूहले देशलाई राष्ट्रिय दुर्घटनाबाट जोगाउन भनी उक्त कदम चालेका थिए । उक्त दिन बिहान सात बजेदेखि रेडियो र टेलिभिजनहरुले मिखाइल गोर्बाच्योभ शारीरिक अश्वस्थताको कारण राष्ट्रपतीय दायित्व बहन गर्न असमर्थ भएको खबर प्रसारण गरिरहेका थिए । रेडियो र टेलिभिजनहरुले मनोरन्जनका सामाग्रीहरु बन्द जस्तै गरेका थिए भने क्लासिकल संगीत र समाचारहरु मात्र प्रसारण गरिरहेका थिए । कट्टरपन्थीहरुले बोरिस यल्त्सिनलाई उन्को १७ अगस्टको काजाकस्तानको भ्रमणको बेलामा अथबा त्यस्को लग्गत्तै मस्को नजिकै रहेको उन्को दाचामा कब्जा गर्ने योजना केही कारणबश त्यागिदिए जुन उनीहरुको योजना बिफल हुनुका कारणमध्येको एक थियो । अमेरिकी रास्ट्रपति जर्ज बुश आफ्नो छोटो बिदा नसकाइ बिचैमा ह्वाइट हाउस फर्किए र कुलाई बिकास बाधकको संज्ञा दिए । यत्रतत्र तैनात गरिएका ट्यांकका बाबजुद १९ अगस्टकै बिहानको ९ बजे नै यल्त्सिन रसियन संसद भबनमा आइ इभान सिलाएभ र रुस्लान खस्बुलतोभका साथ मिलेर देशमा असंबैधानिक तत्वहरुबाट कु भएको भन्दै घोषणापत्र जारी गरे र सैनिकलाई त्यसमा सहभागी नहुन आग्रह गर्नुका साथै गोर्बाच्योभलाई जनताको नाममा संबोधन गर्न आग्रह गर्दै हडतालको आह्वान गरे । मस्कोबासीहरु दिउँसोदेखि संसद भबन आइ यसलाई घेराबन्दी गर्नतिर लागेकाले गेन्नाडी एनाएभले दिनको ४ बजे संकटकालको घोषणा गरे भने ५ बजे एउटा प्रेस कन्फेरेन्समा गोर्बाच्योभ देशबासीको नाममा संबोधन गर्न शारीरिक अस्वस्थताका कारण असंभब भएको जीकिर गरे । यता ट्यांक तैनात गर्ने समूहका प्रमुख मेजर एव्डोकिमोभ भने केही लिबरल भैदिएका कारण यल्त्सिन एउटा ट्यांकमा चढेर एकत्रित समूहलाई संबोधन गर्न पुगे जुन घटनालाई बेलुकिको टिभिले प्रसारण गरिदियो ।

भोलिपल्टको यात्राको लागि दिउँसो ओदेस्साबाट मस्को उडन पर्ने थियो, तर केही साथीहरु रुस छाडेपछि फर्कन नपाईन पनि सक्ने संभाबना भएकोले मेरो सो कार्यक्रम रद्द गर्ने सल्लाह दिइरहेका थिए तर पनि आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुसार जब म बेलुकी मस्को पुगें त राती अबेरसम्म ब्यस्त हुने मस्को साँझको लग्गत्तैपछि नै सुनसान जस्तै देखिन्थ्यो । मेट्रोबाट बाहिर निस्कने बेलामा एकदमै सुनसान जस्तै भएको कारण भित्रभित्रै एक किसिमले डर लागिरहेको कारण छिटोभन्दा छिटो गन्तब्यस्थल पुग्न छिटोछिटो हिडिरहँदा २ जना बूढाबूढी एकदमै दबेको स्वरमा कुरा गरेको सुनेर अलि ढिलो गरी हिंडन थालें । उनीहरु भनिरहेका थिए -”ख्वै के हो के हो, कोही भन्छन नजरबन्दमा छ रे अनि कोही भन्छन मारिसक्यो रे । अब के के हुने होला !” मलाई अडकल काटन कुनै कठिनाइ भएन प्रसंग गोर्बाच्योभको बारेमा चलिरहेको छ भनेर । म फेरि कदम छिटोछिटो चाल्छु त्रासमय बातावरण छोट्याउने अभिप्रायले र केही बेरपछि गन्तब्य स्थानमा पुगेर तयार भइसकेको खाना खाँदै चलेका बिभिन्न हल्लाहरु र अडकलबाजीहरुको कुराकानी गर्दै सुत्छौं अब भोली के के सुन्न र देख्न पर्ने होला त भन्दै ।

२० अगस्टमा के हो के हो ठानी आवश्यकताभन्दा धेरै अघि नै ट्रेन स्टेसन पुगें, तर आफ्नो सीटमा पुगेर बस्ने बित्तिकै भित्र भित्रै कता कता एक हप्ता लाग्ने लामो यात्रामा बाँकी ३ सीटमा नेपाली, अंग्रेजी, हिन्दी र रुसी भाषामध्ये कुनै पनि भाषा बोल्न नसक्ने बिदेशीहरु परिदिएको खण्डमा यात्रा सहज र रमाइलो हुन सक्ने संभाबना नहुने चिन्ताले सताउन थाल्यो । त्यही ट्रेनमा कुनै पनि नेपाली नहुने तर मंगोलिया पुगेपछि भने २ जना परिचित नेपाली मित्रहरु अर्को ट्रेनबाट आएर म चढेको सोही ट्रेनमा यात्रा गर्नु पर्ने जानकारी पाइसकेको थिएँ, तर त्यति बेला यात्राको झन्डै पाचौ दिन भैसकेको हुने थियो । सोंच्दसोंच्दै एउटी अधबैंसे महिला आइपुगिन, बुझ्दा उनी चीनमा रुसी भाषा पढाउन जान लागेकी रहिछिन र उनको नाम थियो तान्या । कुरा गर्दा गर्दै केही छिनमा अर्की अधबैंसे महिला आइपुगिन, जस्को नाम थियो अलबर्टिना । त्यस ट्रेनमा हल्याण्डको ४० जनाको समूह यात्रा गर्दै रहेछ र उनी त्यस समूहकी टोली नेत्री भएकी र उनमा आफ्नो भाषाका अतिरिक्त अंग्रेजी र चिनीया भाषामा राम्रो ज्ञान रहेको जानकारी प्राप्त भयो कुराकानीको सिलसिलामा । केही समयपछि एउटी बूढी चिनीया महिला आइन । यसरी ४ बिभिन्न देशको हामीहरुमध्ये कुनैले केही भन्न खोजेको खण्डमा एकले अर्कोलाई बुझाउँदै सबैको कुरा सबैले बुझ्न बुझाउन सकिने राम्रो अन्तरराष्ट्रिय समूह बन्यो । हाम्रो कम्पार्टमेण्ट ट्रेनको करीब बीचतिर रहेकोले त्यो अर्को फायदा थियो जस्ले गर्दा अति लामो ट्रेनको बीचमा रहने रेस्टुरेण्टमा जान धेरै हिडन नपर्ने भएकोले ।

यात्रा शुरु भयो र यात्रा शुरु भएकोमा ताली र सिट्ठीबाट अनुमान गर्न सकिन्थ्यो सबै कति खुशी थिए भनेर । यात्राको रमाइलो हुँदाहुँदै पनि सबैको ध्यान रुसमा भएको तात्कालिन परिबर्तनबाट टांढिन सकिरहेको थिएन । रेडियो हुनेहरु समाचारहरु नियमित सुन्ने गर्थे भने रेडियो हुनेसंग नहुनेहरु समाचार अपडेट गर्ने गर्थे । ट्रेनको गतिको कारण रेडियो सुन्नमा कठीनाइ उत्पन्न हुने भएकोले रोकिनुपर्ने स्टेशनमा १०-१५ मिनटको लागि रोकिंदा रेडियो हुनेको वरिपरि बसेर समाचार सुन्न सकभर कोही चुक्थेनन । मेजर एव्डोकिमोभ केही लिबरल भैदिएका कारण २० अगस्टको मध्यान्हतिर उनलाई त्यहाबाट हटाएर यानाएभले जनरल कालिनिन नियुक्त गरे सो प्रयोजनको लागि जस्ले २० अगस्टको रातको ११ बजेदेखि बिहानको ५ बजेसम्म्को लागि कर्फु जारी गरे । संसद भबन घेरिराख्ने प्रदर्शनकारी बिरुद्ध ट्यांक र हेलिकप्टरद्वारा आक्रमण गर्ने योजना बन्दा यस्ले रक्तपात निम्त्याउने भएकोले असंभब भनी बिबाद देखा परे पनि बिहान २ बजे आक्रमण गर्ने योजना तयार भयो तर योजना मुताबिक टुकडिहरु सन्चालन गरिएनन बरु गोर्बाच्योभसंग संझौता गर्ने भनी बिहान ५ बजे उनलाई भेटन प्रतिनिधि मण्डल क्रिमिया पुगे । तर गोर्बाच्योभले उनीहरुलाई भेट गरेनन बरु सत्तामा फर्किए र कुमा संलग्न १ जनाले आत्महत्या गरेकाले बाँकी ७ जनालाई गिरफ्तार गरे । यसरी ३ दिन भित्रै उक्त कुको अन्त्य भयो ।

मंगोलिया हुँदै मस्कोबाट बेइजिङ पुग्दा करीब ६५५२ कि मि दूरी तय गरिने रहेछ । वास्तबमा यो कुनै नयाँ बनेको रुट नभएर यो त १८९१ मा नै शुरु गरी ९०००० भन्दा बढी कामदार प्रयोग गरेर मस्कोदेखि भ्लादिभोस्टकसम्म करीब ६००० माइल दूरीको रेलमार्ग बनाइएको रहेछ १४ बर्ष लगाएर । मस्कोदेखि बेइजिङ्सम्मको यात्राको क्रममा बीचमा ३ महत्वपूर्ण स्थानहरु पार गरिन्छ : साइबेरियाको इर्कुत्स्क ; बिस्वकै सबभन्दा पुरानो, सबभन्दा गहिरो र सबभन्दा स्वच्छ पानी भएको ताल बैकाल र मँगोलियाको राजधानि उलान बाटोर । रुसको चारको समयमा सबभन्दा कढा सजाय दिन साइबेरिया लगेर छाडिदिने प्रचलन थियो भने अहिले त्यही साइबेरिया सम्मुन्नत साइबेरियाको रुपमा खडा थियो । त्यस ठाउँमा पुग्दा मनमनै सोचेको थिएँ “बिस्वमा आफ्नो साम्राज्य फैलाउन सफल ब्रिटिशलाई हराएको ईतिहास बोके पनि बिकासले संधै ठगिदै आएको मेरो देशले पनि अब साइबेरियाले जस्तै छिट्टै काँचुली फेर्नेछ प्रजातन्त्रको पुनर्स्थापना भएकोले।” आज १७ बर्षपछि यी पंक्तिहरु लेख्दा आफ्नो सो सोंच र नेपालीको सपनालाई साकार रुप दिन असक्षम नेताहरुद्धारा निर्लज्जता पूर्वक प्रदर्शित “आँफै बोक्सी आँफै धामी” गाइजात्रा हेर्न बिबस छु । थाहा छैन भूपी शेरचनले भने झैं खरबारी वरिपरि आगलागी हुँदा पनि कहिलेसम्म ढुक्कसंग सुत्ने अनि गोपाल प्रसाद रिमालको एक युगको सो एक दिनलाई कहिलेसम्म सपना देख्दै बस्ने हुन नेपालीहरु ? चित्त बुझाउन सकारात्मक सोंचलाई पाल्दै नकारात्मक परिणामलाई कहिलेसम्म भोग्न पर्ने हो नेपालीहरुले – बिकल्प समाप्त भैसकेको नै हो त भन्दै ?

त्यस ट्रेनमा म बसेको कम्पार्टमेण्ट नजिकैका कम्पार्टमेण्टहरु हल्याण्डका ग्रुप र १८ बर्ष मुनिका चिनीया केटीहरुले भरिएको महसूस हुन्थ्यो जताततै उनीहरु मात्र देख्न र भेटन पर्दा । १८ बर्ष मुनिका केटीहरुको अन्तरराष्ट्रिय खेलमा सहभागी भएर फर्किएका रहेछन उनीहरु । कतिपय अङ्रेजी भाषा सिक्नको लागि नजिकिन खोजेको पाइन्थ्यो । यात्राबधि भरिमा मेरो सबभन्दा नजिकको मित्र बन्न पुगे हल्याण्डका Acoustic Engineer पिटर हान । अग्लो, साधारण, भद्र र केही हदसम्म लज्जालु स्वभाबका पिटरसंग लामो समयसम्म पत्राचार हुने गर्थ्यो । केयर नेपालको प्रोजेक्ट मैनेजर भएर अफिसियल कामको सिलसिलामा मेरी श्रीमती डेनमार्क गएकी बेलामा उ नेपाल आएको र उस्को पूर्व निर्धारित कार्यक्रमको प्रकृतिले गर्दा समयाभाब समेत देखिएकोले आफूकहाँ लिएर जानुको सट्टा ठमेलमा नै एक दिन संगै डिनर गरें । समूहमा आएकोले घुमाउने काममा खासै सहयोग गर्न नपरे तापनि उस्को पूर्व निर्धारित कार्यक्रममा नपरेका केही स्थानमा लिएर जान्थें समय ब्यबस्था गर्न सकिएको खण्डमा । नेपालबाट फर्केपछि पनि उ संपर्कमा रही रह्यो उस्को आमाको क्यान्सरले मृत्‍यु नभएसम्म । त्यस बेला इमेलको शुरुवात भै नसकेकोले ती भद्र मित्रसंगको संबन्ध बिच्छेद भयो संभबत आमाको मृत्‍युले लामो समय उनी शोकमा परेको र ठेगाना परिवर्तन गर्दा मेरो ठेगाना समेत कारणबश गुमाउन पुगेर हो कि !

ट्रेन उलान बाटरमा केही समय रोकिएर हिंडेको करीब एक घण्टापछि मस्कोबाट अर्को ट्रेनमा आइ त्यहाँबाट त्यस ट्रेनमा चढेका राजेन्द्र र राजन मलाई खोज्दै मकहाँ आइपुगे । केही बेरको कुराकानीपछि संगै उनीहरु बसेको ठाउँमा गयौं । त्यहाँ एकजना मंगोलियन भेट भयो जो बेइजिङमा पढदै रहेछन । उनी राम्ररी रुसी भाषा बोल्न सक्ने भएकाले हामीहरु बीच कुराकानी गर्न कुनै समस्या भएन । कुराकानीबाट थाहा लाग्यो कि उ मंगोलियाको ख्यातिप्राप्त संगीतकार रहेछन । उसैबाट हामीले बेइजिङबारे आबस्यक धेरै जानकारी प्राप्त गर्यौं भने ध्यान दिनु पर्ने र होसियार हुनु पर्ने कुराहरु पनि ।

ट्रेन चीनको सिमा प्रबेश गर्ने बित्तिकै रोकियो । कारण रहेछ रुस र मँगोलियाको तुलनामा चीनको ट्रेन लीग सानो भएको कारण पांग्रा फेर्न पर्ने । ट्रेन निकै लामो भएको कारण निकै समय लाग्ला भनेको त ट्रेनलाई बिभिन्न भागमा टुक्र्याएर करीब ३ घण्टा भित्रै संपूर्ण काम सकियो ।

बिना भिषाको यात्रा

चीन प्रबेश लगत्तै भिषा चेकिङ शुरु भयो, तर तान्याको भिषा देखिएन । म र अलबर्टिनाले तान्या चीनमा रुसी भाषा सिकाउन आएको कुरा बताइदियौं संबन्धित अधिकारी समक्ष्य । तिनले आफूसंग भएका त्यस संबन्धी संपूर्ण कागज पत्रहरु देखाइ दिइन । उक्त चिनीया गएर अर्को चिनीयासंग फेरी आयो । केही बेरको कुराकानीपछि उनीहरुले तान्याको पासपोर्ट लिएर गएकाले उनी आत्तिन थाली । भिषाको लागि तिनले कुनै पनि प्रकृया गरेकै रहिनछ र त्यसबारे उनी पूर्ण रुपले अनभिज्ञ रहिछिन । हामीलाई मंगोलियन मित्रले ट्रेनको अन्तिम यात्रासम्म यात्रा नगरी उसंगै बीचमै उत्रन सल्लाहा दिएकोले हामी उसंगै बीचैमा उत्रिएकोले तान्याको समस्या के कसरी समाधान गरियो वा गरिएन केही थाहा हुन सकेन ।

नेपाल कुन चरोको नाम हो?

सानो छँदा पढने गरिन्थ्यो: “नेपाल बुद्ध र सगरमाथाको देश भनेर संसारभर प्रसिद्ध छ ।” तर “जहाँ जानु बारी कर्कलाको घारी” भने झैं जत्ति देश घुमिए पनि हरेक ठाउँमा आफुलाई नेपाली भनेर चिनाउन खोज्यो केही निस्चित स्थानमा बाहेक नेपाललाई चिनाउन बाबुको बिहे देख्नु पर्ने । जस्तो धेरै नेपाली बिद्यार्थी भएको ठाउँमा उनीहरुले हासिल गर्ने राम्रो परिणामको कारण नेपाल भनेपछि सबैले सहजै चिन्छन । नेपाललाई चिनाउन अलि सजिलो दरबार हत्याकाण्ड र माओबादी गतिबिधीपछि भएको देखिन्छ । यसरी अधिकांश ठाउँमा नेपाल अपरिचित रहनुमा २ वटा कारण प्रमुख रुपमा देखिन्छन – पहिलो आन्तरिक र दोस्रो बाह्य । आन्तरिक कारणमा देशमा “अरुले तपाईं भनोस नभनोस आफैं मपाइं” भन्ने तर सिन्को भाँच्न नसक्ने अनि अरुले केही गर्न खोजे पनि आफ्नो अस्तित्व समाप्त हुने ठानी केही गर्न नै नदिने बातावरण तयार गर्ने प्रब्रित्तिका असक्षम नेताहरु जस्ले गर्दा देश कहिल्यै अगाडि बढन नसकी बिस्व रंगमन्चमा अस्तित्वहीन जस्तै हुनु र बाह्य कारणमा भारतीय नीति जस्ले नेपाललाई संधै स्वाभिमानपूर्वक अगाडि बढन बिभिन्न तबरबाट ब्यबधान खडा गरी आफ्नो कठपुतली जस्तो बनाइ राख्न खोज्नु । उदाहरणको लागि अन्तरराष्ट्रिय पत्रिका टाईम्सले बुद्धलाई भारतीयहरुले आफ्नो भनी प्रमाणित गर्न गरेको अनेकौं दुस्प्रयासको खण्डन गर्दा समेत उनीहरु उही गलत कुरालाई सही प्रमाणित गर्ने कामबाट पछाडि हटेको पाइन्न । अर्को ज्वलन्त उदाहरण हो पशुपतिको पूजारी प्रकरण । भारतीयहरुले के गर्छ त्यो बच्चा बच्चालाई थाहा छ । पशुपतिको पूजारिको बिषयमा भारतीयहरुको जुन किसिमको प्रतिकृया आयो उनीहरुको नीति अनुरुप न त कुनै अनौठो हो न त अस्वाभाबिक नै, तर देशको बर्तमान तरल अवस्थामा त्यति संबेदनशील कुरामा सोच बिचारै नगरी होमा हो मिलाएर भारतलाई दुलाहा बनाउँदै आफू जन्ती बन्नु के स्वाभिमानी, परिपक्क र बुद्धिमानी निर्णय मान्न सकिएला त ? सिमाना चेपिदा, कैयौं ठूला ठूला भ्रस्टाचार अथबा त्यस्तै अन्या कुरामा चुक्क नबोल्नेहरु भारतीयको सट्टा नेपाली पूजारी राख्ने निर्णय गर्दा त्यत्रो टाउको किन र कसरी दुख्न पुग्यो होला त नेता महोदयहरुको ? अधिकारको प्रयोग दुरुपयोगको रुपमा मात्र गर्न माहिर भएकाहरुबाट के आधारमा कहिले कर्तब्यपरायणताको अपेक्षा गरेर देश सही दिशातिर जाला भन्ने कल्पना नेपालीहरुले गर्ने हो पत्तो छैन । धेरै हदसम्म यस्तो परिणामप्रति आफूलाई जन्ती बनाउँदै नेताहरुलाई बेहुला बनाउने जनता पनि जिम्मेवार देखिन्छन । अस्तित्वहीन नेताहरुलाई नंग्याउनुभन्दा उनीहरुको कार्यकर्ता बनिदिएपछि उनीहरु झनझन हौसिनु कुन अनौठो कुरो भयो र ? कार्यकर्ता नभएर जनता बन्ने संस्कृतिको बिकास नभएसम्म हाम्रो जस्तो धेरै गर्न बाँकी अति कम बिकसित देशमा कहिल्यै पनि केही हुने सक्ने आशा गर्न सकिन्न । राष्ट्रबादी निर्णयमा प्रकृयागत त्रुटी भयो त राष्ट्रबादी निर्णयकै खिलाफ फेरी अर्को निर्णय गर्न बाध्य बनाएर कस्ले कुन ठूलो स्याबासी दिनु पर्ने र गर्ब गर्नु पर्ने महान काम गरेको देखियो ? के आजसम्म कुनै नेताले यो प्रकृयागत त्रुटीको तुलनामा अन्य ठूलो गल्ती नै गरेका छैनन ? के हरेक कुरामा सबै पार्टीको राय सल्लाह लिदै सबैको चित्त बुझाउंदै निर्णय गर्ने हो भने देश अगाडि बढन सक्ला त ? एक दिन अबस्य पनि मर्नु पर्छ भन्ने कुरालाई मनन गर्दै आँखा चिम्लेर केही समय चोर औंला आफूतिर नठड्याएसम्म यी प्रस्नहरुको सही जबाफ पनि पाउन सक्तैन कसैले पनि । जे होस यस यात्रामा समेत आफूलाई नेपाली भनेर चिनाउन बिभिन्न बिदेशिहरु र यतिसम्म कि कैयौं चिनीयाहरुलाई समेत बुताले भ्याउन्जेलसम्म प्रयास गर्दा पनि कहिलेकांही असमर्थ हुनुपर्दा कति हीनताबोध हुन्थ्यो होला – “खुकुरीको मार अचानोलाई नै थाहा हुन्छ ।”

ग्रेट वाल

चीन प्रबेश गरेको केही समयपछि ट्रेन रोकियो केही समयको लागि, कारण रहेछ त्यस ठाउँबाट ग्रेट वाल एकदमै नजिक पर्ने भएकोले कथंकदाचित यदि कसैले समयाभाबको कारण ग्रेट वाल जाने समय जुटाउन नसकेको खण्डमा त्यही अबसरबाट पनि चित्त बुझाउन सक्ने भयो । सबैले हतार हतार आ-आफ्नो क्यामरालाई काम दिन थाले । पहिल्यै यसबारे थाहा पाउनेहरु दगुरेर ग्रेट वाल नै पनि पुग्न भ्याए । हामीहरु २ हप्ता चीन बस्ने योजना भएकोले त्यस्तरी हतारिनु पर्ने पनि थिएन । चीन गएर जो ग्रेट वाल जाँदैन उस्ले चीन घुमेको भनेर भन्न मिल्दैन भन्ने एउटा भनाइ रहेछ त्याँहा । वास्तबमै पूर्वको शांघाइगुआनदेखि पस्चिमको लोप नुरसम्म फैलिएको ६७०० किमी (४१६० माइल)भन्दा बढी लामो संसारकै ७ आस्चर्यमध्यकै एक र बिस्व इतिहासमा नै महत्व राख्ने ग्रेट वाल जाने मौका चीन नै गैसकेको कुन यात्रीले पो चुकाउला र !

ग्रेट वाल एक्कै पटकमा बनाएको नभएर यस्का कतिपय भागहरु इ पू ५ औं शताब्दीमा बनाउन शुरु गरिएका थिए र ती बिभिन्न प्रान्तहरुको सुरक्षाको अभिप्रायले बिभिन्न समयमा बनाइएका थिए । चीनको एकीकरणपछि सम्राट क्विन शिहुआङले उत्तरतिरबाट हुने आक्रमणबाट जोगिने अभिप्रायले बिभिन्न समयमा बनाइएका बिभिन्न पर्खालहरुलाई एउटै बनाएर ग्रेट वालको रुप दिए । निर्माण र पुनर्निर्माण गरी इ पू ५ औं शताब्दीमा बनाउन शुरु गरी १६ औं शताब्दीसम्म सो

The Great Wall The Great Wall2

कार्य जारी रह्यो । शताब्दीयौं लामो निर्माण परियोजनाको प्रकृयामा २-३ मिलियन चिनियाहरु मरेको अनुमान गरिन्छ र अधिकांश खण्ड मिङ शासन कालमा बनाइएको थियो र उनको शासन कालमा झन्डै १ मिलियनले ग्रेट वालमा सुरक्षा दिए ।

नयाँ नेपालीलाई स्वागत गर्दै बस्दै

पुगेको पहिलो दिन हामी तिनै जना होटलमा बस्यौं र भोलिपल्ट मंगोलियन मित्रलाई भेटन गयौं उस्कै सल्लाह मुताबिक जस्ले पढाई सकाएर नेपाल जाने बेला भएको एकजना नेपालीसंग भेट गराइदिए । उनकै सल्लाह मुताबिक सोही दिनदेखि उनी बसेकै होस्टलमा बस्ने गरी आयौं । केही दिनदेखि धमाधम नेपाली बिद्यार्थीहरू नेपालबाट आउने क्रम शुरु भयो – पहिलो समूहमा एमबिबिएसका लागि सुबोध, अनुपमा, सुनिता, रस्मी आदि आए । उनीहरु नेपालबाट आउन्जेल हामी बेइजिङ्संग केही हदसम्म परिचित हुन थालिसकेकोले नयाँ आउनेहरुलाई घुमाउने काममा समेत लाग्थ्यौं आफूहरु पनि घुम्दै । बेइजिङ छाडने बेलासम्ममा नीजि खर्चमा पढन आउने झन्डै ४० जना नेपाली बिद्यार्थीहरुलाई स्वागत गर्न पाइयो । सबैसंग राम्रो संबन्ध हुंदाहुंदै पनि पहिलो समूहमा आउने सुबोध, सुनिता र अनुपमा मेरो अति निकटमा रहन्थे भने सुनिताको निकट रहेको कारण अमेरिकाको टेड, टेडसंग नजिक रहेको कारण मकाउकी ताचियाना र सुबोधकी दिदी भएकी कारण अध्ययनको अन्तिम तयारीमा रहेकी डा उर्मिला मसंग संधै नजिक रहने साथीहरु थिए । ताचियाना नजिक हुनुको अर्को कारण थियो उन्की आमा रुसी भएकीले उनी केही हदसम्म रुसी भाषा बोल्न सक्नु । घुमिफिरी रुम्जाटार भने झैं मेरो छोरो जन्मदा डा उर्मिला प्रसुतिग्रिहमा र छोरी जन्मदा अनुपमा डा को रुपमा कान्ती अस्पतालमा भेट हुन पुगे भने डा को रुपमा नै भेट नभए पनि सुबोधसंग धेरै भेटघाट भैरहन्थ्यो । खोजनिमा नभए पनि सोधनीमा भने सीमित रहिन सुनिता टेडसंग बिहे गरेर अमेरिका गएकीले ।

नामै पनि बिग्रने

संधै नबागन्तुक र कहिलेकांही पुराना नेपाली साथीहरुलाई समेत साथमा लिएर घुम्न जाने गरेकोमा नबागन्तुकहरुको पढाई शुरु भएको दिन आफ्नै किसिमले घुमेर फर्कदा होस्टलमा आइपुग्ने बेलाको पार्क नजिकै रहेको अर्को होस्टलबाट निस्कदै गरेकी एकजनाले त्यत्तिकै मलाई लक्षित गरेर “नि हाउ” (चिनीया भाषामा गरिने अभिबादन) भनिन । परिचयको क्रममा थाहा लाग्यो कि उनको नाम लि थियो र उनको उद्धेस्य थियो अंग्रेजी भर्खर सिक्न थालेकीले मबाट अरु बढी अंग्रेजी सिक्नु । मैले आफ्नो नाम रामकुमार बताएँ , तर उस्ले लामकुमाल भनिन । धेरै चोटि दोहोर्याउन लगाउँदा पनि लामकुमालबाट रामकुमार हुन सकेन । त्यसपछि कुमार हटाएर राम मात्र भन्न लगाएँ, तर पनि लाम राममा परिवर्तन हुन सकेन । धेरै अरु उदाहरण प्रस्तुत गरें र भएको शब्दको एक एक अक्षर गर्दै रा भन्न लगाएँ, तर हात लाग्यो शून्य । सार्है गोबर गणेश नै रहिछ भनेर मनमनै गाली गरें र धेरै त्यहाँ बसे ज्वरो नै आउँला भन्ने डरले आज धेरै थकाई लागेकोले भोली भेटौं भनी छुट्टीएँ । होस्टलमा पुग्ने बित्तिकै नेपालीहरु जमघट गरेर कुराकानी गरिरहेको पाएँ – त्यसबेला प्रसंग चलिरहेको रहेछ रस्मी अमात्य (तुलसिलाल अमात्यकी छोरी) को । म पुग्ने बित्तिकै सुनिताले चिनियाहरुले र नभन्ने भएकोले रस्मीको नाम लस्मीमा परिवर्तन भएकोले आज रस्मीको मूड बिग्रिएको कुरा बताइन । म आवश्यकताभन्दा अलिक बढी हाँसेको देखेर सबै अकमकिए, किनकि एकापसमा सबैको आनिबानी करीब करीब थाहा भैसकेको थियो । जब मैले त्यहाँ आइपुग्नु अगाडिको घटना सुनाएँ त हास्ने पालो थियो अब अरुको ।

एउटै देशमा २ किसिमका मुद्रा

चीन पुगेपछि बैंक गएर १०० डलर सांटदा त्यस बेलाको दर अनुसार करीब ५५० युयान हात परेको थियो भने १०० डलर बैंक बाहिर पनि सांटेको थिएँ जसबाट बैंकमाभन्दा बढी पाएको थिएँ । पसलहरुमा सामान्यत केटीहरु बसेको पाइन्थ्यो र एउटै पसलमा पनि एउटासंग किन्न खोज्दा अर्कोले आफूकहाँ आइदेओस भन्ने किसिमले बोलाइरहेको पाइन्थ्यो । मंगोलियन मित्रले पहिले नै सिकाइसकेको थियो कि सामान किन्दा एकदमै मोलिमोलाउ गर्नु पर्छ र सामान पनि राम्रोसंग हेर्नु पर्छ भनेर । केही चिनीया शब्दहरु अल्बर्टिनासंग सिकेको थिएँ र तिनै शब्दहरुलाई आबस्यक्तानुसार उपयुक्त ठाउँमा प्रयोग गर्नेभन्दा अरु बिकल्प थिएन । लाटो भाषा बोल्ने र मोलिमोलाउ गर्दा कागजमा अंकमा लेख्न लगाउने र आफूले उनीहरुले भनेकोभन्दा आधाबाट शुरु गर्ने गरिन्थ्यो । उनीहरु बिस्तारै घटदै आउने र हामीहरु बिस्तारै बढदै जाँदा करीब बीचतिर नआइ पुगुन्जेलसम्म यो प्रकृया जारी राखथ्यौं । मूल्य निस्चित गरेपछि पैसा दिंदा सबैले बैंकमा साटेर हात परेको पैसा माग्थे । उक्त पैसा सक्किएपछि मात्र थाहा लाग्यो कि बैंकबाट साटेर प्राप्त भएको पैसा पनि बाहिर साटदा केही बढी पाइने रहेछ र डलर ब्ल्याकमा साटदा र बैंकमा साटेर प्राप्त युयानलाई नै फेरी ब्ल्याकमा साटदा हात पर्ने परिणाम उस्तै हुने रहेछ । यसरी बैंकमा साटेर पाइने चिनीया मुद्रा र सामान्य नागरिकले प्रयोग गर्ने मुद्रा उस्तै देखिने भए तापनी डिजाइन र मूल्यमा केही फरक रहेछ जुन कुराको जानकारी बैंकमा साटिएको पैसा सकिएपछि मात्र थाहा लाग्यो ।

लेनिनपछि माओ शब दर्शन

लेनिन र माओ र उनीहरूले प्रतिपादित गरेका सिद्धान्तहरुलाई मानु नमान्नु एउटा कुरा हो , तर पनि मान्ने नमान्ने सबै उनीहरुको शब हेर्न पुगेको पाईन्छ । लेनिनको शब हेर्न मस्कोमा जहिले पनि घण्टौंको लाममा नबसी उद्धेस्य पुरा गर्न कहिल्यै संभब भएन । घण्टौं बिताएर पनि राम्रोसंग हेर्न नपाईने अर्को समस्या – जब शब राखिएको ठाउँमा प्रबेश गरिन्छ त सुताइएर राखिएको लेनिनको शबलाई हेर्दै बिस्तारै हिडदै गर्नु पर्ने भएकोले । ठानेको थिएँ माओको शब हेर्न पनि त्यसरी नै घन्टौं बिताउनु पर्छ होला, तर जब संबन्धित ठाउँमा पुग्यौं त खासै ठूलो लाम लाग्नु परेन । लेनिन र माओलाई राजनैतिक गुरु मान्नेहरुको लागि त यी दुबैको शब हेर्ने अबसर पाउनु भनेको आस्तिकहरुको लागि आ-आफ्नो आस्थानुसारको ठूलो तिर्थस्थलको दर्शन गरे जस्तै हुन सक्छ भने अन्यको लागि मानब ईतिहासको बिभिन्न काल खण्डको बिशेष परिस्थितिलाई एउटा निर्दिस्ट दिशा दिन सक्षम ब्यक्तिको अध्ययन गर्ने सिलसिलाको एउटा पाटोको अध्ययन गर्ने सुबर्ण अबसर ।

White_pagoda

स्वेत प्यागोडा


China route

Moscow -Beijing Route

अरनिको र स्वेत प्यागोडा

१३ औं शताब्दिमा काठमान्डौँमा जन्मी १२ बर्षको कलिलै उमेरमा तात्कालिन चिनीया बादशाह कुब्लाई खांको निमन्त्रणामा बुद्धिस्ट मन्दिरहरुको लागि प्यागोडा बनाउनका लागि नेपाली कलाकार अरनिको (बलबाहु) चीन गएका थिए र उनलाई जाँच्नको लागि एउटा पुरानो तामाको मूर्ति मरमत गराउन लगाइँदा पहिलाको भन्दा झन राम्रो बनाइदिएकाले सम्राट उनीसंग निकै प्रभाबित भए । उन्ले बनाएको प्रसिद्ध कलाकारिता बेइजिङको मिआओभिङ मन्दिरको स्वेत प्यागोडा अझै पनि देख्न सकिन्छ जसलाई हेर्नको लागि भनेर चीन छाडनु १ दिन अघि मात्र एक्लै हतार हतार जाँदा जाँदै पनि भाषाको समस्याले गर्दा संबन्धित ठाउँमा पुग्दा दिनको ४ भन्दा बढी भैसकेको थियो, तर दुर्भाग्य सो दिन सो प्यागोडा ४ बजे नै बन्द भैसकेको रहेछ । चीनमा मात्र नभएर तिब्बत, इन्डोचाइना, मलाया तथा अन्य ठाउँमा नेपाली आर्किटेक्ट फैलाउन सफल अरनिकोको सो कार्यलाई बाहिर बाहिरबाट हेरिए तापनि सम्बन्धित ठाउँमा नै पुगेर पनि नजिकबाट हेर्न नपाएकोमा खिन्न हुँदै फर्किएँ ।

यूरोपको तुलनामा एशियाली मुलुकहरुको भ्रमण त्यत्तिकै त सस्तो हुने त्यसमाथि होटलको पैसा जोगिने भएपछि त द्रिश्याबलोकनका लागि प्रशस्त स्थानहरु भएकोले हामी ढुक्कसंग बेइजिङ २ हप्ता बस्यौं । त्यसबेला नै पनि यूरोपकै हाराहारीका सुपर मार्केटहरु पाइने भए तापनि अंग्रेजीमा लेखेको कतै पनि नपाईने र अंग्रेजी बोल्नेहरु पनि खासै भेटन नपाईने भएकोले घुम्नको लागि भने असाध्यै अफ्टेरो हुन्थ्यो । मेट्रोहरु चढदा अथबा झर्न पर्दा स्टेशनहरुमा लेखिएका नामसंग नक्सामा लेखिएको नाम चिन्हहरु भिडाएको झैं गरी भिडाउने गर्थौं । समग्रमा २ हप्ताको चीन बसाइ असाध्यै रमाइलो भयो र सो रमाइलो बसाइको अन्त गर्दै २ हप्तापस्चात एउटा एेतिहासिक मोड पार गरेको रुसतर्फ फर्कियौं । फर्कदा भने मेरा अन्य ३ जना साथीहरुमा चिनीया बुढाहरु थिए जसमध्ये १ जना बरिस्ठ अर्थशास्त्री थिए । उनीहरुलाई नेपाल चिनाउन कुनै कठीनाइ भएन । तिनै जना अलि अलि अंग्रेजी बोल्ने भएकोले मलाई ढिलो गरी बोल्न आग्रह गर्थे । उमेरमा धेरै फरक भए तापनि हामी यात्राभरी अति निकटका साथी भएका थियौं । यसरी मस्को-बेइजिङ यात्राको १ महिना अति रमाइलोसंग बिताएर मस्को आइपुग्दा रुसको मुद्राको अबमुल्यन पहिलाभन्दा बढी भैरहेको पाइयो प्रत्येक दिन रुबलको मूल्यमा आएको गिरावटले गर्दा ।

नोट:

१ त्यसबेला खिचिएका फोटोहरु त्यत्ति गुणस्तरयुक्त नभएकाले अनुरोध मुताबिक फोटो उपलब्ध गराएर सहयोग गर्नु हुने नेपाली दूताबास बेइजिङमा कार्यरत कन्सुलर निर्मलजीलाई धन्यवाद,

२ बेइजिङबाट फर्कदा महत्वपूर्ण कुराहरु टिपिएको डायरि हराएको र लामो समय पस्चात सो संस्मरण लेखिएकोले कतिपय कुराहरु संझनाको भरमा लेख्न परेकोले कतिपय कुरामा चाहेर पनि सुक्ष्मतम रुपमा जान संभब नभएकोले त्यसबाट पर्न गएको प्रतिकूल असरप्रति क्षमाप्रार्थी छु ।

Published link: http://www.shrijana.com/000/?p=2648

http://www.samakalinsahitya.com/?show=detail&art_id=1279

http://gaindakot.com.np/article_detail.php?id=995

Saturday, July 10, 2010

लण्डन – मेलबर्न – लण्डन यात्रा

By रामकुमार श्रेष्ठ

यात्रा अधिकांश प्राय:को चाहना हुँदा हुँदै पनि कतिपय कारणले गर्दा चाहेको बेलामा चाहेको यात्रा संभब हुन सकिरहेको हुन्न । करीब डेढ दर्जन जति मुलुकहरुको यात्रा गरिसकेको मुलुकभित्रकै एउटा मुलुक अष्ट्रेलियाको पुन: यात्रा सकाएँ गत महिना अघि मात्र बिभिन्न कारणले गर्दा २ पटक मिति परिवर्तन गरेपछि । उत्सुकताभन्दा बढी कता कता पट्यारलाग्दो पनि भईरहेको थियो करीब २३ घण्टा लामो प्लेन यात्रा गर्नु पर्ने भएको कारण । हुन त मस्कोदेखि बेइजिङसम्मको लगातार १ हप्ता लामो यात्राको अनुभूति नभएको पनि होइन तर सो यात्रामा सहज तबरले सुत्न पाइने, स्वच्छ पर्याप्त हावाको अभाब नहुने अनि अन्य कतिपय कारणले गर्दा यात्रा अति रमाइलो भएको थियो (यसबारे बिपरीत गोलार्ध-२ मा अनुभूतिहरुलाई पोख्नेछु)। यस भ्रमणमा भने उपर्युक्त कुराहरुको अभाब, सीटमा नै सुत्न पर्ने भएको कारण सामना गर्न पर्ने कठिनाइ र स-परिवार (४ जना) भएको कारण झ्यालको सीट पाउन नसकिएकोले प्लेनबाटै गर्न पाइने द्रिश्याबलोकनबाट समेत बन्चित हुन पर्ने जस्ता कारणले मूलत: यात्राबधि हुनु पर्ने जति रोमान्चक हुन नसक्नु स्वाभाबिक थियो। त्यसमाथि बारंबार गराइएको सतर्कताको बाबजूद भएको हेलचेक्र्याइंले गर्दा छोरी पूजालाई लामो यात्रामा हुने बिसन्चो रोकथामको लागि औषधी खुवाउन नपाईएको कारण भोग्न परेको झमेलाको कथाको ब्यथा त झन अझ थियो नै। जे होस यो यात्राको एउटा बिशेष बिशेषता थियो – उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धको यात्रा । समयको कारणले गर्दा जाडोको मध्याबस्थामा रहेको ठाउँबाट गर्मीको मध्याबस्थामा रहेको ठाउँको यात्रा ।

नेपाली बिषय बस्तुलाई आधार बनाएर बिध्याबारिधि गरी कलेजमा प्राध्यापन गर्नु हुने अनि नेपाल र नेपाली भने पछि हुरुक्क हुने कलिन रोल्सको आग्रहलाई नकार्न नसक्नु र उनकोमा हामीलाई समेत यथेस्ट कोठाहरु भएको कारण नेपाली साथीहरुकहाँ नबसी उहाँकैमा बस्ने निर्णय गरेका थियौं। रातको १०:३० बजे प्लेन अबतरण गरेपछि अन्य देशको तुलनामा बढी कढाइका साथ चेक-अप गरिने अस्ट्रेलियाको चेक-अप सकाएर निस्कदा झन्डै ११:३० बजिसकेको थियो । ढोकाबाट निस्कने बित्तिकै हात हल्लाउँदै स्वागत गरेको पाइयो हाम्रो आगमनको प्रतिक्षामा झन्डै १ घण्टादेखि प्रतिक्षारत कलिनलाई । बाटोमा बिगत ४ बर्षको अबधिमा मेलबर्नमा खासै उल्लेखनीय परिवर्तन केही नभएको तर “लण्डन आइ” जस्तै “मेलबर्न आइ” बनेको तर उदघाटनको लागि पर्खिरहेको थाहा लाग्यो भने लामो समयदेखि पानी नपरेको तर सोही दिन मात्रै पानी परेको कारण अपेक्षा गरे जस्तो गर्मिको बाबजूद अकल्पनीय किसिमले केही चिसो बढेको पनि थाहा लाग्यो । ठट्टै ठट्टामा प्रकृतिले हाम्रो आगमनको खुशीयालिमा पानी पारिदिएको कुरो भयो । चिरपरिचित सडकहरु हुँदै करीब ४० मिनेटको ड्राइभपछि उनको घर चेत्लेनहाम पुग्यौं जहाँ उनका २ कुकुरहरु एभरेस्ट र बिन्दी हाम्रो स्वागतको लागि तम्तयार थिए । मेरा केटाकेटिहरु पुरक र पूजा बिशेष गरी पूजा एभरेस्ट र बिन्दीसंग खेल्न बेलायत छाडनु अघिदेखि नै प्रतिक्षारत र उत्साहित थिइन । गृह प्रबेशसंगै यत्रतत्र नेपाली सामान र मिथिला आर्टका सामानहरु देख्ने अबसर पाइंदा कता कता नेपाली साथीहरुकहाँ नै गएको अनुभूति भईरहेको थियो । मध्य रात भईसकेकोले धेरै समय कुराकानीतिर नबिताइ सुत्नतिर लाग्यौं भोलिका केही योजनाहरु बनाएर ।

रातको २:३० बजे पूजा हाम्रो कोठामा आइन सुत्न नसकेको भन्दै । वास्तबमा प्लेनमा धेरै बान्ता गरेको कारण बढीभन्दा बढी सुतोस भन्ने हाम्रो चाहना थियो र सुतिन पनि र अर्को कारण त्याहा रातको २:३० बज्दा बेलायतमा दिनको ४:३० बजेको कारण पनि सुत्न कठीन भएको थियो । हाम्रो चिन्ताको बिषय थियो कि हाम्रो कारणले कलिनको सुताइमा ब्यबधान पैदा भईदिने हो कि ? सानै भए पनि हाम्रा दुबै केटाकेटिहरु यस मामलामा अति नै संबेदनशील थिए र त्यस किसिमका कुनै समस्या उत्पन्न हुन पाएन पनि । झन्डै बिहान उठने बेलासम्म साउती पारामा कुराकानी भइरह्यो तीन जनाको बीचमा पूजालाई सुत्न प्रयास गर्न भनिए तापनि सुत्न नसकेपछि ।

भोलिपल्ट बिहानै कलिनले अनौठो जीबन कहानि भएको भियतनामी छिमेकी लीको जेठो छोरो जशलाई लिएर आइन पुरक र पूजाको साथीको लागि भनेर । भियतनाम युद्धताका लीकी आमा र एक अमेरिकनको भेटपछि उनीहरुबाट लीको जन्म त भयो, तर केही बर्षपछि तात्कालिन परिस्थितिको कारण ली र लीका पिताको लीकी आमासंग बिछोड भयो र लीका पिताले अर्की भियतनामीसंग बिहे गरेपछि तिनै आमासंग ली हुर्कन थालिन । ली सानै छंदा लीका पिता अमेरिका फर्के भने ली सानो पानी जहाजबाट एउटा सानो समूहसंग शरणार्थिको रुपमा अस्ट्रेलिया पसिन । अस्ट्रेलिया प्रबेसपछि लीको संपर्क पछिल्लो समय आफ्नो हेरचाह गर्ने आमासंग नियमित रुपमा रहिरह्यो । एक भियतनामीसंगको बिहेबारीपछि २ छोराकी आमा ली केही बर्ष अघि मात्र आफ्नै आमासंग संपर्कमा आउन सकिछन र केही बर्ष अघि मात्र संपर्क सूत्र फेला पारी अमेरिका गएर आफ्ना पितालाई समेत भेटन सफल भैछन । केही बर्षभित्र उनले आफ्नो जीबनमा प्राप्त गर्न सकेका यी उपलब्धिबाट प्राप्त हुने खुशीको हामी कल्पना मात्र गर्न सक्छौं । हाल लीकी आमा उनीसंगै अस्ट्रेलियामा नै छिन र फेंग सुइ (Feng Sui)सम्बन्धी परामर्स दिने काम गर्ने गरेकी रहिछिन । गत बर्ष ली कलिनसंग नेपाल गएकी रहिछिन र नेपाल अति मन परेको कारण पुन: नेपाल जांदै छिन । बुद्ध धर्मका अनुयायी ली बुद्ध धर्मसंबन्धी मन्त्रहरु समेत जप्ने गरेकी कारण हालसालै प्राप्त गरेकी अङ्रेजी रोमनमा लेखिएको संस्क्रितको लामो मन्त्र म नेपाली भएको कारण मलाई सो मन्त्र पढन लगाइ त्यसलाई कसरी शुद्धसंग उच्चारण गर्ने भनेर आफ्नो भाषामा लेख्ने र मैले पढेको रेकर्ड समेत गर्ने उनको योजना सुनाइन । उक्त भाषा संसारकै सबभन्दा पुरानो भाषा हुनुका साथै कठीन भएको र यस भाषाका ज्ञाता हाल बिस्तार बिस्तार घटदै गएको जानकारी पनि दिएँ । वास्तबमा उनको योजना मेरो लागि फलामको च्यूरा हुने अनुमान गरी सकेको थिएँ । सात कक्षासम्म मात्र सो भाषा पढेको भए तापनि भाषा र साहित्यमा केही रुची राख्ने र आफू पनि बिबिध कारणले गर्दा धेरै संस्क्रित मन्त्रहरुसंग नजिक रहेको कारण संस्क्रित पुरै पोलेर खाइ नसकेको कुरामा भने ढुक्क थिएँ । तर पनि “आफू त महदेब उत्तानो टांग कसले दिने बर” उखान संझन पुगी मुस्कुराएँ उनको योजना सुनेर । जे होस येनकेन प्रकारेण उनको योजना पुरा गर्ने काम भने गरिदिएँ ।

Group photo in Australia

म, मेरो पारिवारिक सदस्यहरु र नेपाललाई अति माया गर्ने बिदेशी साथीहरु: कलिन, ली र लीको एउटा छोरो

लामो यात्रा तर अति छोटो समयको भएको कारण कतिपय भेटघाटको कार्यक्रमा लण्डन छाडनु अघि नै तय भैसकेका थिए । पुगेकै भोलिपल्ट आइतबार भएको कारण उक्त दिनलाई भेटघाटको दिन बनाउने धेरै साथीहरुको चाहनालाई सार्थक रुप दिन संभब थिएन र सकिएन पनि । मित्र पवित्र भेटघाटकै लागि भनेर वार्नाबुलबाट मेलबर्न आउनु भएको कारण उहाँ प्राथमिकतामा पर्नु भएको थियो । संभब भए उक्त दिन अरु ३ परिवार (बद्री-जमुना, माधब र आभा-महेश)संग पनि भेटघाट गर्ने योजना मुताबिक प्रयास शुरु गरें,तर उहाँहरु बस्ने बसाइलाई रुट मिलाउन कठिनाई पर्ने भएकोले आभा-महेश परिवारलाई उक्त दिन दिन असंभब देखियो र बद्री-जमुना र माधव परिवारलाई एकै ठाउँमा भेटन सकिने भएको कारण दिउँसोको खाना त्याहा लिएर बेलुकीको खाना पवित्रकहाँ लिन पुग्ने निर्णय गरियो । समय केही बाँकी भएकोले मेण्टन बीच गइयो जहाँ केटाकेटिका बिभिन्न समूहहरुलाई पौडी खेल्दा आइपर्ने आपतकालीन समस्याबाट कसरी बच्ने भन्ने तालीम दिइेएको देखियो जुन अति सान्दर्भिक देखिन्थ्यो समुन्द्रमा बारंबार आइरहेका ठूला छालहरुले गर्दा । बीचमा केही समय बिताएपछि पूर्व निर्धारित कार्यक्रमानुसार भेटघाट गरी दिन बिताइयो ।

सोमबार स्विङ्सिफ्ट्का मैनेजर लिजसंगको भेटघाट तय भईसकेको कारण केही समयको घुमघामपछि लिजसंग भेटघाट गर्ने काम सकाएर छोरी पूजा पढेको स्कूल जाने निधो गरेका थियौं । हामी अस्ट्रेलिया जाँदा पूजा भर्खर २ बर्षको भएकी र घरका सदस्यहरु र काम गर्नेसंग बाहेक अरुसंग पटक्कै नमान्ने भएकोले झन्डै ४ महिना मैले पुरै समय सो स्कूलमा बिताएको थिएँ पूजा बिस्तार बिस्तार त्याहाँ घुलमिल नहुन्जेल । मैले पूजालाई स्कूल छाडन थालेपछि करीब २ बर्षको अबधिमा पनि असाध्यै कम बोल्ने भएको कारण उनमा के कस्तो परिवर्तन आउँछ भन्ने सबैको जिज्ञासाको बिषय थियो र उनमा आउने परिवर्तनबारे जानकारी संभब भएसम्म दिनको लागि भनिएको थियो । करीब ४ बर्षको अन्तरालमा पूजामा आएको धेरै परिवर्तनले सो स्कूलका सबैलाई आस्चर्य चकित पार्ने भएकोले जसरी पनि त्यहाँ जाने निर्णय गरेका थियौं र वास्तबमा पूजालाई देखेर सबै खुशी त भए भए साथै अति आस्चर्य पनि । त्यहाँबाट हाम्रो पुरानो बसाइ फ्लेमिङ स्ट्रीट्को छिमेकी शेलीलाई भेटन गयौं एक्लै बस्ने बुढीको अवस्था बुझ्नको लागि भनेर । लामो समयसम्म ढोका नखोलेपछि अगाडिको घरको फिलिपिनोको ढोका ढकढक्याउन पुग्यौं । लामो समयको भेटघाटपछिको खुशीयालिको आदान प्रदानपछि शेलिको अवस्थाबारे जिज्ञासा राख्दा उनलाई शुरुमा त्यहि नजिकको नर्सिङ होममा केही समय राखिएपछि अन्यत्रै कतै सारिएको तर कहाँ भन्ने जानकारी नभएको थाहा लाग्यो । मानबताको नाताले छिमेकिको रुपमा रहेकी बुढी महिलालाई जसरी प्राथमिकता दिएर भेटन आइयो, भेटन नपाउंदा भने खिन्न हुँदै ५ बजे एलिजाबेथ स्ट्रिटमा आभासंगको भेटघाट्को लागि भनेर त्यता लाग्यौं फिलिपिनो परिवारसंग बिदा भएर ।

निर्धारित ठाउंमा पुग्दा पूर्व निर्धारित समय ५ बज्न केही समय बाँकी भएकोले एलिजाबेथ स्ट्रिट नजिकै रहेको काठमान्डौं पसलमा छोरा, छोरी र श्रीमतिलाई पठाएर म आभाजीलाई पर्ही बसें । ठीक ५ बजे आभाजी आइपुग्नु भयो र एक्कैछिनमा उहाँको श्रीमान । हामी सबै काठमान्डौं पसल गै त्यहां सबै जम्मा भएर केही बेरको घुमघामपछि अन्य दिनमा आभाजीकोमा जाने समय मिलाउन कठीन देखी तत्काल उहाँकोमा गएर हतार हतार सामान्य खाना खाएर फर्केको खण्डमा करीब १० बजेतिर चेत्लेन्हाम पुग्ने अनुमानका साथ अनायास प्रेस्टन जाने निर्णय गरें उहाँकोमा नगएकोमा उहांहरुले चित्त दुखाउने हो कि भन्ने ठानी । तर हामी चेत्लेन्हाम (घर) पुग्दा रातको १२ बजिसकेकोले कलिनलाई कुनै असुबिधा नपुगोस भनी बिस्तार बिस्तार आ-आफ्नो कोठामा गै सुत्यौं ।

मंगलबार मेलबर्न यूनिभर्सिटिका बरिस्ठ अनुसन्धानविद जेनी लिविङ्स्टन (मेरी श्रीमतीको MPH गर्दाखेरिको शिक्षिका) संगको भेटघाट तय भैसकेकोले निर्धारित समय अघि बजार घुम्ने कार्यतिर लाग्यौं । निर्धरित समय हुन आधा घण्टा बाँकी हुँदा निर्धारित स्थानमा जान लाग्दा सोही यूनिभर्सिटी नजिकै रहेको अक्स्फाममा कार्यरत इन्जिनियर प्रफुल्ल अनायास भेट भएकोले केही बेर भलाकुसारी गरी समयले साथ दिएमा भोलिपल्ट भेटघाट गर्ने सहमतिका साथ मूल कामतिर लाग्यौं ।जेनीलाई भेटेपछि यूनिभर्सिटिकै एउटा क्याफेमा एकाध घण्टा बितायौं र उनीसंगको भेटघाटको क्रममा आफ्ना 2 पूर्व MPH बिद्यार्थीहरुलाई सहायकको रुपमा लिएर अनुसन्धान गरिरहेको र हामी छिटोभन्दा छिटो मेलबर्न जान सकेको खण्डमा मेरी श्रीमतीका लागि समेत अनुसन्धानको क्षेत्रमा राम्रा संभाबना रहेको बताउँदै छिटोभन्दा छिटो मेलबर्न आउने कार्यमा सफलता मिलोस भन्ने शुभ-कामना ब्यक्त गरिन ।

जेनिसंगको भेटघाटपछि हामी मेलबर्नको मुटु एलिजाबेथ स्ट्रिटमा अबस्थित Gurkhas Institute of Technology तिर लाग्यौं । अति मेहनती, मिलनसार र सहयोगी चन्द्र योन्जन मेलबर्नमा छ्: रेष्टुरेन्टका मालिक मात्र नबनी यसपालिदेखि उक्त Institute समेत खोल्न सफल हुनुभएको छ भने मेलबर्नको लागि Consulate General समेत बन्नु भएको छ यसै बर्षदेखि । केही दिन अघि मात्र कलेजको कामले नेपाल जानु भएकोले उहाँको सम्पूर्ण कार्यभार संहाली राख्नु भएकी लक्ष्मी भाउजूसंग मात्र भेट गर्न सकियो उहाँको अफिसमा । उहाँहरुको छोरो रबिको परीक्षाको कारण पुरकको ऊसंग भेटने धोको भने पुरा हुन सकेन ।

बेलुकी सात बजे कलिनले योन्जनको प्रहरनको चापेल स्ट्रीटमा अबस्थित रेस्टुरेण्टमा सानो जमघट र भोलिपल्ट हाम्रो अस्ट्रेलिया छाडने दिन भएकोले डिनरको आयोजना गरेकीले इन्स्टिच्युटपछि हामी सिधै त्यतै लाग्यौं । त्यहाँ कलिन र अन्य २ जन अस्ट्रेलियन मित्रहरु पहिल्यै पुगिसक्नु भएको रहेछ र २ मध्य १ जनाको नाम पनि कलिन नै रहेछ तर उहाँ भने पुरुष हुनुहुन्थ्यो र उहाँले आफ्नो ट्राभल एजेन्सी मार्फत मानिसहरु नेपाल पठाउने गर्नुहुदो रहेछ । केही समयपछि ली आफ्ना श्रीमान र २ छोराहरुका साथ आइपुगिन । यसरी जमघट अन्तरराष्ट्रिय भए तापनि अधिकांश प्रसंग नेपाली हुने गर्थ्यो ।

बुधवार हाम्रो बेलायत उडने दिन भएकोले कलिन कामबाट छिट्टै आउने र उहाँ आउने बित्तिकै हामी पार्कडेलमा अमेलियाको घर जाने कार्यक्रम थियो । अमेलिया नेपाल र नेपाली भनेपछि हुरुक्कै हुने अर्की अस्ट्रेलियन महिला हुन । पेन्सनमा बसिसकेकी उनी आर्ट र लेखन कार्यमा रुचि राख्छिन । एउटा पुस्तक प्रकासित गरिसकेकीले त्यसबाट प्राप्त हुने रोयल्टिले रिटायर्ड जीबन अरु बढी सहज बनाएकोछ । बुढेसकालमा उनी अर्को पुस्तक प्रकासित गर्ने धुनमा छिन । हामी उनको घरमा पुग्ने बित्तिकै हामी सबैलाई अंकमाल गर्दै स्वागत र खुशीयालिको शुरुवात गर्छिन । मेरो परिबारका सबैको लागि तयार गरिराखेकी उपहार दिएपछी मेरी छोरी पूजालाई बोलाएर उनको डाइनिग रुममा लिएर गइन । त्यहाँ मेरी छोरीको लागि अनौठो सरप्राइज तयार गरेकी रहिछिन – ४ बर्ष अघि हामी केही दिन उनको घरमा बस्दा पूजालाई केही आर्ट गर्न लगाएकी थीइन र ती आर्टहरुलाई अध्यापि सुरक्षित राखी उनको डाइनिग रुममा राखेकी रहिछिन ४ बर्ष बितिसक्ता पनि । यसले हामीलाई आस्चर्यचकित तुल्यायो । यदि ती आर्टहरु हामीसंग हुन्थे भने कहाँ कहाँ पुगिसकेका हुन्थे ठेगान छैन । केही समयको भलाकुसारी पछि पूर्व निर्धारित कार्यक्रम अनुसार पार्कडेल बीचमा रमाइलो गर्न केही खानेकुरा घरैबाट लिएर र केही किनेर बीचतिर लाग्यौं जहाँ लीका श्रीमान र उनका २ छोराहरु पुगिसकेका थिए । ली भने अर्को दिनको लागि तयारी गर्नु पर्ने परीक्षाको कारण आउन सक्नु भएको थिएन । बीचको रमाइलो सकाएपछि छिटोभन्दा छिटो मेलबर्न आउने कार्यमा सफलता मिलोस भन्ने अर्को शुभ-कामना लिएर अमेलिया र लीको परिवारबाट छुट्टियौं । सबै प्याकिङ काम सकाइसकेकोले उडान मद्यरातमा भए तापनि कलिनलाई छिट्टै छुटकारा दिने अभिप्रायले चेत्लेनहाम पुगेर केही समयमा नै एयरपोर्टतिर लाग्यौँ । यसरी अति छोटो समयको अति महंगो यात्राको अन्त्य हुन गैरहेको थियो ।

संपूर्ण शुभ चिन्तक तथा साथी भाईहरुको हामी मेलबर्न नै पुन: फर्कोस भन्ने चाहना हुनुका साथै मेरो समेत बरिस्ठ स्ट्रक्चरल इन्जिनियरको जब अफ्फर सेन्ट्रल मेलबर्नमा नै पाइसकेर पनि र हामीहरुको समेत् बेलायतको तुलनामा अस्ट्रेलिया नै रहने इच्छा हुँदाहुँदै पनि बर्तमान बिस्व आर्थिक मन्दीको कारण बेलायतको घर निकै कम मूल्यमा बेच्न पर्ने बाध्यता र सोही समयमा श्रीमतिको स्वास्थ्यमा समेत प्रतिकूल असर परेबाट अस्ट्रेलियामा बसाइ सर्ने काममा ब्यबधान खडा भैरहेको छ । हेर्दै जाऔं भबिस्यले कसरी कसरी कता कता डोर्याउँदो रहेछ ।

Published link: http://www.shrijana.com/000/?p=2172

http://nepalmelbourne.com/?p=1508#more-1508

http://www.facebook.com/note.php?note_id=127301111275&ref=nf