Posted by Ram Kumar Shrestha on November 6, 2011
Rate This
By रामकुमार श्रेष्ठ
शक्तिको भर र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुको सीमित स्वार्थका कारण बुद्ध जन्मस्थलबारे सिर्जना गरिएको असान्दर्भिक, निर्लज्जतापूर्ण र अनाबस्यक दिग्भ्रमका कारण बुद्ध जन्मस्थल मुद्धा अनपेक्षित तवरले विस्वब्यापी समस्या बन्न पुगेको छ भलै अझै पनि धेरै नेपालीहरु समेत युनेस्कोले नेपालको लुम्बिनीलाई विस्व संपदा सूचिमा राखेका कारण बुद्ध नेपालमा जन्मेको कुरा सारा संसारलाई थाहा भएकोले यो अनाबस्यक बिबादको औचित्य नभएको तर्क अगाडि सार्ने गर्छन् । बुद्ध सबैको साझा भएकोले पनि यस किसिमको बिवाद निरर्थक भएको तर्क अगाडि सार्ने गरेको पनि पाइन्छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण नाजायज एबं गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास मार्फत बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्न सकिन्न र मिल्दैन पनि । किनकि प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको मात्रै नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबृत्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो, प्रसंग यहाँ सत्यका पर्यायबाची बुद्धमाथि असत्यको खेती गरेर उन्कै नाममा झूटको ब्यापार गरिएको नाजायज कामलाई टुलुटुलु हेरेर बसिराख्ने हो कि सत्यलाई सत्यको रुपमा उजागार गर्ने भन्ने पनि हो ।
छिमेकी भारतले सन् २०१२ भित्र नेपालको कपिलवस्तुसंग सीमा जोडिएको उत्तरप्रदेशस्थित अलिगढवामा देवदह र लुम्विनीसहित नक्कली कपिलवस्तु बनाउन अन्तिम रुप दिइरहेको, दबाबका कारण केही समय अघिमात्रै जानकारी सच्याए पनि सर्च इन्जिन गुगलले पनि यसअघि ‘गौतम वुद्ध भारतमा जन्मिएको’ जानकारी राखेको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछे (जोग्छेन पोनलोप रिङपोछे) ले समेत दैनिक लाखौं पाठकको आकर्षणको केन्द्र मानिने विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धलाई भारतीय परिचय दिंदै लेखहरु प्रकाशित गरिएको, वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश राखिएको, मासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले “द बुद्ध” फिल्ममा बुद्धलाई भारती परिचय दिएको, अधिकांश देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको, न्यूजवीकका संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता प्रभाबशाली ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती परिचय दिएको पाईन्छ । यति हुँदा पनि नेपालको तर्फबाट भने झन्डै झन्डै मौनता प्रदर्शन गरिनु र भारती पक्ष भने बुद्धलाई भारती परिचय दिन अरबौं खर्चेर नेपालको देबदह र लुम्बिनीसहितको हुबहु नक्कली कपिलबस्तु बनाउँदै आफ्ना संचार माध्यम र बुद्धिजीबिलाई सकृय बनाउनुले समस्याको गांभीर्यतालाई पुस्टि गर्दैन र?